‘ब्रेक थ्रु’ पछि पनि सुरुङ सञ्चालन हुन १ देखि ३ वर्ष 

विज्ञ भन्छन्, ‘ब्रेक थ्रु’ भनेको प्रारम्भिक निर्माण मात्र हो, त्यसपछि गर्नुपर्ने काम धेरै हुन्छ 

माघ १६, २०८१

विमल खतिवडा

1 to 3 years for tunnel operation even after 'break through'

काठमाडौँ — हामीलाई लाग्न सक्छ, सुरुङको ‘ब्रेक थ्रु’ भइसकेपछि सञ्चालनमा आउन धेरै समय लाग्दैन । तर विज्ञ भन्छन्, ‘ब्रेक थ्रु’ भनेको प्रारम्भिक निर्माण मात्र हो । त्यसपछि गर्नुपर्ने काम धेरै हुन्छ । यसको एउटा उदाहरण हो– नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना । यो सुरुङको ‘ब्रेक थ्रु’ गत वैशाख ३ मा भएको हो । अहिलेसम्म सुरुङभित्रको काम सकिएको छैन, जसले सवारीसाधन सञ्चालन हुन सकेको छैन ।

पाल्पाको सिद्धबाबा सुरुङमार्गको पनि शुक्रबार ‘ब्रेक थ्रु’ गरिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सुरुङको उत्तर र दक्षिण भाग जोड्न १.८ मिटर मात्रै बाँकी राखिएको थियो, जुन काम शुक्रबार पूरा गरियो । दुवै सुरुङमार्गको दूरी फरक–फरक भए पनि ‘ब्रेक थ्रु’ पछि सुरुङभित्र गरिने काम प्रायः समान छ । 

पहिलो चरणमा सुरुङ खनेर भित्रको सडक मिलाउने काम अघि बढाइने सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले बताए । ‘अहिले सुरुङभित्रको सडकमा हिलो छ,’ उनले भने, ‘हिलो नसकुन्जेलसम्म सडक खनेर मिलाइन्छ ।’ उनका अनुसार अनुमानित एक मिटरसम्म गहिरो गरी सडक खनेर मिलाइन्छ । त्यसपछि पक्की सडक निर्माण गरेर थप काम अघि बढाइन्छ । त्यसपछि वाटर प्रुफिङको काम गरिने उनले बताए ।

‘सुरुङभित्र खन्ने क्रममा पानी आइरहेको हुन्छ,’ उनले भने, ‘त्यसलाई भित्रबाटै पाइपमा लगेर बाहिर व्यवस्थापन गरिन्छ ।’ त्यसपछि सपोर्ट राखेर अन्तिम कंक्रिटिङको काम अघि बढाइन्छ । त्यो काम सकिएपछि विद्युतीकरण र अन्तिम चरणको लाइनिङ थालिन्छ । लाइटिङ, भेन्टिलेसन र अन्त्यमा फाइनल चरणको पक्की (ढलान गरेर) सडक निर्माण गरिन्छ । त्यसपछि सुरुङको परीक्षण गरिन्छ । ‘सबै पूरा भएपछि सुरुङ सञ्चालनमा आउँछ,’ भण्डारीले भने । यी सबै काम नागढुंगा र सिद्धबाबा दुवै सुरुङमार्ग ‘ब्रेक थ्रु’ पछि भइरहेको छ । 

सुरुङभित्र दुवै साइड र दुई लेन सडकको बीचमा नाली पनि बनाइनेछ । सिद्धबाबा सुरुङ बाहिर सवारी आवागमन रोकेर काम गर्न मिल्ने अवस्था नरहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । ‘त्यसैले सडक बन्द गरेर काम गर्नुपर्ने भएकाले सुरुङबाट सवारीसाधन चलाउने व्यवस्था गरेर मात्र बाहिरका अन्य काम थाल्छौं,’ उनले भने, ‘कुनै समस्या नआए सुरुङ निर्माणमा ढिला हुने छैन ।’

