रोबोटिक्स एसोसिएसन अफ नेपालले गर्यो रोबोटिक्स कम्पिटिसन
काठमाडौँ — भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२५ मा अवलोकनकर्ताको आकर्षणलाई हेरेर विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाले आफ्ना ब्रान्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्टलगायतका स्टलमा अवलोकनकर्ता झुम्मिएको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ–नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको पनि बताइएको छ । क्यान इन्फोटेक २०२५ को ब्रान्डिङ कक्षमा कम्पनीहरूलाई ब्रान्डको प्रवर्द्धन गर्न ‘बीटुबी जोन’समेत बनाइएको छ । यसमार्फत कम्पनीहरूले आफ्ना डिलर तथा ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रिया गरिरहेको क्यानले जनाएको छ ।
इन्फोटेकमा एचएमसी हिक्मेसीले आफ्ना उत्पादनको विशेष प्रदर्शनीसँगै उपभोक्ताका लागि आकर्षक स्किम घोषणा गरेको छ । यसअन्तर्गत वायरलेस क्यामेरामा २०, हिक्सेमीका हरेक उत्पादनमा १५, मोनिटरमा २० र यूपीएसमा १० प्रतिशत छुट दिइएको विज्ञप्तिमा उल्लेख छ ।
मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्रान्डका पछिल्ला ल्यापटप र डेस्कटपसँगै इप्सन ब्रान्डका प्रिन्टर र प्रोजेक्टरको विशेष प्रदर्शनी गरेको छ । नेबुला मोबिलिटी प्रालिले चार्ज सकिँदा ब्याट्री नै फेर्न मिल्ने गोगोरो स्कुटरमा विशेष स्किम राखेको छ । यसअन्तर्गत ग्राहकले काठमाडौं सहरभित्र एक हजार किमि निःशुल्क यात्रा गर्न सक्नेछन् । यसमा निःशुल्क टेस्ट ड्राइभका साथै लक्की ड्र अफर पनि दिइएको छ ।
वर्ल्डलिंक कम्युनिकेसन्सले भने ग्राहकलाई बोट एयरड्रप्स १८१ प्रो र बोट स्टोन ३५२ मार्बल सिरिजमा ५० प्रतिशत छुट दिएको छ । राइड हेलिङ प्लेटफर्म टुटलले क्यान इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि मोटरसाइकल र क्याब दुवैमा ६० प्रतिशत छुट दिएको विज्ञप्तिमा जनाइएको छ ।
एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायत प्रविधिको विशेष प्रदर्शनी गरिरहेको छ । यी उत्पादनमा ४० प्रतिशतसम्म छुट दिइएको छ । विभिन्न कम्पनीले विश्वविख्यात नेटवर्किङ प्रडक्ट, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्ट विशेष छुटसहित प्रदर्शनीमा राखेका छन् ।
इन्फोटेकका अवसरमा शुक्रबारदेखि रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) ले रोबोटिक्स कम्पिटिसनसमेत सुरु गरेको छ । क्यान इन्फोटेकमा नेपालमै निर्मित मुनाल स्याटलाइटमा अवलोकनकर्ताको चासो देखिएको छ । ‘नेपाल स्याट’ को प्रोटोटाइपसमेत प्रदर्शन गरिएको छ । विभिन्न आईटी तथा इन्जिनियरिङ कलेजका विद्यार्थीले तयार पारेका एआई, रोबोटिक्स तथा नवीनतम प्रोजेक्टले प्रविधिले जिज्ञासुलाई तानेको पनि विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न ब्रान्डका केही कम्पनीले अवलोकनकर्ताका लागि भन्दै मेलाको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन् । क्यान इन्फोटेकमा नेपालको नवीनतम सोच (इनोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव चन्द्र विलास भुर्तेलले बताए । १५५ वटा स्टलसहित सञ्चालन भइरहेको क्यान इन्फोटेक २०२५ सोमबारसम्म चल्नेछ ।
