दाङ — युवाहरू विदेसिने क्रम बढेको कुराले सबैलाई चिन्तित बनाएको छ । नेपालमा केही छैन भन्दै पासपोर्ट लिन लाइन लागिरहेका युवाहरुको भिड देख्दा देशै खाली हुन लाग्यो भन्दै धेरैले चिन्ता व्यक्त गर्छन् । काम गर्ने मुख्य जनशक्ति युवाहरु दैनिक बाहिरिरहेको अवस्थाको चिन्ता गर्दै बस्ने कि केही उपाय पनि खोज्ने? यस्तै उपायको खोजी गरेका छन् घोराहीका केही युवा विद्यार्थीहरुले ।
घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजमा बिबिए सातौं सेमेष्टरमा अध्ययनरत विष्डम् ग्रुपका विद्यार्थीहरूले नेपालमै गर्न सकिने व्यवसायिक योजना निर्माणको प्रतिस्पर्धा नै गरेका छन् । युवा विद्यार्थीका विभिन्न पाँच समूहले लामो अध्ययन, खोज र अनुसन्धानपछि तत्काल लगानी गर्न सकिने व्यवसायिक योजना तयार पारेका छन् ।
उनीहरूले शनिबार घोराहीका विभिन्न बैंकका म्यानेजर र ऋण अधिकृतहरू समेतलाई राखेर आफ्ना योजना प्रस्तुत गरे। युवाहरूले तयार पारेका व्यवसायिक योजनामा तत्काल ऋण लगानी गर्न सकिने अवस्था रहेको बैंक म्यानेजर र ऋण अधिकृतहरूले प्रतिक्रिया दिए ।
कसैले नेपालमा कपास खेती र यसबाट उत्पादित सामग्रीहरूको व्यवसाय गर्ने योजना पेश गरे भने कसैले मोती खेती र यसको गहनाको बजारबारे योजना प्रस्तुत गरे । कसैले केराको कच्चा पदार्थबाट हाते सामग्री निर्माण, कसैले सांस्कृतिक कपडाहरूको व्यवसाय त कसैले बालबालिकालाई मोबाइल र टिभिको स्क्रिनबाट छुटाउने वैकल्पिक सिकाई सामग्रीको व्यवसाय गर्ने योजना सुनाए ।
बालबालिकालाई स्क्रिनबाट सिर्जनात्मक सिकाईमा रुपान्तरण गर्ने व्यवसायिक योजना बनाउने विद्यार्थीको समूह प्रथम भयो । प्रथम हुने समूहले कलेजबाट १० हजार रुपयाँ पुरस्कार पनि प्राप्त गर्यो । बी.बी. एडिफिकेशन प्रा.लि. का नामबाट उक्त व्यवसाय गर्ने योजना प्रस्तुत गरिएको थियो । ‘अहिले अधिकांश बालबालिकालाई इलेक्ट्रिक स्क्रिनको लत छ । यस कुराले अभिभावकलाई चिन्तित बनाएको छ,’ योजना प्रस्तुत गर्दै प्रसन्ना बस्नेतले भनिन्, ‘यसको विकल्पका रुपमा बालबालिकालाई अन्य सिर्जनात्मक सिकाईका कामहरूमा व्यस्त बनाउन सकिन्छ ।’
यो व्यवसायको अध्ययन अनुसन्धानपछि परीक्षणका रुपमा बजारमा जाँदा राम्रै प्रतिक्रिया प्राप्त भएको समूहकी सदस्य सरिता रोकाले बताइन् । ‘हामी सिर्जनशील चित्रात्मक पुस्तक तयार पारेर बजारमा गयौं । परीक्षणका रुपमा जाँदा पनि पुस्तकको बिक्री राम्रो भयो,’ उनले भनिन्, ‘यसबाट हामीले व्यवसायको राम्रो सम्भावना भएको पायौं । युवाहरू यस्तो व्यवसाय गरेर नेपालमै आत्मनिर्भर हुन सक्छन् ।’
अक्वा पर्ल फार्मिङ प्रालिबाट प्रस्तुत भएको सिपी पालन र त्यसबाट मोती उत्पादन गर्ने योजनाले दोस्रो स्थान हाासिल गरेको छ । यस समूहले ५ हजार रुपयाँ पुरस्कार पायो । नेपालमा मोतीका गहनाको माग उच्च रहेको र त्यसको उत्पादन गर्न सकेमा राम्रो व्यवसाय हुने यस समूहकी सदस्य दिलु खत्रीले बताइन् । ‘बर्सेनि ठूलो मात्रामा विदेशबाट मोती भित्रिइरहेको छ । यही उत्पादन गर्न सक्ने हो भने सम्भावना राम्रो छ । युवाहरूले यसमा उद्यम गर्नसक्ने देखिन्छ,’ उनले भनिन् ।
यसैगरी जीवन बोहोरा, खुशी पुन र उषा कुमारी साहले नेपालमा कपास खेती र यसका उत्पादनको बजारबारे योजना प्रस्तुत गरे । ‘नेपालमा कुनै समय कपास खेतीको राम्रो सम्भावना थियो । अहिले हराउँदै गयो,’ बोहोराले भने, ‘अहिले पनि कपासबाट बन्ने कपडाको ठूलो बजार छ । हामीले ठूलो मात्रामा कपास आयात गरिरहेका छौं । व्यवसायिक उत्पादन गर्नसक्ने हो भने विदेश गइराख्नुपर्दैन ।’
यसैगरी अञ्जु आचार्य र पूजा रसाइलीले नेपालमा केराबाट विभिन्न हाते सामग्री बनाउन सकिने योजना प्रस्तुत गरे । ‘केराको फाइवरबाट कागज, पर्दा, झोला र अन्य सजावटका सामान बनाएर बिक्री गर्न सकिन्छ,’ आचार्यले भनिन्, ‘खेर गैरहेको केराको फाइवरलाई उद्यममा उपयोग गर्न सकिन्छ ।’ आशिका परियार र अञ्जु खरेलले विभिन्न सांस्कृतिक पोसाकहरूको व्यवसायको योजना पेश गरे । ‘आजभोलि विभिन्न दिवसहरू उत्सवका रुपमा मनाउने चलन बढेको छ । त्यस्तो समयमा लगाउन मिल्ने कपडाहरू बिक्री गर्ने र भाडामा दिने व्यवसाय फस्टाउन सक्छ,’ परियारले भनिन्, ‘एक दिनको उत्सव मनाउन सबैले कपडा किन्न सक्ने अवस्था हुादैन । त्यस्तो बेला भाडामा पाउने अवस्था भए यसको प्रयोग बढ्छ ।’
जन्मदिन, विवाह, बेबीसावर, सांस्कृतिक कार्यक्रम लगायतका अवसरमा लगाउने कपडा भाडामा दिँदा प्रयोगकर्ताले कम खर्चमै उत्सव मनाउन सक्ने खरेलले बताइन् । यसरी विभिन्न पाँच समूहले प्रस्तुत गरेका योजना सुनेपछि घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीले युवाहरूले नेपालमै धेरै सम्भावना देखाएको बताइन् । ‘धेरै युवाहरूलाई नेपालमा के छ र? भन्ने छ । अध्ययन, अनुसन्धान गरेर सम्भावना खोज्ने चलन छैन,’ उनले भनिन्, ‘यसरी युवाहरूले व्यवसायिक योजनासहित सम्भावना देखाएपछि स्थानीय सरकारलाई पनि युवाहरूमाथि लगानी गर्न सजिलो हुन्छ ।’
युवाहरूले तयार पारेका योजना तत्काल कार्यान्वयनका लागि ऋण लगानी गर्न सकिने खालका रहेको नबिल बैंक घोराहीमा प्रबन्धक विवेक पाण्डे, राष्ट्रिय वाणिज्य बैंक घोराहीका सहायक प्रबन्धक शिशिर रोका, महालक्ष्मी बैंक घोराहीका प्रबन्धक केशव भण्डारी, ग्लोबल आइएमई बैंक घोराहीका ऋण अधिकृत अमृत बस्नेत र प्रभु बैंक घोराहीका ऋण अधिकृत प्रतिक रिजालले बताए । युवालाई नेपालमै रोक्ने योजना युवाले नै तयार पारुन् भन्ने उद्देश्यले लामो समयको अनुसन्धानपछि व्यवसायिक योजनाको प्रतिस्पर्धा गराएको भिक्टोरीया कलेजका कार्यक्रम संयोजक केबी चौधरीले बताए ।
‘धेरैजसो विद्यार्थी १२ कक्षाको पढाइ सकेर या स्नातक पढ्दापढ्दै विदेश जाने प्रवृत्ति छ,’ उनले भने, ‘यसलाई रोक्न अब युवा विद्यार्थीलाई उद्यममा जोड्न आवश्यक छ ।’ युवाहरूलाई जागिर खानेभन्दा अरुलाई जागिर खुवाउन सक्ने उद्यममा जोडेर नेपालमै सम्भावना देखाउन आवश्यक रहेको गोर्खा ग्रुपका मानव संशाधन निर्देशक उत्तम घिमिरेले बताए । ‘युवाहरू पढ्दापढ्दै के जागिर पाइन्छ भन्ने सोचमा हुन्छन् । जागिर नपाएपछि निराश भएर विदेशतिर तानिन्छन्,’ उनले भने, ‘आफैं उद्यम गर्नुपर्छ भन्ने सोच विकास गर्न जरुरी छ । यसले युवाहरूलाई उद्यमी बनाउनुका साथै रोजगारी सिर्जना र देशको अर्थतन्त्र विकास हुन्छ ।’
