नवलपुर — पूर्वी नवलपरासीका किसानले सामूहिक प्याज खेती गर्न थालेका छन् । जिल्लाको कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट र बुलिङटार गाउँपालिकामा १५ वटा किसान समूहले सामूहिक प्याज खेती गरेका छन् ।
२५ हेक्टरमा लगाइएको प्याज खेतीमा २ सय ३४ जना किसान आबद्ध छन् । किसानले आफैं नर्सरी बनाउने र विरुवा उत्पादन गरेर अन्य किसानलाई बिक्री गर्ने र खेती पनि गर्ने गरेका छन् ।
हरेक दिन भान्सामा आवश्यक हुने प्याज खेती मौसमअनुसार थोरै मात्रामा लगाउने गरेका किसानले अहिले आफूलाई वर्षभरि खान पुग्ने र बाँकी रहेको बिक्री गरेर आम्दानी गर्ने उद्देश्यले किसान यसतर्फ आकर्षित भएका हुन् । अन्य खेतीको तुलनामा बजारको समस्या नहुने र मूल्य पनि राम्रो पाइने भएपछि किसानले सामूहिक खेती गर्न थालेका हुन् ।
सबैभन्दा बढी उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने योजनासहित प्याज खेतीका लागि किसानलाई प्रोत्साहन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताए । अहिले नासिक रेड–५३ र रेड क्रियोल गरी दुई जातको प्याज खेती गरिएको छ ।
अन्य खेतीभन्दा उत्पादन बढी हुने र बजारको पनि समस्या नहुने भएपछि व्यावसायिक खेती गरिएको शिव शक्ति कृषक समूह कावासोती–१५ का अध्यक्ष पुष्पराज बरालले बताए । कावासोती नगरपालिका–१५ गोडारमा दश कठ्ठा जमिन भाडामा लिएर सामूहिक खेती गरिएको उनले बताए । प्याजका लागि नवलपुर जिल्लाको हावापानी र माटो उपयुक्त रहेको हुँदा उत्पादन राम्रो हुने आशा गरिएको छ ।
भारतबाट आयात बढी हुने भएको हुँदा आफैंले उत्पादन गरेको पाउनेमा किसान आशावादी छन् । प्याज खेती गर्न इच्छुक किसानलाई बीउ निःशुल्क उपलब्ध गराइएको र प्याज खेती प्रवर्द्धन कार्यक्रमका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १७ लाख बजेट विनियोजन गरेर अनुदान वितरण गरेको छ ।
