बाँसखर्कका ३ सय घरमा सुन्तला खेती, खरिद गर्न बारीमै पुग्छन् व्यापारी
बागलुङ — १९९७ सालमा हजुरबाले रोपेका ५ वटा सुन्तलाका बोट थिए । निकै मिठो भएकाले धेरैले मागेर खान्थे । बाबु मीनबहादुर खत्रीले २०३३ सालमा बारीमा २५ वटा बिरुवा थपे । त्यसले ५ वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो । सजिलै बिक्री भएपछि नगद हात पारेर चिया र नुनतेल किन्ने पैसा आयो ।
पर्वतको जलजला गाउँपालिका–१ स्थित बाँसखर्कको बजारमारे गाउँका जगतबहादुर खत्री यतिबेला बाबु र हजुरबुबाको योगदान सम्झिन्छन् । बाबुबाजेले देखाएको बाटोले उनको जीवनमा आर्थिक उन्नति ल्याइदिएको छ । विदेश जानु नपर्ने, सहर झर्न पनि नपर्ने गरी उनीहरूले गाउँमा सुन्तलाबाटै लाखौं कमाइ गरिरहेका छन् ।
बारीमा हुर्केका सुन्तलाबाट नगद कमाइ भएपछि हौसिएका खत्रीले हरेक वर्ष बिरुवा थपिरहेका छन् । २०३९ सालमै उनले एक सय बिरुवा थपेका थिए । २०४३ मा अर्को एक सय ३५ थपेर बारीमा साढे २ सय बोट पुर्याए । त्यसपछि त उनको उत्पादन बेनी बजारसम्म बिक्न थाल्यो । २०५३ सालमा उनले झन्डै ५ सय बिरुवा हुर्काए ।
यतिका धेरै सुन्तला हुर्काएपछि उनको घरनजिकैको बारी भरियो । कतिपयले खेतीपाती मासेर सुन्तला मात्रै लगाउँदा भोकै बस्नुपर्ला भनेर डर देखाए । पत्नी मनकुमारी पनि सुरुमा खेतै नरहने हो कि भनेर डराउँथिन् । तर तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्राविधिकले उनलाई विभिन्न स्थानका तालिममा बोलाउन थाले । अगुवा किसानका रूपमा पुरस्कार पाए । त्यसपछि भने उनी डराएनन् ।
‘सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर घरमै गाली पनि खाएँ, मलाई पनि सुरुसुरुमा डर लाग्यो,’ खत्रीले भने, ‘सुन्तलाको बजार राम्रो भएकाले त्यही बेचेर पनि खान सकिन्छ भनेर आँट आयो ।’ कृषि विकास कार्यालयका तत्कालीन प्रमुख नरबहादुर केसीले हौसला थपेपछि खत्रीलाई आँट बढेको उनको भनाइ छ । त्यसपछिका वर्षमा पनि उनले केही न केही बोट थपिरहेका छन् ।
पहिला कोदो, मकै र धान खेती गर्ने सबै बारी उनले यतिबेला मासिसकेका छन् । घर र आँगनबाहेक सबै खेतबारीमा सुन्तला हुर्केका छन् । नजिकैको खरबारीसमेत भरिएको छ । खत्रीको २८ रोपनी जमिन अहिले सुन्तलाको जंगल बनेको छ । यो वर्ष मात्रै खत्रीले १ हजार ५ सय ५३ बोटबाट ३४ हजार केजी सुन्तला बिक्री गरेका छन् ।
सामान्य हिसाबमा उनले यस वर्ष सुन्तलाबाट ४० लाख ८० हजार रुपैयाँ कमाए । अझै ५ सय बिरुवा हुर्कंदै छन् । ती सबै बिरुवाले फल दिँदा वार्षिक ४० हजार केजी सुन्तला उत्पादन हुने खत्रीले जनाए ।
३५ वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गरेका थिए । निवृत्त जीवन पनि उनले सुन्तलाकै उत्पादनमा लगाएका छन् । चार छोरी विवाह गरेर घर गए । छोरा यामबहादुरले अरू रोजगारी गरेनन् । बुहारीसहित सुन्तलाकै स्याहारमा तल्लीन छन् । यस वर्ष काठमाडौंका व्यापारी आएर सुन्तला किनेको उनले जनाए ।
बाँसखर्कका ३ सय घरमा सुन्तला लगाइएको छ । उपल्लो गाउँका चन्द्रबहादुर गर्बुजाको बारीमा पनि १ हजार ५ सय बिरुवा छन् । तीमध्ये उनको बारीमा पनि झन्डै १ हजार बोटमा फल लागेको छ । उनले पनि यो वर्ष १५ लाख रुपैयाँको सुन्तला बेचेको बताए । भारतीय सेनाबाट निवृत्त भएपछि २०५६ सालदेखि उनले बारीमा सुन्तला रोपेका थिए ।
गोर्खा वेयलफेयरको कार्यक्रममा जाँदा उनले सुन्तलाखेतीबारे जानकारी पाएका थिए । गाउँमा खत्रीले लगाएको बगैंचा देखेर उनले पनि २५ वर्षअघि २०५६ सालमा सुन्तला रोपेका थिए । यति बेला तिनको प्रतिफल पाएको उनको भनाइ छ ।
सुन्तला किन्न व्यपारीहरू घरघरै आउने गरेका छन् । पोखरा, काठमाडौं र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन् । होलसेलमा प्रतिकिलो १ सय २० रुपैयाँसम्म पारेको गर्बुजाले जनाए । बाँसखर्कका झन्डै ५० घरले भने किवी खेती पनि गरेका छन् । सुन्तला नफल्ने उचाइमा भएका घरपरिवारले किवी लगाएर पनि कमाइ गरेका हुन् ।
