काभ्रे — पाँचखाल नगरपालिका–४ स्थित तामाघाटका भरत दनुवारले बारीको छेउमा काउलीको चाङ लगाएका छन् । व्यापारीले काउली नलिएपछि उनको बारीममा काटेको काउली कुहिन थालेको छ । लाखौं लगानी गरेको फसल सिजन सकिन लाग्दा समेत बिक्री नभएर कुहिन थालेपछि उनी बिलखबन्दमा परेका छन् ।
‘खेतमै कुहाउनुभन्दा व्यापारीले जति भन्छन्, त्यतिमै दिन खोजेको,’ भरतले भने, ‘भाउ भएको बेला हारालुछ हुन्थ्यो, अहिले त कर गरेरै बोलाउनु परेको छ ।’ व्यापारीलाई उनीहरुले तोकेकै मूल्यमा नदिए खेतमै कुहाउनुपर्ने अवस्था आएको उनले सुनाए । ‘दुःख मिहनेत र लाखौं लगानी गरेको बाली खेर फाल्न पनि मनले मान्दैन,’ उनले भने ।
४ रोपनीमा २ लाख खर्च गरेर लगाएको काउली राम्रै फलेको थियो । ‘४ लाखसम्मको बिक्री गर्न सकिन्छ कि भन्ने लागेको थियो,’ उनले भने, ‘सोचेको जस्तो नहुने रहेछ, अहिले लगानी माटोमै मिल्छ कि भन्ने भएको छ ।’ अर्को बाली लगाउने बेला भइसक्दा पनि काउली बिक्री गर्न सकिएको र यसपालीको जस्तो बिक्री गर्ने दुःख कहिल्यै नभोगेको उनले बताए ।
उनले यस वर्ष ४ रोपनीबाट १६ हजार किलो काउली बिक्री गरिसकेका छन् । तर, बिक्री भएको काउलीको मूल्य भने पाएका छैनन् । ‘अहिलेसम्म ४ सय झोला काउली व्यापारीलाई दिइसक्यौं, एक झोलामा ४० केजी काउली हुन्छ,’ उनले भने, ‘व्यापारीले एक पैसा दिएको छैन, बिक्री भएपछि दिन्छु भनेको छ, बजारमा बिक्नै गाह्रो छ भन्छन् ।’
किलोको २० देखि २५ रुपैयाँसम्म काउली बेच्दा किसानलाई घाटा नहुने उनले बताए । ‘काउली बेच्न झोला र डोरी पनि आफैँले किन्नुपरेको छ, पैसा कहिले आउँछ थाहा छैन, घरव्यवहार कसरी चलाउने भन्ने भएको छ,’ उनले भने । भारतबाट सस्तोतमा आयात भइरहेकाले यहाँका किसानले तरकारीको भाउ नपाउनुको मुख्य कारण भएको उनलाई लागेको छ ।
तामाघाट फाँटमा गोलभेडा लगाउने समय भएकाल बेर्ना पनि तयार छ । तर, किसानले गोलभेडा रोप्ने खेतको काउली काट्न पाएका छैनन् । महिना दिनअघि नै काटेर बेचिसक्नुपर्ने काउलीको भाउ पाउने आशमा कुरोका किसान मूल्य झन् घट्न थालेपछि दोधारमा परेका छन् । पाँचखाल–४ का सीताराम दनुवारले महिना दिनअघि १०/१२ रुपैयाँमा बिक्री भइरहेका बेला पछि भाउ पाइने आशले कुरेर बसे ।
‘लगनका बेलामा बजारमा माग बढ्ने, मूल्य पनि राम्रो पाइन्छ भन्ने सोचेका थियौं,’ उनले भने, ‘त्यस्तो भएन, झन् काउली सस्तियो, यहाँ त किसानले ३ देखि ५ रुपैयाँसम्ममा बेचिरहेका छन् ।’ कतिपय किसानले मजदुरकै खर्च नउठ्ने भएपछि बिक्री नै नगरेको उनले बताए । उनका अनुसार कतिपयले बिक्री भए अनुसार लिने गरी काउलीको मोल नै नगरी व्यापारीलाई दिएका छन् ।
‘मूल्य कुर्दा खेतमै काउली कुहिने बेला भइसक्यो,’ उनले भने, ‘अर्कोतिर अर्को बाली लगाउन बितिसक्यो, गोलाभेडाका बेर्ना तयार भइसक्यो, किसानले तरकारी बेच्ने बेला सधैं यस्तै त हुने हो ।’
पाँचखालका किसानको तुलनामा पनौतीमा थोरै भए पनि मूल्य पाएका छन् । पनौती नगरपालिका–८ मल्पीका शशिकुमार महतले हालसालै १०–१२ रुपैयाँमा काउली बिक्री गरेका छन् । बजारमा माग नभएकाले पनि काउलीको मूल्य सस्तो भएको उनको अनुमान छ । ‘विगतकाको तुलनामा यो वर्ष धेरै नै सस्तो हो’, उनले भने, ‘यहीँ सिजनमा पोहोर ३०–३५ मा बेचेको थिएँ, यति सस्तोमा बेच्दा किसानलाई त निकै घाटा हुन्छ ।’
सरोकारवालाले तरकारीको सिजन अनुसार मूल्य निर्धारण नगर्दा किसानले सधैं मार खानु परेको गुनासो गरे । काउलीसँगै अन्य तरकारीको पनि उचित मूल्य नपाएको किसानको गुनासो छ । यतिबेला पाँचखालका फाँटैभरी किसान भेटिन्छन् । पाँचखाल–२ का राजाराम मिश्रले खेतबाटै ३५ रुपैयाँ किलोमा आलु बिक्री गरेका छन् ।
‘यो सिजनमा आलुको मूल्य कम्तीमा ४०–४५ हुनुपर्थ्यो,’ उनले भने, ‘यो भाउले त किसानलाई घाटा भइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर व्यवसायिक तरकारी खेती गर्दै आएकी पनौती–८ स्थित खरीबोटकी इन्दु श्रेष्ठले १६ रोपनीमा १५० वटा टनेल बनाएर गोलभेडा खेती गरेकी छिन् । दुई/तीन सातायता गोलभेडाको मूल्य घट्दा २४ किलोको क्रेट ४५० मा बेचिरहेकी छिन् ।
