पाल्पा रामपुर नगरपालिकाका युवा फर्किए उखु खेतीमा

माघ १४, २०८१

माधव अर्याल

The youth of Palpa Rampur municipality returned to sugarcane farming

पाल्पा — रामपुर नगरपालिका–५ मटेरीका युवा सुरज गौतमले १५ रोपनी बारीमा उखु खेती गरेका छन् । सानो छँदा लेक र बेँसीका बस्तीका बारीमा उखु खेती देखेका गौतमले केही वर्षयता मासिँदै गएको भेटाए । उखु खेती गर्दा धेरै दुःख गर्नु पर्दैन । तर पनि किन छाडे, उखु खेती भन्ने उनमा भयो ।

The youth of Palpa Rampur municipality returned to sugarcane farming

‘मलाई उखु खेती किन गर्न छाडे भन्ने जिज्ञासा लाग्यो,’ उनले भने, ‘त्यसपछि अध्ययन गर्दै जाँदा आफैलाई खेती गर्न मन लाग्यो ।’ उनले छरछिमेक, आफन्त, साथीभाइलाई पुनः उखु खेती सुरु गर्न आग्रह गरे । कतिपय उखु खेती गर्न सहमत भए । ६ जना युवा मिलेर हाम्रो बहुउद्देश्यीय कृषक समूह गठन गरेर उखु खेतीलाई पुनः निरन्तरता दिन लागेको उनले बताए ।

The youth of Palpa Rampur municipality returned to sugarcane farming

रामपुर नगरपालिका–५ कै विष्णुप्रसाद गौतमलाई पनि उखु काट्ने, सफाइ गर्ने, मेसिनमा पेल्ने र खुदो पकाउन भ्याइनभ्याइ छ । तीन सातायता गौतमको दैनिकी यही काममा बितेको छ । ‘पछिल्ला तीन साता उखुबारी र खुदो पकाउनमै दिन बितेको छ,’ उनले भने । पुस र माघ महिना उखु पेल्न र यसबाट खुदो बनाउनमै बित्ने उनले बताए । 

The youth of Palpa Rampur municipality returned to sugarcane farming
The youth of Palpa Rampur municipality returned to sugarcane farming

उखु खेती गर्ने प्रचलन हराउँदै गएपछि यसको माग पूर्ति गर्न युवाहरूले व्यक्तिगत र सामूहिक उखु खेती सुरु गरेका हुन् । हुन त २० वर्षअघिसम्म पाल्पाको रामपुर नगरपालिका उखु खेतीका लागि पकेट क्षेत्र जस्तै थियो । तर पुराना पुस्ताले उखु खेती छाड्दै गए । युवापुस्तामा चासो देखिएन ।

The youth of Palpa Rampur municipality returned to sugarcane farming

त्यसपछि बिस्तारै लेक र बेँसीका बस्तीमा उखुबारी मासिँदै गएको युवा कृषक गौतमले बताए । ‘हामीले किन उखु खेती मासियो भन्ने अध्ययनसमेत गरेका छौँ,’ उनले भने, ‘पुराना पुस्ता बसाइँसराइलगायत विभिन्न कारणले खेती गर्न छाडेका रहेछन् । नयाँ पुस्तामा गाउँमा बसेर दुःख गर्ने चाहना देखिएन ।’

The youth of Palpa Rampur municipality returned to sugarcane farming

रामपुर नगरपालिका–९ लाम्दीखोलाका शम्भु अर्यालका अनुसार साबिकको खालीवन, रामपुर, गेझा, गाँड कोटमा कम्तीमा २ हजार रोपनी भन्दा बढी क्षेत्रफलमा हुने उखु खेती हुन्थ्यो । तर अहिले पछिल्लो समयमा घटेर ५० रोपनीमा सीमित बनेको छ ।जसले गर्दा रामपुर क्षेत्रमा मात्र कम्तीमा २ करोड बढीको खुदो, भेली र गुँड आयात हुन थालेको छ । पछिल्लो समयमा खुदो, भेली र गुँडको माग देखेर पुनः यो खेतीलाई बिस्तार गर्न कस्सिएको युवा कृषक सन्तोष पौडेलले बताए । हाम्रो बहुउद्देश्यीय कृषक समूहमार्फत यस वर्ष ३५ रोपनीमा उखु लगाएका छन् । बिस्तारै यसलाई सय रोपनीमा पुर्‍याउने पौडेलले बताए । 

The youth of Palpa Rampur municipality returned to sugarcane farming

लेकको बस्तीमा बसाइसराई र बेँसीमा काम गर्न दुःख मान्ने भएकाले रामपुर नगरपालिका क्षेत्रका अधिकांश किसान उखु खेती गर्न छाडेका हुन् । अहिले रामपुर नगरपालिकाको गेझा, जब्गादी, पिलुवा, लाम्दीखोला, रामपुर र गाँड कोटमा केही किसानले मात्र उखु खेती गर्छन् । पहिला भने यो व्यावसायिक खेती थियो ।

The youth of Palpa Rampur municipality returned to sugarcane farming

यहाँ बनाइने खुदो र गुँड स्याङ्जा, पोखरा, काठमाडौँ, तनहुँ, बुटवल, भैरहवासम्म पुग्थ्यो । उखु खेती लोप हुन नदिन अझै पनि कतिपय किसान सक्रिय छन् । ‘अर्ग्यानिक खुदो बिक्रीका लागि कुनै समस्या देखिएन,’ रामपुरकी किसान चम्पा गौतमले भनिन्, ‘खेती गर्न किन छाडेको होला जस्तो लाग्न थालेको छ ।’

The youth of Palpa Rampur municipality returned to sugarcane farming

पुस, माघ र फागुन महिना उखु पेल्ने, खुदो पकाउने र गुँड बनाउनमा किसान व्यस्त हुन्थे । ‘यहाँका कतिपय गाउँका खुदोले पहिचान नै बनाएको थियो,’ उनले भनिन्, ‘लाम्दीखोलाको खुदो भनेपछि खोसाखोस हुन्थ्यो । पकाउँदै गर्दा खरिदका लागि व्यापारी घरमै पुग्ने गर्दथे ।’ 

The youth of Palpa Rampur municipality returned to sugarcane farming

केही गाउँमै बसेका र कतिपय विदेशबाट फर्किएका युवासमेत यसको भविष्य देखेर अहिले पुनः उखु खेतीमा लागेको युवा किसान पीताम्बर गौतमले बताए ।‘पछिल्ला वर्षमा युवाको विदेश मोहका कारण नै उखु खेती लोपोन्मुख जस्तै बनेको रहेछ,’ उनले भने, ‘तर विदेशमा पनि सोचे जस्तो कमाई हुन्न र त्यहाँ पनि कृषिमा लागेकाहरूले फर्केर खेती गर्ने सोच बनाएको पनि पाइएको छ ।’

The youth of Palpa Rampur municipality returned to sugarcane farming

उखु खेतीलाई प्रवर्द्धनका लागि रामपुरमा कृषक समूह गठन भएका छन् । कतिपयले व्यक्तिगत रूपमा पनि थप उखु लगाउन सुरु गरेका छन् । सिद्धार्थ राजमार्गदेखि महेन्द्र राजमार्गसम्म जोडिने काली गण्डकी कोरिडोर सडक सञ्चालन भएसँगै यातायातमा थप सहजता भएपछि पुनः उखु किसान हौसिएका छन् ।नजिकका नारायण घाट, बुटवल, पोखरालगायतका बजारमा रामपुरमा उत्पादन भएको खुदो पठाउन सकिने उनले बताए । उखु खेतीको प्रवर्द्धनका लागि रामपुर नगरपालिकाले उपकरण सहयोग गरेको नगरप्रमुख रमण बहादुर थापाले बताए । 

The youth of Palpa Rampur municipality returned to sugarcane farming

‘पुरानो मेसिनबाट उखु पेल्न निकै दुःख पाएको देखेर नयाँ मेसिन सहयोग गरिएको छ,’ उनले भने, ‘उखु खेतीलाई बिस्तार गरेर रामपुरको पहिचान बनाउन सकिन्छ भन्ने लागेको छ ।’

The youth of Palpa Rampur municipality returned to sugarcane farming

रामपुर नगरपालिकाका विभिन्न स्थानमा उखु खेती गर्ने समूह र व्यक्ति प्रस्ताव लिएर आए रामपुर नगरपालिका ऋणमा व्याज अनुदान प्रदान गर्ने उनले बताए । उखु खेतीलाई नयाँ प्रविधिसँग जोड्दै काली गण्डकी बेँसीलाई खुदो तथा उखुजन्य वस्तुमा आत्मनिर्भर बनाउने योजना नगरपालिकाको रहेको नगरप्रमुख थापाले बताए ।

The youth of Palpa Rampur municipality returned to sugarcane farming
The youth of Palpa Rampur municipality returned to sugarcane farming

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully