माहुरीपालनले फेरिँदै चेपाङ बस्ती

एउटै वडामा ३ करोडको मह उत्पादन

माघ २३, २०८१

प्रताप विष्ट

Chepang settlement is changing with beekeeping

हेटौंडा — मौरीपालनको आम्दानीबाट गाँउमा २५ लाख खर्चेर घर बनाए । तीन छोराछोरीलाई पढाइरहेका छन् भने भण्डारा, लोथर र हेटौंडा बजार आउजाउ गर्न मोटरसाइकल पनि किनेका छन् । गाउँमा उनी सामाजिक काम पनि गर्छन् ।

मौरीपालन गर्नुअघि छाक टार्न समस्या भएका राक्सिराङ गाउँपालिका-६ काँकडाका दिपन चेपाङको अहिले छिमेकीलाई सरसापट दिन सक्ने हैसियत पनि बनेको छ । मौरीपालनबाटै उनको जीवनमा परिवर्तन आएको हो ।

५ वर्षअघि १० घार मौरीबाट सुरु गरेका दिपनले अहिले २ सय १० घार पुर्‍याएका छन् । गत वर्ष उनले मह बिक्री गरेर १५ लाख ३० हजार रुपैयाँ आम्दानी गरेका थिए । यो वर्ष कम्तीमा १८ लाख रुपैयाँको बढी मह बिक्री गर्ने उनको योजना छ । माघ तेस्रो सातासम्म उनले ८ लाखको मह बिक्री गरिसकेका छन् ।

‘तीन लट मह काढियो अझै तीन लट बढी काढिएला,’ दिपनले भने,‘यो वर्ष भाउ पनि राम्रो छ, मौसमले पनि साथ दिएको छ ।’ यो वर्ष प्रतिकेजी ३ सय ५० रुपैयाँमा घरबाटै मह बिक्री हुने भइरहेको छ । १ सय ५० घार माहुरी पालेका स्थानीय आइतराम चेपाङले ६ लाखको मह बिक्री गरिसके । उनको पनि कम्तीमा यो वर्ष मह बिक्री गरेर १५ लाख आम्दानी हुने अनुमान छ ।

राक्सिराङ-६ काँकडाका चेपाङ परिवारले उत्पादन गरेको मह लोथरस्थित जनचेतना कृषि सहकारी संस्थामा बिक्री गर्छन् । सहकारीले अप्रशोधित मह खरिद गरेर मेसिनले प्रशोधन गरेर बिक्री गर्दै आएको छ ।

चिउरीको प्रशोधन गरेको महको माग अहिले व्यापक बढेको छ । सहकारीका बजार व्यवस्थापक दिनेश चेपाङले ३ सय ५० रुपैयाँमा खरिद गरेर प्रशोधनपछि ५ सयसम्म बिक्री गर्दै आएको बताए । चेपाङ समुदायको मात्र सहभागिता रहेको उक्त सहकारीद्वारा संकलित मह काठमाडौंको हिमालयन हनी कम्पनीलगायत संस्थाले खरिद गर्दै आएका छन् ।

यो वर्ष २० टन मह बिक्री गरिसकेको र माग अनुसार पुर्‍याउन नसकिएको दिनेशले बताए । ‘यसपाली उत्पादन पनि बढेकाले ५० टन मह बिक्री हुने अनुमान छ,’ व्यवस्थापक चेपाङले भने । सहकारीले गत वर्ष ४० टन बिक्री गरेको थियो ।

काँकडामा यो वर्ष ५ हजार ५ सय मौरी घार छन् । गत वर्ष मौरी पालनमा ८० जना कृषक संलग्न थिए भने अहिले एक सय भन्दा बढी छन् । चिउरीको महको गुणस्तर र स्वाद राम्रो भएकाले माग बढेको हो । गत वर्ष उक्त सहकारीले २ करोड भन्दा बढीको मह बिक्री गरेको थियो । यो वर्ष ३ करोडको विक्री हुने अनुमान गरिएको छ ।

चिउरीको मह मंसिरदेखि चैत पहिलो सातासम्म उत्पादन हुने गर्छ । महबाटमात्र यो वर्ष राक्सिराङ-६ काँकडामा वर्षेनी ३ करोड रुपैयाँ भित्रिने छ । विगतमा यहाका चेपाङ परिवारले मह बोकेर लोथर पुर्‍याउने गर्थे । बाहिरबाट मौरी चराउन ल्याउने कृषकहरुले वर्षेनी ५ लाखदेखि १५ लाख रुपैयाँसम्म मह विक्री गरेर आम्दानी गर्थे । २ वर्षदेखि यहाँका चेपाङ समुदायले बाहिरबाट मौरी चराउन ल्याउन रोक लगाएका छन् ।

चिउरीको जंगल रहेको सिलिङे सामुदायिक वन उपभोक्ता समूहले बाहिरबाट मौरी चराउन ल्याएकाहरुसँग प्रतिघार एक सय ५० रुपैयाँ शुल्क लिने गरेको थियो भने जग्गाधनीले प्रतिघार सय रुपैयाँ लिने गरेको थियो ।

‘दुई वर्षदेखि बाहिरबाट मौरी चराउन ल्याउन पूर्ण रुपमा रोकेका छौं,’ पुर्व वडाध्यक्ष सिहंलाल चेपाङले भने,‘स्थानीयले व्यवसायिक रुपमा मौरीपालन सुरु गरेकामात्र छैनन्, राम्रै आम्दानी लिन थालिसकेका छन् ।’

परम्परागत घारमा सेरेना जातका मौरीपाल्ने स्थानीयले आधुनिक घारमा मेलिफेरा जातको मौरीपालन गरेका छन् । काँकडामा मात्रै साढे २ लाख भन्दा बढी चिउरीका रुख छन् । चेपाङ समुदायको संस्कृति र जीवनसँग जोडिएको चिउरीको संरक्षणका लागि स्थानीयले चार वर्षदेखि अभियाननै संचालन गरेका छन् ।

प्रताप

Link copied successfully