नुवाकोटबाट सिजनमा ५० करोडको स्ट्रबेरी बिक्री हुने अनुमान

स्ट्रबेरीका बिरुवा रोप्ने र फ्रेस फल बेच्ने गरिए पनि दुई वर्षयता नुवाकोटले बिरुवादेखि फ्रोजन स्ट्रबेरी पनि बिक्रीमा 

माघ १८, २०८१

कान्तिपुर संवाददाता

An estimate of 500 million worth of strawberries will be sold from Nuwakot during the season

काठमाडौँ — नुवाकोटको काउले, ककनी, हिलेभित्ता, चित्रे, कुलेलगायत क्षेत्रबाट सिजनमा ५० करोडको स्ट्रबेरी बिक्री हुने अनुमान गरिएको छ । यतिबेला स्ट्रबेरी टिप्ने र बजारमा पुर्‍याउने काम भइरहेको ककनीका २८ वर्षीय छेसाङ तामाङले बताए ।

६ वर्षदेखि स्ट्रबेरी खेती गरिरहेका छेसाङले ६ रोपनीमा स्ट्रबेरी खेती गरिरहेका छन् । ती क्षेत्रका स्ट्रबेरी टिप्ने, ग्रेडिङ, प्याकेजिङ र बजारीकरण गर्ने काम गरिरहेको उनले जनाए । 

स्ट्रबेरीका बिरुवा रोप्ने र फ्रेस फल बेच्ने गरिए पनि पछिल्लो दुई वर्षदेखि नुवाकोटले बिरुवादेखि फ्रोजन स्ट्रबेरी बेच्नेसम्मको काम गरिरहेको तामाङको भनाइ छ । जाडो बढेकाले अहिले एक दिन बिराएर फल टिप्ने, ग्रेडिङ गर्ने, प्याकेजिङ गरेर बजार पुर्‍याइन्छ । ‘राति ८/९ बजेसम्म प्याकेजिङ गरी तयार गर्छौं, भोलिपल्ट ५ बजे माछापोखरी आइपुग्नुपर्छ,’ उनले भने, ‘माछापोखरीबाट दाङ, पोखरा, धादिङ, चितवन, इटहरी, धरान, झापाका गाडीमा स्ट्रबेरी पठाउँछौं ।’ जिल्लामा पठाइसकेपछि उपत्यकाभित्रका लागि जमल, न्युरोड, भैंसीपाटी, लगनखेल, सातदोबाटो, बौद्ध, चाबहिल, नक्साललगायत ठाउँमा पसल, मार्ट र सुपरमार्केटलगायतमा स्ट्रबेरी पुर्‍याउने गरेको उनले सुनाए ।

ककनीस्थित काउलेकी मंगली तामाङले ४ आना जग्गाबाट सुरु गरेको स्ट्रबरी खेती अहिले १ रोपनीमा फैलाइसकेकी छन् । विगत ९ वर्षदेखि स्ट्रबेरी बिक्रीबाट मात्रै महिनामा ३० देखि ५० हजार रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ । ‘ककनी स्ट्रबेरी खेतीबाटै चिनियो । तर हाम्रो अवस्था जस्ताको त्यस्तै छ । आफैं नर्सरीमा बिरुवा उत्पादन गर्‍यो अनि आफैं रोप्यो, बेच्यो,’ उनले भनिन्, ‘पहिला पनि यस्तै थियो, स्थानीय सरकार आए पनि उस्तै छ  ।’

ककनीको काउले, हिलेभित्ते र चित्रेका झन्डै ४ सय किसानले स्ट्रबेरी खेती गर्दै आएका छन् । उनीहरूले कम्तीमा १ रोपनीदेखि बढीमा १० रोपनीसम्ममा स्ट्रबेरी खेती गरिरहेका छन् । झन्डै तीन दशकदेखि यहाँको प्रमुख नगदे बाली नै स्ट्रबेरी हो । स्ट्रबेरी वर्षमा ७ महिनासम्म फल्छ । कात्तिकदेखि वैशाखसम्म स्ट्रबेरी टिप्न मिल्ने छेसाङले बताए । ‘कात्तिक र मंसिरमा दिनकै टिपेर बजार पुर्‍याउने हो, पुस र माघमा जाडो हुन्छ, घाम लाग्दैन, त्यसैले दिन बिराएर टिप्ने हो,’ उनले भने, ‘फागुनदेखि फेरि दिनकै टिप्ने हो, उत्पादन बढ्छ र त मूल्य घट्छ ।’ स्ट्रबेरी बेचेर किलोको साढे ४ देखि ५ सय रुपैयाँ पाइने उनले सुनाए । वैशाखदेखि असोजम्म पुरानो बिरुवाको पात टिप्ने, नयाँ बिरुवा र जग्गा तयार पार्ने काम हुन्छ । विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा स्ट्रबेरीको उत्पादन बढी हुने उनीहरूको भनाइ छ । 

ककनीमा २०४६ मा जापानी सहयोग नियोग (जाइका) अन्तर्गतको जाइटी नेपालले स्ट्रबेरी खेती परियोजना थालेको हो । परियोजनाले केही बिरुवा रोपेर परीक्षण थाल्यो । तर पछि किसान आफैंले उत्पादन गर्न थालेपछि खेती विस्तार भएको हो । अहिले धेरैजसो किसान आफैंले नयाँ बिरुवा उत्पादन पनि गर्छन् । केही वर्षयता स्वदेशी बजारमा पनि स्ट्रबेरीको माग बढ्दो छ ।

ककनीमा उत्पादित स्ट्रबेरी काठमाडौं, पोखरा, विराटनगर, वीरगन्जलगायत सहरमा पुग्छ । ताजा स्ट्रबेरी बिक्री गर्दै किसानले यसबाट बन्ने जाम, जेली, क्यान्डी, चकलेटलगायत खाद्य सामग्री बनाउन भने सकेका छैनन् । स्ट्रबेरीमा लाग्ने रोग, बजार व्यवस्थापनतर्फ पालिकाले समेत ध्यान नदिएको उनले गुनासो गरे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ककनीलाई स्ट्रबेरी पकेट र जोनबाट हटाएर कुनै कार्यक्रम नराखेको छेसाङको गुनासो छ । ‘स्ट्रबेरी अहिले फ्रेस नै किन्ने, बेच्ने भइरहेको छ, जाम बनाउन लागेका छौं तर साना स्ट्रबेरीका दानाको वाइन बनाउन सक्थ्यौं, सरकारले सहयोग नै गरेन,’ उनले भने ।

कम आयात हुने फलफूलमा स्ट्रबेरी पनि पर्छ । चालु आर्थिक वर्षको ६ महिनामा १ लाख ७ हजार रुपैयाँको ४२४ किलो स्ट्रबेरी आयात भएको छ तर निर्यात शून्य छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ लाख ४९ हजार रुपैयाँको १ हजार ९ सय ९२ किलो स्ट्रबेरी आयात भएको भन्सार विभागको तथ्यांक छ । निर्यात शून्य देखिए पनि ककनीका छेसाङले सिजनमा उत्पादनको २० प्रतिशत स्ट्रबेरी भन्सार छलेर भारत निर्यात हुने गरेको बताए । ‘दिनको ७ देखि ८ हजार किलो स्ट्रबेरी उत्पादन हुन्छ । त्यसका आधारमा नुवाकोटको पकेट क्षेत्रमा ६ महिनामा १४ लाख ४० हजार स्ट्रबेरी उत्पादन हुने अनुमान छ, त्यसको २० प्रतिशत भारतमा जान्छ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully