पुराना पुलमा ओभरलोडको भार

सडक र पुराना पुलका समस्या भारतीय ओभरलोडका कन्टेनर र लहरी 

माघ १८, २०८१

नवीन पौडेल

Loads of overloads on old bridges

परासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा पर्ने दुम्किवासको विनय खोलाको (ट्रस्ट ब्रिज) पुल पुस २५ मा भासियो । भारतीय नम्बरको एनएल ०१ ए एच ५१७९ नम्बरको लहरी ट्रकले ठक्कर दिएपछि पुल भासिएको हो । 

ओभरलोड बोकेको लहरीका कारण पुलमा क्षति पुगेको थियो । यात्रुले सास्ती भोगे । बुटवल–नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्नेमा लामो समय जाममा पर्ने समस्या भोगिरहेका यात्रुले पुल भासिएपछि फेरि लामो समय जाममा परे । दुई दिनपछि डाइभर्सन बनाएपछि यात्रा केही सहज भयो ।

यही सडक खण्डको मध्यविन्दु नगरपालिका, ११ अरुण खोलामा २०७६ साउन २९ मा पुल भासियो । ना६ख ४७१ नम्बरको मालवाहक ट्रकको ठक्करबाट पुल भासिएपछि यात्रुले सास्ती भोगे । महिनौंसम्म यात्रुले डाइभर्सन प्रयोग गर्नुपर्‍यो । वर्षाको समय भएकाले पटकपटक डाइभर्सन बगाउँदा पूर्व–पश्चिम यात्रा गर्ने यात्रुले घण्टौं जाममा बस्नुपर्‍यो । धेरैजसोले वैकल्पिक मार्ग प्रयोग गरे ।

२०७३ मंसिर २५ मा देवचुली नगरपालिका–१३ स्थित लोकाहा खोलामा रहेको पुल पनि ना६ख ३०१७ नम्बरको ट्रकको ठक्करबाट भासियो । महिनौंसम्म यात्रुले डाइभर्सनबाट यात्रा गर्नुपर्‍यो । यी प्रतिनिधि घटना मात्र हुन् । गैंडाकोटको जयश्री र सुनवलको तुरिया खोलाको पुल पनि यसअघि भासिइसकेका छन् ।

बुटवल–नारायणगढ सडक खण्डअन्तर्गतका पुल (ट्रस्ट ब्रिज) ५० वर्षभन्दा पुराना छन् । तत्कालीन समयमा सवारी सञ्चालनको चाप र तिनले बोक्ने भार क्षमताअनुसार निर्माण गरिएको पुलमा अहिले दैनिक हजारभन्दा बढी सवारी गुड्ने गर्छन् । त्यसमाथि ओभरलोड बोकेर आउने भारतीय सवारीसाधनको भार थेग्न धौधौ छ । ओभरलोड ल्याउने सवारीलाई सामान्य जरिवाना मात्र गरेर छाडिदिने प्रचलन छ, जसले गर्दा सडक र पुलले धान्न नसक्ने सवारीका कारण सडक जीर्ण भएको छ भने पुराना पुल भासिने समस्या छ ।

नेपाली सवारीसाधनले ओभरलोड बोकेमा जरिवाना र सामान झार्नेसम्मको कारबाही गर्ने प्रहरीलाई भारतीय कन्टेनर र लहरीमा आउने सामान र उनीहरूको तौल लिन भने समस्या छ । भन्सारबाट सिल गरेर ल्याइएको सामान खोलेर अनलोड गर्ने अधिकार सामान्य अवस्थामा ट्राफिक प्रहरीलाई छैन । त्यसमाथि नेपालमा रहेका तौल केन्द्रमा १ सय टनसम्मको मात्र तौल मापन हुने हुँदा ओभरलोड बोकेर आउने भारतीय कन्टेनरका तौल मापन गर्न सकिने अवस्था छैन । यसले सडक र पुराना पुललाई भारतीय ओभरलोडका कन्टेनर र लहरी भार बनेको छ । 

‘ओभरलोड बोकेका सवारीलाई जरिवाना र अत्यधिक ओभरलोड भए सामान झारेर अर्को सवारीमा पठाउने पनि गरिएको छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख जनकराज बन्जाराले भने, ‘भारतीय कन्टेनर र लहरीमा भन्सारले जाँच गरेर सिलबन्दी गरेर पठाएका सामान हुने हुँदा बीच सडकमा सिलबन्दी खोलेर सामान झार्ने र तौलका लागि पनि ठूलो तौल मापन गर्ने माध्यम हामीकहाँ नहुँदा समस्या छ ।’

नयाँ निर्माण भएका पुलबाहेक पूर्व–पश्चिम राजमार्ग निमार्णको समयमा बनेका पुलको भार क्षमता दोब्बरभन्दा कम रहेको विज्ञ बताउँछन् । तर त्यस समयमा कति भार क्षमताको पुल निर्माण गरिएको हो भन्ने विषयमा यकिन तथ्यांक भने छैन । पुराना पुल ५० वर्षभन्दा पहिला निर्माण भएका हुन् । ‘तत्कालीन समयमा सवारीको चाप निकै कम भएको समयमा निर्माण गरिएका पुलले अहिलेको ओभरलोड बहन गर्न समस्या पक्कै हुन्छ ।’ २०७६ सालपछि बनेका पुलले १ सय टन (सवारीबाहेक) भारक्षमता वहन गर्न सक्ने बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जनाए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully