काठमाडौँ — गत पुसमा औसत बजार भाउ (उपभोक्ता मुद्रास्फीति) ५.४१ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो भाउ ५.२६ प्रतिशत रहेको थियो । पछिल्ला केही महिनायता सामान्य दरमा भए पनि बजार मूल्य उकालो लागिरहेको छ । सोही क्रममा गत पुसमा ५.४१ प्रतिशत पुगेको हो ।
गत पुसमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४.१९ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा यी समूहहरुको मूल्यवृद्धि क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत रहेको थियो ।
सोही अवधिमा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २८.५२, घ्यू तथा तेलको १०.६७, दाल तथा गेडागुडीको ९.४८ र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ । तर, मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.१२ प्रतिशतले घटेको छ ।
यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.३५, मदिराजन्य पेय पदार्थको ७.०१, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
