चेपाङ गाउँमा ‘कृषि एम्बुलेन्स’

इच्छाकामना गाउँपालिकाको ७५ र हपनी कृषक समूहको २५ प्रतिशत साझेदारीमा ‘कृषि एम्बुलेन्स’ किनिएको हो 

माघ १७, २०८१

रमेशकुमार पौडेल

”Agricultural Ambulance” in Chepang Village

चितवन — हपनीका ५० वर्षीय मुनाराम चेपाङ टर्च बालेर बिहान सबेरै तरकारी मिलाउँदै थिए । एम्बुलेन्स गाउँको उपल्लो भेगबाट झर्दै थियो । त्यसैले उनी हतारमा थिए । क्रेटमा राखेका थिए टमाटर अनि बोरामा थिए हरियो केराउका कोसा र रायको राम्रो साग । यी तरकारी उनी त्यही एम्बुलेन्समा लोड गर्दै थिए । घाम नझुल्कँदै उनको गाउँ आइपुग्ने एम्बुलेन्स बिरामी बोक्ने हैन कि फलफूल तरकारी बोक्ने ‘कृषि एम्बुलेन्स’ हो । 

हपनी चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–२ मा पर्छ । जिल्लाको यो पहाडी गाउँमा ‘कृषि एम्बुलेन्स’ आउन थालेको डेढ वर्ष भयो । गाउँपालिकाको ७५ प्रतिशत र हपनी कृषक समूहको २५ प्रतिशत साझेदारीमा ‘कृषि एम्बुलेन्स’ किनिएको हो । हपनी गाउँमा अति सीमान्तकृत आदिवासी चेपाङ समुदायको बसोबास छ । चेपाङ बस्ने गाउँघर अलि रुखोसुखो र कृषि उपज नफल्ने हुन्छ ।

तर हपनीको कथा अलि फरक छ । यहाँ बाटो पुग्नुभन्दा अघि नै तरकारी खेती फस्टाएको थियो । पहिला डोकोमा बोकेर तरकारी बजार झार्नुपर्थ्यो । अहिले बारीमै ‘कृषि एम्बुलेन्स’ तरकारी लिन पुग्छ । ‘फागुनदेखि जेठसम्म अलि सुक्खाले गर्दा राम्रो तरकारी फल्दैन । नभए अरू महिना त दिनदिनै गाडीलाई भारी पुग्छ,’ हपनी कृषक समूहका अध्यक्ष टेकबहादुर चेपाङले भने । 

यस गाउँमा २०५८ सालबाटै तरकारी खेती सुरु गरिएको थियो । तर त्यो बेला गाउँमा बाटो थिएन । किसानहरूले डोको बोकेर पृृथ्वी राजमार्गमा पर्ने मौवा खोला झर्थे । त्यहाँबाट गाडी चढेर पश्चिममा रहेको मुग्लिन बजार गएर तरकारी बिक्री गर्थे । ‘हामी बिहान २ बजे उठ्थ्यौं र भारी बोकेर मौवा खोला झर्थ्यौं । चार घण्टा लाग्थ्यो त्यहाँ पुग्न । सबेरै नपुगे तरकारी बिक्री हुँदैनथ्यो,’ मुनारामले भने । त्यसैले अहिले गाउँमै गाडी आएर तरकारी लैजाँदा धेरै राहत भएको छ । 

गाउँमै बाटो गएको दुई वर्ष भयो । ‘कृषि एम्बुलेन्स भएपछि हामीलाई ढुवानी भाडा पनि सस्तो भएको छ । अरू गाडीलाई किलोको ६/७ रुपैयाँ दिनुपर्थ्यो । यसले ४/५ रुपैयाँमै ओसारिराखेको छ,’ मुनारामले सुनाए । उनले १० कट्ठा जमिनमा तरकारी लगाउँछन् । ‘त्यस्तो ठूलो आम्दानी त केही गरेको छैन । वर्षमा लाख–डेढ लाख रुपैयाँ बचत भएको छ । छोराछोरी पढाइयो, यतै पाखातिर भए पनि १३ कट्ठा जति जमिन पनि जोडियो,’ मुनारामले भने ।

