चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब १८ करोडको लसुन आयात
काठमाडौँ — स्वदेशी उत्पादनमा उत्तारचढाव नआए पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लसुनको आयात अस्वाभाविक देखिएको छ । भन्सार विभागको ५ वर्षयताको आयात तथ्यांकअनुसार वार्षिक औसतमा १ अर्ब १५ करोड रुपैयाँको लसुन आयात हुँदै आएको छ । तर गत साउनदेखि मंसिरसम्ममा ६ अर्ब १८ करोडको आयात भएपछि प्रश्न उब्जिएको हो ।
जानकारका अनुसार स्वदेशी उत्पादनले माग नधान्ने भएकाले लसुन आयात नै गर्नुपर्छ । तर अहिलेको आयात अस्वाभाविक देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए ।
‘घरायसीबाहेक चाउचाउ उद्योगमा पनि लसुन खपत हुन्छ । मौज्दात गर्ने उद्देश्य पनि हुन सक्छ । तर अर्बौं रुपैयाँको मौज्दात कति समयसम्म गर्ने भन्ने पनि हुन्छ,’ उनले भने, ‘उद्योगको व्यापार अत्यधिक बढेको भए लसुनको आयातलाई स्वाभाविक मान्न सकिन्थ्यो । तर अहिले त्यस्तो पनि देखिँदैन । सामान्यतः ६ गुणाभन्दा बढी खपत हुँदैन, त्यसैले आयात शंकास्पद छ ।’
चीनबाट आयात भएको लसुन भारतर्फ गएको हुन सक्ने उनले अनुमान गरे । ‘चीनको सामान नेपाल हुँदै भारतीय बजार पुगेको भारतीय अधिकारीहरूले गुनासो गर्दै आएका छन । लसुनको उत्पादन, खपत र आयात हेर्दा शंकास्पद नै छ,’ रेग्मीले भने । मुलुकको वार्षिक लसुन उत्पादन करिब ७३ हजार टन हो ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ९ हजार ७ सय ८४ हेक्टरमा लसुन खेती भएकोमा ७२ हजार ४ सय ९० टन उत्पादन भएको थियो । ०७८/७९ मा ९ हजार ९ सय ४३ हेक्टरमा खेती भएको थियो भने ७४ हजार ७ सय ६३ टन उत्पादन भएको थियो । ०७९/८० मा ९ हजार ५ सय ७० हेक्टरमा खेती भएको थियो । उत्पादन भने ७३ हजार ५ सय ६७ टन भएको थियो ।
‘स्वदेशी उत्पादन स्थानीय तहमै खपत हुन्छ, होटल, रेस्टुरेन्ट, उद्योगका लागि चीनबाटै आयात गर्नुपर्छ,’ कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने, ‘तर अस्वाभाविक आयातले तथ्यांकमै प्रश्न उठेको छ ।’ कृषि वस्तु आयातमा भन्सारमा सुविधा पाइन्छ । सुविधा पाउनकै लागि लसुन देखाएर अन्य वस्तु आयात भएको हुन सक्ने उनको दाबी छ ।
‘विगतमा पनि धान, चामल देखाएर अन्य वस्तु आयात भएको थियो । अहिले पनि भन्सार छल्न लसुन देखाएर अन्य वस्तु आयात गरेर तथ्यांक बढाएको पनि हुन सक्छ,’ अधिकारीले भने, ‘तस्करी गर्नकै लागि पनि आयात बढेको हुन सक्छ । नियमनकारी निकायले त्यता हेर्न जरुरी छ ।’
सन् २०१४ देखि भारतले चिनियाँ लसुन आयातमा बन्देज गरेको छ । खेती गर्दा उच्च विषादी प्रयोग भएको र भारतको मापदण्डअनुसार नभएको भन्दै आयातमा बन्देज गरेको हो । सस्तो चिनियाँ लसुन आयात हुँदा आफ्ना किसान मारमा परेको पनि भारतको ठहर छ । तर अवैध रूपमा भारतमा भित्रिने क्रम रोकिएको छैन । पछिल्लो समय लसुन तस्करीका लागि नेपाल ‘ट्रान्जिट’ बनेको व्यवसायीहरू बताउँछन् ।
