चितवन — भरतपुरमा आज शुक्रबारबाट पहिलो राष्ट्रिय डेरी एक्स्पो (प्रदर्शनी) सुरु भएको छ । चितवन उद्योग संघको भरतपुर दूरसञ्चार रोडमा रहेको प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा आयोजित उक्त प्रदर्शनीको कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरे ।
चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रदर्शनी माघ २७ गते तीन दिनसम्म चल्ने छ ।
किसान, उद्योगी र व्यवसायीलाई एकै थलोमा ल्याउने, डेरी उद्योगका नयाँ औजार र प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । समस्या र चुनौतीका बारेमा मन्थन गर्दै सम्भावनाको खोजी पनि गर्ने उनले बताए ।
प्रदर्शनीमा डेरी तथा पशु आहार उद्योगमा आवश्यक मेसिनरी तथा उपकरणहरू, डेरी सफ्टवेयर, डेरीका विभिन्न उत्पादनहरू, दूध सहकारी, पशुपालनका सामाग्री, आहारा, औषधि, डेरी प्याकेजिङ्ग उद्योगका करिब सय स्टलहरू रहेका छन्
स्थानीय उत्पादन बढाउन र अन्तर्राष्ट्रिय तहसम्म बजार बिस्तार गर्न प्रदर्शनीले सहयोग गर्न सक्ने चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष मदन घिमिरेको अपेक्षा छ । करिब ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गर्ने आयोजकको अनुमान छ । किसान, विद्यार्थी, नीति निर्मातादेखि उद्योगी र डेरी उद्योगमा लाग्ने योजना बनाएका नव उद्यमीहरूले मेलाबाट लाभ लिन सक्ने घिमिरेले बताए ।
