१ सय ५८ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकियो
भोटखोला, संखुवासभा — भोटखोला गाउँपालिका–२ लिंगमका पेंङनुर्बु भोटेलाई खाँदबारीबाट घर पुग्न ३ दिन हिँड्न पर्थ्यो । सोमबार खाँदबारी–किमाथांकासम्म सडकको ट्र्याक खोल्ने काम सकिएको घोषणा हुँदा उनी निकै खुसी देखिन्थे । ‘भोटखोलावासीलाई सदरमुकाम खाँदबारीबाट घरसम्म पुग्न कम्तीमा ३ दिन हिँड्नै पर्थ्यो,’ उनले भने, ‘अब गाडी चढेर घरसम्म पुग्न सजिलो हुने भयो ।’
हटियाका पासाङनुर्वू भोटे पनि किमाथांकासम्म सडक पुगेपछि खुसी छन् । ६५ वर्षीय उनले खाँदबारीबाट गाडी चढेर घरसम्म पुग्ने सपना पूरा भएको खुसी हुँदै सुनाए । ‘अब किमाथांका नाकासम्म जान पाईने भयो,’ उनले भने, ‘गाडी नचल्दा भोटखोलावासीले महँगोमा सदरमुकाम खाँदबारीबाट खाद्यान्नलगायत सामग्री ल्याउनुपर्थ्यो ।’
यो सडकले चीन र भारत जोड्ने भएकाले बढी खुसी भएको उनले सुनाए । ‘अब तिब्बतबाट आएका खाद्यान्न र लत्ताकपडा सदरमुकाम हुँदै मधेससम्म लग्न सजिलो हुन्छ,’ उनले भने ।
राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण कोशी करिडोरअन्तर्गत ०६५/६६ देखि खाँदबारी–किमाथांका सडक निर्माण थालिएको थियो । १ सय ५८ किलोमिटर उक्त सडकको ट्र्याकको काम सकिएपछि ‘ब्रेक थ्रु’ भएको घोषणा गरिएको छ । भारतको जोगवनीदेखि संखुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गत यो सडकको ट्र्याक खोलिएको हो ।
जोगवनीदेखि खाँदबारी २ सय किमि सडकखण्ड कालोपत्र भइसकेको छ । खाँदबारी–किमाथांका सडकअन्तर्गत च्याम्ताङदेखि घोङघोप्पासम्मको १०.५१ किलोमिटर अप्ठ्यारो खण्डको भीरमा ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको थियो । उक्त खण्डमा ट्र्याक खोल्ने काम सकिएको र अब सडकको स्तरोन्नति र चौडा बनाउने काम थालिने सडक विभागले जनाएको छ ।
यो सडक खण्डको भोटखोला–१ च्याम्ताङमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र पूर्व सांसद राजेन्द्रप्रसाद गौतमको उपस्थितिमा ‘ब्रेक थ्रु’ को घोषणा गरिएको हो । यसअघि खााँदबारीबाट च्याम्ताङसम्म १ सय ३४ किमि सडक निर्माण भइसकेको छ । किमाथांकाबाट घोङघोप्पासम्म १४ किमि सडकको कच्ची ट्र्याक खुलिसकेको छ ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बताए । ‘भारतदेखि चीनसम्म जोड्ने कोशी राजमार्गको ट्र्याक खोल्ने काम सकिएको छ,’ उनले भने, ‘सडकको स्तरोन्नति र चौडा बनाउने काम पनि भइरहेको छ ।’ खाँदबारी–किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ऊर्जामन्त्री खड्काले बताए ।
‘त्रिदेशीय नाका जोड्ने सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका अलावा बंगलादेशले फाइदा लिन सक्नेछ,’ उनले भने, ‘सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका छौं ।’
किमाथांका क्षेत्र हुँदै अरुण नदीको बहाव रहेकाले यो क्षेत्रमा धेरै जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काको भनाइ थियो । सेनाले निर्माण गरिरहेको यो सडक खण्ड मुलुकको विकासमा महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको रक्षामन्त्री राईले बताए । सेनाले तोकेको समयभन्दा अघि नै ट्र्याक खोल्ने काम सकेको उनको भनाइ छ । ‘पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।
यो सडकखण्डको बाँकी काम सम्पन्न गर्नका लागि बजेट अभाव हुन नदिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले प्रतिबद्धता जनाए । सडक निर्माणका लागि पर्याप्त बजेट नभएको र बजेट उपलब्ध गराए सडक चौडा पार्ने काम चाँडो सकिने सेनाले जनाएको छ ।
