छ महिनामा पौने ३ खर्बले बढ्यो विदेशी मुद्रा सञ्चिति   

माघ २०, २०८१

कान्तिपुर संवाददाता

Foreign exchange reserves increased by 3 trillion in six months

काठमाडौँ — चालु आर्थिक वर्षको छ महिनामा मात्र विदेशी मुद्रा (विनिमय) सञ्चिति २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । योसँगै गत पुससम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

 गत असारको तुलनामा पुससम्म विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशतले बढेको हो । ०८१ असार मसान्तमा कुल विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो ।

‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा ०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ,’ नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पुस मसान्तमा १२.१ प्रतिशतले बढेर २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने २७ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ । ०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।

२०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन अनुपात ४०.६, कुल आयात १२०.३ र विस्तृत मुद्राप्रदाय ३२ प्रतिशत रहेको छ ।

कान्तिपुर

Link copied successfully