अन्यत्र जस्तै हपनीका चेपाङ समुदायले पनि पाखो बारीमा कोदो, मकै लगाउँथे । धान राप्न नसकिने भूगोल छ त्यहाँको । कोदो, मकैले नपुग्दा बजार झरेर चामल किनेर खानुपर्ने बाध्यता थियो । ऋण–धन गरेर चामल किन्ने बाध्यतामा रहेका हपनीका चेपाङ समुदाय बिस्तारै तरकारी खेतीमा लागे । ‘२०५५ सालमा मेरो बिहे भयो । खर्च बढ्यो । चिन्तै चिन्तामा मुग्लिन बजार डुल्दा साग–तरकारी राम्रैसँग बिक्री भएको देखें,’ मुनारामले भने ।

हपनीका पञ्चबहादुर चेपाङ हालका वडाध्यक्ष हुन् । उनी शक्तिखोरको चेपाङ सहकारीमा व्यवस्थापक भएर बसेका थिए । नर्सरी र तरकारी उत्पादनबारे पनि तालिम लिएका थिए । मुनाराम, पञ्चलगायतले सल्लाह गरेर गाउँमा तरकारी खेती सुरु गरे । त्यही प्रयासले गाउँमा पैसा भित्रन थाल्यो । अरू पनि तरकारी खेतीमा जोडिँदै गए । गाउँमा ६५ घर छन् । सबै घर चेपाङ समुदायका हुन् । 

‘प्रायः सबैले तरकारी खेती गरेका छन् । हाम्रो समूहमै ३५ परिवार आबद्ध छन्,’ हपनी कृषक समूहका अध्यक्ष टेकबहादुर चेपाङले भने । वर्षमा दुई/अढाई लाख रुपैयाँदेखि चार/पाँच लाख रुपैयाँसम्म कमाइ गर्ने किसान गाउँमा रहेको उनले जनाए । तरकारी बेचेर वर्षमा सरदर ७० देखि ८० लाख रुपैयाँसम्म गाउँमा भित्रिने गरेको टेकबहादुरको भनाइ छ । 

गाउँमा सिँचाइको अभाव छ । फागुनदेखि जेठसम्म तरकारी उत्पादन खासै नहुने टेकबहादुरले बताए । असारदेखि माघसम्म काँक्रो, टमाटर, केराउ र हरिया सागपात राम्रै हुन्छ । नजिकैको माझ काउलेमा सुन्तला पनि फल्छ । ‘हामीलाई नुनतेल गर्न नै गाह्रो थियो । बजारमा माग देखेर तरकारी लगायौं, राम्रै भइरहेको छ,’ अध्यक्ष टेकबहादुरले भने । 

मिहिनेत गरेर उब्जाएको तरकारीको भने जस्तो मूल्य नपाएको किसानको गुनासो छ । ‘व्यापारीले भनेको मूल्यमा डोको घोप्टाउनुपर्छ । उनीहरूले भनेको मूल्य नदिए डोको बोकेर कता भौंतारिनु ? ढुवानीको समस्या हट्दै गयो । अब मूल्यको चिन्ता छ यसलाई व्यवस्था गर्न पाए,’ मुनारामले भने । 

इच्छाकामना गाउँपालिकाले साझेदारी गरेपछि हपनीका किसानले ‘कृषि एम्बुलेन्स’ किनेर २०८० सालको असारदेखि चलाए । अहिले यस्तो एम्बुलेन्स इच्छाकामनाको वडा नम्बर १ र ६ मा पनि किनेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जनाए । ‘गाउँपालिकाले १८ लाख रुपैयाँ जति दिएको छ । अरू समूहले साझेदारी गरेका हुन् । किसानको उत्पादन फस्टाएको ठाउँमा ढुवानीका कारण समस्या नहोस् भन्नका लागि प्राथमिकता दिएर कृषि उत्पादन बोक्ने गाडी कृषि एम्बुलेन्सको प्रबन्ध गरेका हौं,’ गाउँपालिका अध्यक्ष गुरुङले भने ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully