मनकामनामा ४० वर्षदेखि फूल बेचिरहेकी नानीकुमारी

बारीभरि लालुपाते, बाह्रमासे, सयपत्रीलगायत ५० भन्दा बढी थरी फूल

माघ २०, २०८१

हरिराम उप्रेती

Nanikumari has been selling flowers for 40 years in Mankamana

गोरखा — बारीभरि फुलेका लालुपाते टिप्न यतिखेर सहिदलखन–२ मनकामनाकी नानीकुमारी थापालाई भ्याइनभ्याइ छ । झिसमिसेमै बारी छिरेर नानीकुमारीले फूल टिपेर मनकामनाको बजार पठाउँछिन् । फूल बिक्री गर्न श्रीमान् एकराज थापालाई मनकामना बजार पठाउने र आफू गोडमेलमा लाग्ने उनको दैनिकी छ ।

भन्छिन्, ‘४० वर्ष भयो, मनकामनामा फूल बेचेरै घरको सबै खर्च चलेको छ ।’ ६३ वर्षीया नानीकुमारीले २३ वर्षकै उमेरदेखि मनकामना मन्दिर आउने भक्तजनलाई फूल बेच्न थालेकी हुन् ।

मनकामना बजार क्षेत्रका व्यापारीमाझ उनले ‘फूल बेच्ने दिदीको’ परिचय बनाएकी छन् । ‘फूल बेच्ने भनेपछि धेरैले चिन्छन्, मनकामना फूल नपुर्‍याएको दिन कुनै छैन,’ उनले भनिन् । आफ्नो बारीमा नहुँदा र माग बढेका बेला जंगल र छिमेकी गाउँसम्म पुगेर उनले फूल जम्मा गर्छिन् ।

चार वर्षअघि गाउँबाट दुई घण्टा दूरीको याङ्तीनमा फूल टिप्न पुग्दा लडेर नानीकुमारी सख्त घाइते भइन् । ‘रोडको भित्तामा हुने झ्याउ फूल टिप्दै जाँदा लडेर टाउकोमा २९ टाका लगाउनुपर्‍यो,’ उनले भनिन्, ‘डेढ लाखले पनि पुगेन, त्यो बेला फूल बेचेको पैसा नहुँदो हो त उपचार नै गर्न नसक्ने ।’ फूलकै आम्दानीले श्रीमान्को पनि तीन/चार पटक उपचार गराउँदाको खर्च धानेको उनले बताइन् ।

नानीकुमारीले चार हल बारीमा फूल खेती पनि गरेकी छन् । मनकामनामा फूल पुर्‍याउनकै लागि गुल्मीसम्म पनि पुगेको उनले बताइन् । फूल खोज्न जाँदा ल्याएका बीउ र बिरुवा बारीभरि लगाएको उनले सुनाइन् । लालुपाते, बाह्रमासे, सयपत्री, लक्ष्मीलगायत ५० भन्दा बढी थरी फूल उनको बारीमा छन् । ‘बर्खामा मकै कोदो लगाउने हो, बारीका डिलमा लालुपाते छ, घरबारीमा अरू सबै फूल नै मात्र छन्,’ उनले भनिन् ।

मनकामनामा विशेष पूजा र शुक्रबारका दिन फूल बढी बिक्री हुने थापाले बताइन् । जम्मा गरेको फूल केबलकारको तल्लो गेटमा पुर्‍याएर बिक्री गर्छिन् । ‘शुक्रबार त २४/२५ सयको बिक्री हुन्छ, पुर्‍याउनै गाह्रो पर्छ,’ उनले भनिन्, ‘माथि बजारमा एक झोला फूल एक सयमा जान्छ, तल पुर्‍याउँदा अल्ली बढी भाउ पाइन्छ ।’ वार्षिक कम्तीमा पनि दुई लाख आम्दानी हुने गरेको उनले बताइन् । असार र साउनमा फूल निकै कम बिक्री हुने उनको अनुभव छ ।

बारीमा केही सुन्तलाका बोट पनि छन् । तर सुन्तला बिक्रीबाट भन्दा पनि फूल नै बेच्दा फाइदा बढी हुने नानीकुमारी बताउँछिन् । ‘घरबारी र अर्को पाखामा गरेर ११० बोट सुन्तला थिए, अहिले बूढो भएर सबै मरे,’ उनले भनिन्, ‘सुन्तला एक सिजनमा मात्र जान्छ, फूल भए दिनदिनै बेच्न पाइयो ।’ चार वर्षयता व्यावसायिकता दिएकी उनले वर्षयता दुई वटा टनेलमा सयपत्री रोपेकी छन् । थापाको गाउँमा मात्र मनकामना फूल पुर्‍याउने ५ भन्दा बढी किसान छन् ।

Nanikumari has been selling flowers for 40 years in Mankamana

सहिदलखन–३ सिलिङटारका रामबहादुर श्रेष्ठले चार वटा टनेलमा उत्पादन भएको फूल केबलकारको तल्लो स्टेसन पुर्‍याएर बिक्री गर्छन् । ‘मनकामना लक्षित गरेर नै फूल खेती गरेको हुँ, चार वर्ष भयो बिक्री हुँदैन भन्न परेको छैन,’ उनले भने । टनेलमा फूल खेती गर्दा अफसिजनमा पनि उत्पादन हुने र शीतले नढड्ने उनको अनुभव छ ।

एक टनेलबाट एक सिजनमा १८ हजारसम्मको बिक्री गर्न सकिने श्रेष्ठले बताए । मनकामनामा फूलको अत्यधिक माग रहे पनि बाह्रै महिना यसै क्षेत्रको उत्पादनले मात्र नपुग्ने गरेको व्यापारीको भनाइ छ । च्यार्पा, बेतेनी, हटिया, वत्रेश्वरी, सिलिङलगायत गाउँबाट फूल बिक्रीका लागि मनकामना आउने गरेको मनकाना क्षेत्र विकास समितिका पूर्वअध्यक्ष दिनेश जोशीले जनाए ।

‘फूल खेतीको सिजनमा ठ्लो समस्या रहन्न, फागुन, चैत, वैशाखमा जिल्ला बाहिर पुगेर नओइल्याउने फूल ल्याएर पनि बिक्री हुन्छ,’ उनले भने, ‘दैनिक कम्तीमा पनि दुईदेखि पाँच हजार भक्तजन आउँदा २० हजार बढीको त फूल नै बिक्री हुन्छ ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully