७ करोडमा बन्यो खुम्बु जोड्ने पुल

माघ २४, २०८१

भानुभक्त निरौला

Bridge connecting Khumbu was built at a cost of 7 crores

सोलुखुम्बु — विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु क्षेत्र जोड्ने दुधकोशी नदीमाथि पक्की पुल बनेको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदूधकोशी गाउँपालिका–१ जुभिङको छिर्दी घाटस्थित दूधकोशी नदीमा मोटरेबल पुल निर्माण गरिएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाको पहल तथा समन्वयमा संघीय सरकारको बजेटबाट बनाइएको पुलको शिलान्यास सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले साढे दुई वर्षअघि गरेका थिए । पर्यटकीय दृष्टिले निकै महत्त्वसाथ हेरिएको उक्त पक्की पुलको निर्माण महादेव खिम्ती हिराचन जेभीले ७ करोड ६ लाख ३३ हजार रुपैयाँ लागतमा बनाएको हो । 

विश्वकै आकर्षक पर्यटकीय क्षेत्र खुम्बु जान यो पुल निकै प्रभावकारी बन्ने र खुम्बु जाने मार्ग पनि छोटो, सरल र सहज बन्ने नगरप्रमुख शेर्पाले बताए । ‘प्राविधिक र भौगोलिक हिसाबले दिगो र मजबुत स्थानमा पुल निर्माण गरिएकाले सानातिना प्राकृतिक विपद्मा पनि पुललाई क्षति हुने सम्भावना छैन,’ शेर्पाले भने, ‘भौगोलिक दूरीको हिसाबले पनि खुम्बु क्षेत्र जान यो पुलको प्रयोग गरेर कम समयमै पुग्न सकिन्छ ।’

५० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल ‘फ्री स्ट्रेच’ प्रविधिबाट बनाइएको निर्माण कम्पनीका प्रतिनिधि बुद्धिबहादुर मगरले बताए । पुल निर्माणपछि खुम्बु क्षेत्रमा सहज ढुवानी हुने भएकाले दैनिक उपभोग्य सामग्रीको मूल्यसमेत सस्तो हुने स्थानीय छोङबालामा शेर्पाले जनाए । 

यसअघि माप्यदुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा दूधकोशी नदीको ओर्लाङघाटमा बनेको मोटरेबल पुल थामे बाढीका कारण एक भाग बगाएर क्षतिग्रस्त बनेपछि दुधकोशी नदीमा ह्युमपाइप राखेर खुम्बु क्षेत्रमा यातायात सञ्चालन गरिँदै आएको छ । 

भानुभक्त निरौला

Link copied successfully