‘नेपालमा भन्दा भारतमा प्रतिकिलो १२ देखि १५ रुपैयाँ बढीमा बिक्री गर्न पाइन्छ, खुल्ला सीमाका कारण तस्करी भएकै छ,’ कालिमाटी तरकारी बजारका एक व्यवसायीले भने, ‘त्यही भएर पनि आयात अस्वाभाविक छ ।’
विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३१ करोड ५३ लाख, २०७७/७८ मा १ अर्ब ५ करोड ९५ लाख, २०७८/७९ मा १ अर्ब ५ करोड ३३ लाखको लसुन आयात भएको थियो । आर्थिक वर्ष २०७९/८० मा पनि १ अर्ब ११ करोड २५ लाख र २०८०/८१ मा २ अर्ब २२ करोड ५२ लाखको आयात भएको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब १८ करोड ५४ लाखको आयात भएको उल्लेख छ । ६ महिनाको अवधिमा निर्यात भने नगन्य छ । ३ लाख ८३ हजार रुपैयाँको लसुन जापान निर्यात भएको छ ।
महिनागत अनुसार गत साउनमा चीनबाट ४९ करोड ५५ लाखको लसुन आयात भएको छ । भदौमा १ अर्ब ३ करोड २ लाख, असोजमा ७८ करोड ८१ लाखको लसुन चीनबाट आयात भएको छ । कात्तिकमा ८२ करोड ३१ लाख, मंसिरमा २ अर्ब २२ करोड ३० लाख र पुसमा ८२ करोड ३७ लाखको आयात भएको उल्लेख छ । व्यवसायीका अनुसार धेरै लसुन आयातले नेपालमा मूल्य घटेको छैन ।
‘गत वर्ष किलोको औसत मूल्य २५० रुपैयाँ थियो । अहिले २ सय ९० रुपैयाँ भन्दा घटेको छैन,’ ती व्यवसायीले भने, ‘आयातको आधारमा मूल्य घट्नुपर्ने हो । तर भारत गएको छ, त्यही भएर मूल्य घटेन । भारतमा बढी मूल्य पाएपछि नेपाललाई ‘ट्रान्जिट’ बनाइयो । त्यही भएर तुलनात्मक रूपमा मूल्य महँगो नै छ ।’ ती व्यवसायीको भनाइलाई प्रहरी प्रशासनले गर्ने अनुगमनले पनि पुष्टि गर्छ ।
गत मंसिरमा पर्सा प्रहरीले बिन्दवासिनी गाउँपालिका–३ झौवास्थित कुखुरा फर्ममा अनधिकृत रूपले भण्डारण गरी राखिएको १ हजार ७ सय ८० किलो लसुन बरामद गरेको थियो । भारततर्फ चोरी निकासी गर्न व्यापारीले लसुन सीमावर्ती गाँउमा भण्डारण गरेको प्रहरीले जनाएको थियो । त्यस्तै, गत मंसिरमै मेची नगरपालिका– ६ बाट स्थानीय प्रशासनले ७ क्विन्टल लसुन बरामद गरेको थियो । बाँस झ्याङमा लुकाएको साढे ३ लाख रुपैयाँ बराबरको लसुन बरामद गरिएको थियो ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले ६ महिनाको आयात अस्वाभाविक भए पनि माघ लागेपछि आयात न्यून रहेको बताए । ‘६ महिनाको आयात हेर्दा अस्वाभाविक नै हो । तर प्रतिबन्धित वस्तु होइन, त्यही भएर आएकै छ,’ महानिर्देशक पुडासैनीले भने, ‘तर माघ लागेयता आयात कम भएको जानकारी पाएका छौं ।’
विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले अस्वाभाविक आयातको विषयमा विभाग जानकार रहेको र सूक्ष्म अध्ययन भइरहेको बताए । ‘आयात अस्वाभाविक नै छ, तर कारण भन्न सक्ने अवस्था भएन, कारण खोज्ने प्रयास जारी छ,’ उनले भने ।
