ठेक्का म्याद सकिएको साढे ३ वर्षसम्म शीत भण्डार निर्माण अधुरै

फलाम कवाडी बन्दै, पुरानो भुक्तानी दिए मात्र काम गर्ने ठेकेदारको अडान

माघ २३, २०८१

अवधेशकुमार झा

Construction of cold storage is incomplete for 3 and a half years after the contract expired

राजविराज — निर्माण समपन्न हुनुपर्ने अवधि सकिएको साढे ३ वर्ष बितिसक्दा पनि सप्तरीको राजविराज–१५ मा निर्माणाधीन शीत भण्डार अझै निर्माण हुन सकेको छैन । सरकारी निकायले काम गरेको भुक्तानी नदिएका कारण ठेकेदार कम्पनीले काम रोकेपछि चार वर्षदेखि शीत भण्डारको काम अलपत्र परेको हो ।

मधेश प्रदेश सरकारले आठ वटै जिल्लामा एक/एक शीत भण्डार निर्माण गर्ने योजना अनुरुप राजविराज–१५ देउरी भरुवामा राजविराज हनुमाननगर सडक खण्डसँग जोडिएको एक बिगहा जग्गा नगरपालिकाले ब्यबस्थापन गरेको थियो ।

२०७४/७५ मा प्रदेश सरकारले गरेको टेण्डर अनुसार शीत भण्डार निर्माणका लागि २५ करोड ४४ लाख ४३ हजार ९ सय ५९ रुपैयाँमा शर्मा, आशिष जेभी प्रालिले ठेक्का कबोल गरेको थियो । २०७५ पुस १९ गते सम्झौता भएको यो योजनाको २०७५ फागुन २ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र प्रदेशका तत्कालीन भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले शिलन्यास गरेका थिए ।

शिलन्यास लगतै काम सुरु भएको योजनाको कुल लागत मध्ये ६० प्रतिशत संघीय सरकारले, २० प्रतिशत प्रदेशले र २० प्रतिशत जिल्ला सहकारी संघको समन्वयमा सहकारी संस्थाहरुले व्यहोर्ने सहमति थियो । ३ हजार मेट्रिक टन क्षमताको यो शीत भण्डार निर्माण पूरा भएपछि यो क्षेत्रका कृषकलाई उत्पादन राख्न सजिलो हुने भन्दै स्थानीय खुशीमा थिए ।

२०७७ जेठ १८ गते निर्माण समपन्न हुने भनिएको शीत भण्डारको अन्तिम म्यादको साढे तीन वर्ष नाघ्दा पनि पूरा भएको छैन् । हालसम्म संघीय सरकारले ६० प्रतिशत रकम मध्ये ६ करोड ३६ लाख रुपैयाँ मात्र निकासा दिएको छ । प्रदेश सरकारले पनि आफ्नो भागको २० प्रतिशत रकम मध्ये १ करोड ४ लाख रुपैयाँ मात्र भुक्तानी दिन सकेको छ । यस्तै २० प्रतिशत रकम व्यहोर्ने सम्झौता रहेको स्थानीय सहकारी संघसंस्थाहरुबाट धेरै रकम आउन बाँकी नै रहेकाले सहकारी शीत भण्डारको काम समयमा समपन्न हुन नसकेको हो ।

रकम अभावमा भुक्तानी हुन नसक्दा शीत भण्डारको काम अलपत्र परेको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख ईसरत परविणले बताइन् । उनले चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेट छुट्याएको भए पनि निर्माण कम्पनीले पहिलाको भुक्तानी भए मात्र काम सुरु गर्ने बताएको बताइन् । निर्माण कम्पनीका प्रतिनिधि घनश्याम साहले काम गरे अनुसारको रकम भुक्तानी नपाएपछि आफुहरुले निर्माण कार्य रोकेको बताए ।

‘हामीलाई पनि सामान खरिद, मजदुरलाई दिन पैसा नै आवश्यक हुन्छ तर काम सम्पन्न भए बमोजिमको पैसा नपाए पनि काम रोकेका हौं,’ साहले भने,‘आठ करोडको काम गर्यौं, पौने चार करोड मात्र भुक्तानी दिएको छ, पुरानो भुक्तानी दिए मात्र काम सुरु गर्छौं ।’ उनले भुक्तानी समयमै दिएको भए यो काम अहिले समपन्न भइसक्ने बताए । ‘यो योजना सुरु भएका बेला र अहिले साढे तीन वर्षयता निर्माण सामग्रीको मूल्य बढेको छ, अब त ठेक्काको रकम पनि पुनरावलोकन गर्नुपर्छ,’ साहले भने ।

सरकार र सरोकारवाला निकाय तथा निर्माण कम्पनी बीचको वजेट व्यवस्थापन र लेनदेनका कारण यो शीत भण्डार अलपत्र परेको हो । निर्माणस्थलमा लगाइएका फलामे संरचनामा खिया लाग्न सुरु भएको छ ।

अवधेशकुमार

Link copied successfully