काठमाडौँ — बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमनका लागि स्थापना गर्ने भनिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले औपचारिक रूपमा काम थालेको छ ।
अध्यादेशको व्यवस्थाअनुसार अध्यक्ष नियुक्त नहुँदासम्मका लागि नेपाल सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई अध्यक्षको जिम्मेवारी दिएको छ ।
यससँगै सोमबार प्राधिकरण कार्यालयको औपचारिक उदघाटनसँगै सचिव पोखरेलले नयाँ जिम्मेवारी सम्हालेका हुन् । अध्यादेशको व्यवस्था अनुसार प्राधिकरणको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक र सहकारी मन्त्रालयका सह–सचिव पदेन सञ्चालक हुनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सोमबार अध्यक्ष पोखरेल, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र सहसचिव मदन कोइरालाले पद तथा गोपनियातको सपथ लिएका छन् ।
कार्यक्रममा अध्यक्ष पोखरेलले आफूले नयाँ पाएको जिम्मेवारी पाएको भन्दै त्यसमा खरो उत्रने बताए । ‘दुई दशकदेखि दोस्रो तहको नियामकको विषयमा कुरा आइरहेको बेला प्राधिकरण स्थापना भएको छ । प्राधिकरण पूर्ण रूपमा स्वायत्त नियामक निकाय हो,’ उनले भने, ‘यो राष्ट्र बैंक जत्तिकै बलियो र पूर्ण रूपमा शक्तिशाली हुनेछ ।’ कार्यालय स्थापनासँगै अब प्राधिकरणले काम थाल्ने छ भने, सरकारले अध्यक्ष, विज्ञ सदस्य र चार्टर्ड एकाउन्टेन्ट नियुक्तिको प्रक्रिया सुरु गर्नेछ ।
सरकारले गत पुस १० मा जारी गरेको अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारी नियमनका लागि शक्तिशाली प्राधिकरण गठनको प्रावधान छ । ‘अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी राजपत्रांकित प्रथम श्रेणी वा सो सरहमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष कार्य अनुभव भएको व्यक्तिलाई’ सरकारले प्राधिकरणको अध्यक्ष नियुक्ति गर्नेछ ।
सोही शैक्षिक योग्यता तथा १० वर्षको कार्य अनुभव भएको एक जनालाई विज्ञ सदस्यमा नियुक्त गर्ने प्रावधान अध्यादेशमा छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, सहकारी मन्त्रालयको सहकारी क्षेत्र हेर्ने सहसचिव र कम्तीमा १० वर्ष कार्य अनुभव भएको एक जना चार्टर्ड एकाउन्टेन्ट प्राधिकरणको सदस्य हुने व्यवस्था छ ।
अध्यक्ष, विज्ञ तथा चार्टर्ड एकाउन्टेन्ट सदस्यको नियुक्तिका लागि लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्यको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने व्यवस्था छ । सिफारिस समितिको सदस्यमा पूर्वगभर्नर र आर्थिक तथा वित्तीय, कानुन वा सहकारी क्षेत्रमा कम्तीमा १५ वर्ष कार्य अनुभव भएको व्यक्ति रहने व्यवस्था अध्यादेशले गरेको छ । सिफारिस भएका व्यक्तिहरूको नियुक्ति मन्त्रिपरिषद्ले गर्नेछ । प्राधिकरणको बैठक महिनामा कम्तीमा एक पटक बस्नेछ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणालीलगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाई कार्यान्वयन गर्ने/गराउने मुख्य जिम्मेवारी प्राधिकरणको रहनेछ । ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड (प्रुडेन्सियल स्ट्यान्डर्स) जारी गर्ने,’ प्राधिकरणको काम, कर्तव्यसम्बन्धी व्यवस्थामा उल्लेख छ, ‘बचतकर्ताको बचत सुरक्षा सुनिश्चित गर्न आवश्यक कार्य गर्ने, सहकारी संस्थाको नियमित रूपमा अनुगमन, निरीक्षण गर्ने, उजुरी लिने, प्राप्त उजुरीउपर जाँचबुझ गर्ने र सम्बन्धित संस्थालाई निर्देशन दिने ।’
सहकारीको व्यवस्थापन सूचना प्रतिवेदन प्रणालीलाई संघ, प्रदेश र स्थानीय तहमा लागू गर्ने/गराउने अधिकारसमेत प्राधिकरणलाई दिइएको छ । प्राधिकरणसमक्ष परेको बचत अपचलनलगायतका उजुरीको कारबाही र किनारा गर्दा प्राधिकरणलाई प्रचलित कानुनबमोजिम जिल्ला अदालतलाई भएसरहको कार्य अधिकार दिइएको छ । ‘कुनै व्यक्तिलाई प्राधिकरणसमक्ष उपस्थित गराई बयान गराउने वा जानकारी लिने, साक्षी बुझ्ने, सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै निकाय वा सार्वजनिक संस्थामा रहेको कुनै लिखत कागजात पेस गर्न आदेश दिने, स्थलगत निरीक्षण गर्ने, गराउने तथा दसी प्रमाण पेस गर्न आदेश दिने’ अधिकार प्राधिकरणलाई छ ।
अध्यादेशमार्फत संशोधन गरिएको ऐनबमोजिमको कुनै विषय पालना नगर्ने सहकारीलाई पाँच लाखदेखि पन्ध्र लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार प्राधिकरणलाई हुनेछ । त्यस्तो सहकारी संस्थाको दर्ता खारेज गर्न सम्बन्धित निकायमा लेखी पठाउने अधिकार पनि प्राधिकरणलाई हुनेछ ।
‘सहकारी संस्थाको सञ्चालक वा पदाधिकारी वा व्यवस्थापक वा कर्मचारीले यस ऐन वा ऐनअन्तर्गत बनेको नियम उल्लंघन गरे एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना (प्राधिकरणले) गर्न सक्नेछ र त्यस्तो पदाधिकारी वा कर्मचारीलाई प्रचलित कानुनबमोजिम कारबाहीका लागि लेखी पठाउन सक्नेछ,’ अध्यादेशमा भनिएको छ ।
