राष्ट्रिय वाणिज्य बैंकले साढे ६७ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौँ — गोरखामा निर्माण हुने ४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत् आयोजनामा लगानी जुटेको छ । उक्त आयोजनामा ऋण लगानी गर्ने गरी नेपाल राष्ट्रिय वाणिज्य बैंक र बुढीगण्डकी हाइड्रोपावर कम्पनीबीच बिहीबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका सीईओ देवेन्द्ररमण खनालले हस्ताक्षर गरे ।
९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी गर्नेछ । प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन् । बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।
बैंकले साना ठूला जलविद्युत् आयोजनामा लगानी गरिरहेको खनालले बताए । ‘बुढीगण्डकी कम्पनीकै दोस्रो आयोजनमा लगानी गरिररहेका छौं,’ उनले भने, ‘पहिलेको आयोजना जस्तै यो पनि समयअगावै निर्माण सकाउँछ भन्ने आशा गरेका छौं ।’ आयोजना समयमै सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको बुढीगण्डकी कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले बताए । ‘आयोजनाले त्यहाँ सडक पूर्वाधारदेखि पर्यटन प्रवर्द्धनसम्म सहयोग पुर्याउनेछ,’ उनले भने, ‘कम्पनीले छिट्टै सेयर पनि जारी गर्नेछ ।’
बुढीगण्डकीको पहिलो आयोजना ६ महिनाअघि नै सम्पन्न गरेको कम्पनीका अध्यक्ष न्यौपानेको भनाइ छ । ‘पहिला जलविद्युत् आयोजना निर्माणबारे ज्ञान थिएन, अहिले पेनस्टक पाइपदेखि सबैबारे थाहा भइसक्यो,’ उनले भने, ‘अहिले हाईड्रोपावरबारे अनुभव बटुलिसक्यौं ।’ आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गरेर क्याम्पहरू निर्माण भइसकेको समेत उनले जनाए ।
आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
कम्पनी अध्यक्ष न्यौपाने, प्रबन्ध निर्देशक कृष्ण घिमिरे र निर्देशक सरोज धिताललगायतको समूहले आयोजना निर्माण गर्न लागेको हो । यो समूहले यसअघि नै तोकिएको अवधिभन्दा ६ महिनाअघि ४.५५ मेगावाटको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता गरेको थियो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) युनिट्स इन्जिनियरिङ कन्सल्टेन्सीले गत सेप्टेम्बरमै तयार गरिसकेको छ । आयोजनाको प्रसारणलाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिनेछ । आयोजनाले छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेको छ ।