सुरु सम्झौताअनुसार सिद्धबाबा सुरुङमार्गको म्याद ०८३ फागुनसम्म छ । यही अवधिमा सबै काम पूरा गर्न नसकिने भन्दै निर्माण कम्पनीले म्याद थप माग गर्दै आएको छ । ‘रूख कटानलगायतले सुरुवातमा काम गर्न नपाएको विषयलाई लिएर निर्माण कम्पनीले अरू ९ महिना म्याद थप मागेको छ,’ उनले भने, ‘यो छलफलकै क्रममा छ, निर्णय भइसकेको छैन ।’

आयोजनाका अनुसार ०७८ फागुनमा ठेक्का सम्झौता भए पनि सुरुङ खन्न ०८० जेठदेखि सुरु गरिएको थियो । त्यसअघि पूर्वतयारी र रूख कटानलगायत कारणले सुरुङ खन्ने काम अघि बढेको थिएन । सुरुङमार्गभित्र सवारीसाधनमा केही समस्या आइपरे सहजताका लागि र तत्काल उद्धार गर्न १५१ मिटरको पहिलो, १६१ मिटरको दोस्रो र १३० मिटर दूरीको तेस्रो बाइपास सुरुङ निर्माण गरिएको छ, जसको केही समयअघि ‘ब्रेक थ्रु’ भइसकेको छ ।

मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार अहिलेसम्म समग्र निर्माणको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत छ । उक्त खण्डमा २ हजार ३ सय ९८ मिटरमा सडक सुधार गरिनेछ । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ । त्यस्तै सुरुङ बाहिर पहिरो झर्ने खण्डमा रक सेट निर्माण गरिनेछ ।

जसको दूरी ७ सय ८० मिटर छ । सुरुङ निर्माण गरिएको क्षेत्रमा ढुंगा खसे तल झर्ने गरी ओरालो पारेर सिमेन्टेड रक सेट बनाइनेछ । कत्रो ढुंगा झर्छ र त्यसलाई धान्न सक्ने/नसक्ने सबै विषयलाई आधार मानेर रक सेटको डिजाइन गरिएको आयोजनाको भनाइ छ । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले लिएको हो । ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ हो । यो नागढुंगा–सिस्नेखोला सुरुङमार्गभन्दा अग्लो हुनेछ । जमिनदेखि यसको उचाइ ९.२ मिटर हुनेछ । नागढुंगा–सिस्नेखोला सुरुङको उचाइ ८.२ मिटर छ । डिजाइनअनुसार भेन्टिलेसनका लागि १५ वटा जेट फ्यान जडान गरिनेछ ।

कुनै समस्या आइनपरे आउँदो ०८२ असोजभित्र सुरुङमार्गबाट सवारीसाधन ओहोरदोहोर गर्ने दाबी आयोजनाको छ । त्यसो त यसको निर्माण ०७६ कात्तिक ४ मा थालिएको हो । अहिलेसम्म प्रगति ८५ प्रतिशत छ । यो सुरुङको दूरी २ हजार ६ सय ८८ मिटर छ । ‘ब्रेक थ्रु’ पछि सपोर्टिङ, कंक्रिटिङ, लाइनिङ, भेन्टिलेसन, पक्की सडक निर्माणलगायतका काम भए । अन्तिम चरणका कामहरू भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । 

बलम्बुस्थित किसिपिडीबाट सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म सडकको दूरी २.३०७ किमि छ । अहिले दुई लेनमा तेस्रो तहमा सडक कालोपत्र भइरहेको छ । फ्लाइओभर निर्माण पनि अन्तिम चरणमा रहेको उनको भनाइ छ । सुरुङ ‘ब्रेक थ्रु’ भएपछि बल्ल सुरक्षासम्बन्धी मुख्य काम सुरु हुने सडक विभागका पूर्वसहसचिव नरेशमान शाक्यले बताए । ‘सुरुङभित्र दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन्,’ उनले भने, ‘त्यसैले कुनै दुर्घटना हुन नदिने गरी लाइटिङ, भेन्टिलेसनलगायत काम गर्दा सुरुङ सञ्चालनमा आउन समय लाग्छ ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully