९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी

माघ १८, २०८१

कान्तिपुर संवाददाता

90 megawatt Marsyangdi hydropower project received investment

काठमाडौँ — ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा आंशिक लगानी जुटेको छ । कुमारी बैंकको नेतृत्वमा ३ वटा बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो । 

आयोजनामा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र सिदार्थ बैंक लिमिटेडको संयुक्त लगानी हुने गरी ऋण सम्भौता भएको हो । अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गर्ने गरी छिट्टै सम्झौता  हुने एम ए पावर प्रा लि का अध्यक्ष अनुप आचार्य बताए । 

आयोजना गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा निर्माण हुने छ  । आयोजना निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ। प्रवर्द्वक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैंक लिमिटेडले ४ अर्ब, प्रभु बैक लिमिटेडले ३ अर्ब, सिद्दार्थ बैक लिमिटेडले २ अर्ब र कृषि विकास बैंक लिमिटेडले १.५ अर्ब रूपैयाँ  लगानी गर्नेछन् । 

स्वपुँजीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको लगानी हुनेछ । यही समूहबाट २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। 

आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग ०८० कात्तिक १ मा विद्युत् खरिद बिक्री सम्झौता भएको थियो ।  २०८६ वैशाख २२ मा व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने कम्पनीले जनाएको छ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), विस्तृत इजानियरिङ डिजाइन तथा ठेक्कासम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ । 

आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन  स्वीकृतिका लागि वातावरण मन्त्रालयमा पेस भएको छ । आयोजनाबाट उत्पादित विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब-स्टेसनमा जोडिने छ।

कान्तिपुर

Link copied successfully