काठमाडौँ — सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’पछि अब यो कहिले संचालनमा आउला त भन्ने कौतूहल बढेको छ । ‘ब्रेक थ्रु’ को मतलव निर्माणको सबै काम सकियो भन्ने होइन । मुख्य सुरुङको उत्तर र दक्षिण भाग जोड्न १.८ मिटरमात्रै बाँकी राखिएमा सो काम मात्रै शुक्रबार पूरा भएको हो ।
सुरुङ सामान्य खनेर ‘ब्रेक थ्रु’ मात्र गरिएको हो । अहिले यसलाई सुरुङको स्वरूपमा मिलाउने काम भइरहेको आयोजनाले जनाएको छ । त्यसपछि वरिपरि र भुइँभन्दा माथिको भागमा फलाम, डन्डीको बलियो सपोर्ट राखेर कंक्रिट लाइनिङको काम थालिने सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । ‘सपोर्ट राखरे कंक्रिट गरेपछि डेढ महिनासम्म माटो खस्ने–नखस्ने र पानी चुहिने–नचुहिने हेरिनेछ,’ उनले भने, ‘पहिला जति मिटर सुरुङ खनिन्छ, त्यति नै प्रारम्भिक कंक्रिटिङ गर्दै खन्ने काम अघि बढाइन्छ ।’
त्यसपछि लाइटिङ र भेन्टिलेसनको काम अघि बढाइने उनले बताए । सबै काम सकेर अन्तिममा क्रंकिट ढलान (सडक) को काम गरिन्छ, जुन दुई लेनको हुनेछ । तीनवटा बाइसपास सुरुङमा पनि यी काम हुनेछन् । सुरुङभित्र नाली पनि बनाइनेछ । ‘यी सबै काम सक्न अझ डेढ वर्ष लाग्ने अनुमान छ,’ उनले भने, ‘पहिला सुरुङको काम सकेर मात्र बाहिरको काम थाल्नेछौं ।’
उनका अनुसार सुरुङ बाहिर सवारी आवागमन रोकेर काम गर्न मिल्ने अवस्था छैन । ‘त्यसैले सडक बन्द गरेर काम गर्नुपर्ने भएकाले सुरुङबाट सवारी साधन चलाएर मात्र बाहिरको अन्य काम थाल्छौं,’ उनले भने, ‘कुनै समस्या नआए सुरुङ निर्माणमा ढिला हुने छैन ।’
सुरु सम्झौताको म्याद ०८३ फागुनसम्म छ । यही अवधिमा सबै काम पूरा गर्न नसकिने भन्दै निर्माण कम्पनीले म्याद थप माग गर्दै आएको छ । ‘रुख कटानलगायत कामले सुरुवातमा काम गर्न नपाएको विषयलाई लिएर निर्माण कम्पनीले अरु ९ महिना म्याद थप मागको छ,’ उनले भने, ‘यो छलफलकै क्रममा छ, निर्णय भइसकेको छैन ।’
आयोजनाका अनुसार ०७८ फागुनमा ठेक्का सम्झौता भए पनि सुरुङ खन्ने काम ०८० जेठबाट सुरु गरिएको थियो । त्यसअघि पूर्वतयारी र रूख कटानलगायत कारणले गर्दा सुरुङ खन्ने काम अघि बढेको थिएन । सुरुङमार्गभित्र सवारीसाधनमा केही समस्या आइपरे सहजताका लागि र तत्काल उद्धार गर्न १५१ मिटरको पहिलो, १६१ मिटरको दोस्रो र १३० मिटर दूरीको तेस्रो बाइपास सुरुङ निर्माण गरिएको छ, जसको केही समयअघि ‘ब्रेक थ्रु’ भइसकेको छ ।
तस्बिरहरू : माधव अर्याल/कान्तिपुर
मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । सिद्धबाबा सुरुङ मार्ग आयोजनाका अनुसार अहिलेसम्म समग्र निर्माणको भौतिक ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत छ । उक्त खण्डमा २ हजार ३ सय ९८ मिटरमा सडक सुधारको काम गरिनेछ ।
यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ । त्यस्तै सुरुङ बाहिर पहिरो झर्ने खण्डमा रक सेट निर्माण गरिने छ । जसको दूरी ७ सय ८० मिटर छ । सुरुङ निर्माण गरिएको क्षेत्रमा ढुंगा खसे तल झर्ने गरी ओरालो पारेर सिमेन्टेड रक सेट बनाइने छ । कत्रो ढुंगा झर्छ र त्यसलाई धान्न सक्ने/नसक्ने सबै विषयलाई आधार मानेर रक सेटको डिजाइन गरिएको आयोजानको भनाई छ ।
यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले लिएको हो । ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ हो । यो नागढुंगा–सिस्नेखोला सुरुङ मार्गभन्दा अग्लो हुनेछ । जमिनदेखि यसको उचाइ ९.२ मिटर हुनेछ । नागढुंगा–सिस्नेखोला सुरुङको उचाइ ८.२ मिटर छ । डिजाइनअनुसार भेन्टिलेसनका लागि १५ वटा जेट फ्यान जडान गरिने छ ।
यता नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ ०८१ वैशाख ३ मा भएको हो । अहिलेसम्म सुरुङ भित्रको काम पनि सकिएको छैन, सवारी साधन पनि गुड्न पाएका छैनन । ‘ब्रेक थ्रु गर्नेबित्तिकै सबै काम नसकिने र पहिलो चरणको सुरुङ खन्ने काम मात्र सकिने आयोजनाको भनाई छ । निर्माणमा कुनै समस्या आइनपरे आउँदो ०८२ असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङमार्गबाट सवारीसाधन ओहरदोहर गर्ने छन् । त्यसो त यसको निर्माण ०७६ कात्तिक ४ मा थालिएको हो । अहिलेसम्म ८५ प्रतिशत प्रगति भएको छ ।
उक्त सुरुङको दूरी २ हजार ६ सय ८८ मिटर छ । यो सुरुङको ‘ब्रेक थ्रु’ पछि सपोर्टिङ, कंक्रिटिङ, लाइनिङ, भेन्टिलेसन, पक्की सडक निर्माण लगायतका काम भए । केही काम सकिए र केही काम जारी छन् । निर्माणको अन्तिम चरणका कामहरू भइरहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । ‘पटक–पटकको स्थानीयहरूको अवरोधले गर्दा पनि समयमै काम सक्न समस्या भएको हो,’ उनले भने, ‘अहिले काम गर्न समस्या छैन,त्यसैले तोकिएको समयमा सक्नेगरी काम भइरहेको छ ।’
त्यस्तै बलम्बुस्थित किसिपिडीबाट सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म सडकको दूरी २.३०७ किमि छ । अहिले दुई लेनमा तेस्रो तहमा सडक कालोपत्रको काम भइरहेको छ । फ्लाइओभर निर्माणको काम पनि अन्तिम चरणमा रहेको उनको भनाइ छ । सुरुङ ‘ब्रेक थ्रु’ भएपछि बल्ल सुरक्षासम्बन्धी मुख्य कामहरूको सुरु हुने सडक विभागका पूर्वसहसचिव नरेशमान शाक्यले बताए ।
‘सुरुङ भित्र दैनिक हजारौं सवारी साधन ओहरदोहर गर्छन,’ उनले भने, ‘त्यसैले कुनै दुर्घटना हुन नदिने गरी लाइटिङ, भेन्टिलेसनलगायतका काम व्यवस्थित रूपमा गर्नु पर्छ, जसले सुरुङ सञ्चालनमा आउन समय लाग्ने गरेको छ ।’
