‘वित्तीय क्षेत्रका समस्या पहिचान गर्न निर्देशन’

नियामक निकायहरूका कार्यक्रम र समस्यालाई प्राथमिकीकरण गरी काम गर्नुपर्नेमा अर्थमन्त्रीको जोड 

माघ १४, २०८१

कान्तिपुर संवाददाता

”Instructions for identifying problems in the financial sector”

काठमाडौँ — नेपालको बैंकिङ क्षेत्रका वास्तविक समस्या पहिचान गर्न नीति निर्माताहरूले सरोकारवालालाई आग्रह गरेका छन् । ब्याजदर धेरै तल झरिसक्दा पनि लामो समयदेखि कर्जा माग बढ्न नसकेको, खराब कर्जा बढिरहेको, नाफा घटेकोलगायत समस्याका कारण बैंक तथा वित्तीय संस्था दबाबमा रहेको बेला उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीलगायतले वित्तीय क्षेत्रको वास्तविक समस्या पत्ता लगाउन राष्ट्र बैंक, बिमा प्राधिकरण, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतलाई निर्देशनसमेत दिए ।

आइतबार अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आए तापनि वित्तीय क्षेत्रमा अपेक्षित सुधार नभएको बताए । यसकारण वित्तीय क्षेत्रको अवस्था सुधारका लागि सबैभन्दा पहिले त्यस क्षेत्रको वास्तविक समस्या पहिचान गर्नुपर्नेमा बैठकमा सहभागीहरूको जोड छ ।

‘वित्तीय क्षेत्रको वास्तविक समस्या के हो भन्ने नै थाहा हुन सकेन, समस्याको पहिचानै नभएकै अवस्थामा समाधानका लाति चालिएका कदम प्रभावकारी हुन सक्दैन,’ बैठकका एक सहभागीले भने, ‘वित्तीय क्षेत्रको वास्तविक समस्या पहिचान गरेर तत्काल अर्को बैठक बसेर समाधान खोज्ने सहमति भएको छ ।’ 

बैठकमा अर्थमन्त्री पौडेलले नियामक निकायहरूका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी काम गर्नुपर्ने बताए । वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रूपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स एसोसिएसन, कम्पनी रजिस्ट्रारको कार्यालयका पदाधिकारी तथा प्रतिनिधिहरूसहितको बैठकमा अर्थमन्त्रीले प्राथमिकता निर्धारण गरी काम गर्दा परिणाम निकाल्न पनि सहज हुने जनाए । 

बैठकमा अर्थतन्त्र, बैंक, सहकारी, तरलता, कर्जा, बिमा, अनुदान, पुँजी बजारलगायत विषयमा छलफल भएको थियो । बैठकमा अर्थतन्त्रका मुद्दाहरूमा थप छलफल गर्दै जाने, अर्थतन्त्रको एउटा क्षेत्रमा असर देखिँदा त्यसको अर्को क्षेत्रमा पनि प्रभाव पर्ने हुँदा एकअर्को निकायबीच समन्वय बढाउनेबारे पनि छलफल भएको सहभागीहरूले बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully