विदेशको भिसा त्यागेर गाउँमै च्याउखेती, मासिक ९० हजार कमाइ

माघ २६, २०८१

कमल पन्थी

After abandoning the foreign visa, farming in the village, earning 90,000 per month

बर्दिया — ०७४ सालमा मलेसियामा रोजगारीका बाँसगढी नगरपालिका–३ महादेवाका रविनकुमार थारु काठमाडौं पुगे । सबै प्रक्रिया पूरा गरिसकेपछि भिसा आउन समय लाग्ने भयो । घर आएर फेरि जानलाई खर्च धेरै हुने ।

त्यही भएर उनले भिसा आउँदासम्मका लागि काठमाडौंमै केही काम गर्ने सोच बनाए । गाउँकै साथीसँगको सल्लाहमा उनी काठमाडौंकै च्याउ फार्ममा काम गर्न गए । काम थालेको तीन महिनाजतिमा भिसा पनि आयो । तर उनलाई विदेश जान मन लागेन ।  

कारण थियो आम्दानी । मलेसियामा मुस्किलले महिनाको ३५ हजार नेपाली रुपैयाँ कमाउथे ।  त्यो पनि खर्च कटाएर घर पठाउँदा अझै थोरै हुन्थ्यो । २०७० देखि ०७३ सम्म उनले मलेसियामै काम गरिसकेका थिए । यसपाली उनी दोस्रोपटकका लागि जाँदै थिए ।  तर च्याउ फार्ममा काम गर्दा जुन आम्दानी देखे त्यसले उनलाई गाउँ फर्कायो । 

कसरी उत्पादन गर्ने, बजारको अवस्था कस्तो छ भन्ने सबै बुझेपछि उनी मलेसियाको भिसा त्यागेर ११० पोका च्याउको बीउ लिएर गाउँ फर्किए । पहिलोपटक चार कट्ठाबाट च्याउ खेती सुरु गरे । सुरुवाती वर्षमै आम्दानी सोचेभन्दा बढी नै भयो । २०७० देखि ०७३ सम्म उनले मलेसियामा काम गरिसकेका थिए । मुस्किलले महिनामा ३५ हजार नेपाली रुपैयाँ कमाउँथे उनी । ‘आम्दानी राम्रो देखेपछि लागेको भिसा त्यागेर गाउँ नै फर्किएँ,’ उनी भन्छन्, ‘अहिले च्याउ बेचेरै मासिक ९० हजारभन्दा बढी आम्दानी हुन्छ ।’

च्याउबाटै भएको आम्दानीले उनले थप चार कट्ठा जमिनसमेत जोडेका छन् । अहिले थारुसँग १० कट्ठा जमिन छ । सात वर्षको अवधिमा उनले च्याउबाटै भएको आम्दानीले बाँकेको बैजनाथमा घर पनि बनाए । 

उनले सुर्खेत, बर्दिया र नेपालगन्जसम्म च्याउ पठाउँछन् । यातायातको राम्रो पहुँच नभएको महादेवा गाउँमा अहिलेसम्म ठूला सवारी आउजाउ गर्दैनन् । तर राजमार्ग नजिक भएकाले उनी मोटरसाइकलमै बोकेर च्याउ बाटोसम्म पुर्‍याउँछन् । त्यहाँबाट व्यसायीहरु गाडी लिएर च्याउ खरिद गरी लैजान्छन् । 

सुरुमा उनी साइकलमा बोकेर च्याउ बेच्न लैजान्थे । अहिले मोटरसाइकल छ । अब भने गाउँसम्म पुग्ने चारपांग्रे गाडी किन्ने उनको योजना छ । उनलाई श्रीमती र तीन दाजुभाईले समेत सघाएका छन् । परिवारका सबै सदस्य च्याउ खेतीमा संलग्न छन् । 

छोटो समयमै राम्रो आम्दानी गरेका थारुले दुई जना अरुलाई पनि रोजगारी दिएका छन् । उनीहरुलाई मासिक जनही १५ हजार रुपैयाँ पारिश्रमिक दिन्छन् । यसबाहेक च्याउ टिप्नका लागि दैनिक ८ जना महिलाहरु आउँछन् । उनको फार्ममा अहिले दुधे, कन्ये र गोब्रे च्याउ उत्पादन हुन्छ । थोक मूल्यमै प्रतिकिलो उनले २ सय रुपैयाँमा बिक्री गर्छन् । 

बिहान बेलुकाको छाक टार्नसमेत उतिबेला धौ–धौ पर्ने थारुका लागि च्याउ खेती गरेयता बालबच्चा पढाउन र घरखर्च चलाउन समस्या परेको छैन । 

उनी भन्छन्, ‘विदेश गएको भए मेरो आम्दानी भनेको त्यही तलब मात्रै हुन्थ्यो । अहिले मैले सोचेअनुसार कमाएको छु । दाजुभाई पनि कामका लागि भौतारिन परेको छैन । परिवारसँगै बसेर गरेको दु:खबाट भएको यो आम्दानीले सन्तुष्ट नै छु । 

उनको च्याउ फार्मका लागि आर्थिक वर्ष ०७५/०७६ मा एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले एसी जडित तीन कोठे पक्की टहरा अनुदानमा निर्माण गरिदिएको थियो ।

दुधे च्याउ उत्पादनका लागि टहरा निर्माणमा एक लाख र गोब्र च्याउ उत्पादनका लागि हाइटेक चेम्बर निर्माण गर्न १५ लाख अनुदान दिएको कार्यालय प्रमुख सागर ढकालले बताए । बाँसगढी नगरपालिकाले पकेट विकास कार्यक्रम अन्तर्गत ३ लाख ५० हजार रकम च्याउ राख्ने चेम्बरका लागि थारुलाई अनुदान दिएको छ । च्याउ बाहेक उनले बाख्रा, कुखुरा र तरकारी खेतीबाट पनि राम्रो आम्दानी गरि रहेका छन् ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully