काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी आयोजना समयमै सम्पन्न नहुनु दुःखद भएको बताएका छन् । पूर्वाधार विकासका लागि सरकारले वैकल्पिक वित्तबारे नीतिगत व्यवस्था गर्न लागेको उनले जनाए ।
‘यसो गर्दा दीर्घकालीन पूर्वाधार योजनामा संस्थागत लगानीलाई बढाउन सकिन्छ,’ नेपाल म्यानेजमेन्ट एसोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको नेसनल म्यानेजमेन्ट कन्भेन्सनका अवसरमा उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासका लागि स्पष्ट नीतिगत व्यवस्था र बलियो राजनीतिक प्रतिवद्धता आवश्यक भएको बताए । कन्भेन्सनअन्तर्गत ‘मोबिलाइजेसन डोमेस्टिक रिसोर्स फर इन्फ्रास्टक्चर फाइनान्सिङ’ विषयक सत्रमा अध्यक्ष ढकालले विकासको विषयमा राजनीतिक दलहरूबीच समान धारणा आवश्यक भएकामा जोड दिए ।
नेपाल जस्तो विकासोन्मुख देशको पूर्वाधार विकासमा संस्थागत लगानीको मात्रा ज्यादै न्यून रहेको र यस्तो लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । दलहरूबीचको असमान धारणा र अन्तरसरकारी निकायबीच समन्यवको अभावमा नेपालमा उचित विकास हुन नसकेको उनको धारणा छ ।
‘हामीकहाँ विकासको दृष्टिकोणमा राजनीतिक दलहरूबीच एकरूपता देखिँदैन । सत्तामा रहँदा एउटा र बाहिर हुँदा अर्को कुरा गरेर देश विकास हुन सक्दैन,’ उनले भने, ‘अन्तरसरकारी निकायहरूमा समन्वयको अभाव उस्तै छ । अर्कोतर्फ सरकारी निकायमा ओभरसाइट एजेन्सी धेरै भए । विकासका लागि यो सबै सुधार हुन आवश्यक छ ।’
