काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशको बचाउ गर्दै सरकारले अध्यादेशका माध्यमबाट कानून संशोधन गरेर अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्न चाहेको बताएका छन् ।
आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएका अध्यादेशहरूप्रति निजी क्षेत्र सकारात्मक रहेको समेत दाबी गरे । उनले भने, ‘निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरूलाई सकारात्मक रुपमा लिएको छ ।’
उनले अहिलेको सरकारहरूको सूचीमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताउँदै सरकार विशेष परिस्थितिमा बनेको बताए । उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने पनि बताए । उनले भने, ‘यो सरकारले जुन अभिभारा आफ्नो काँधमा लिएको छ । त्यसबाट पछि छुट्ने छुट यो सरकारलाई छैन ।’
पौडेलले शिथिलतालाई क्रियाशिलता र गतिशिलतामा बदल्नुपर्ने भन्दै त्यसका लागि सरकारले आवश्यक कदमहरू चाल्ने बताए । ‘जुन प्रकारको निराशा, शिथिलता, हतोत्साही मनोविज्ञान यो सरकार बन्दाको अवस्थामा प्राप्त गरेका थियौँ, त्यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्छ । निराशालाई आशामा बदल्नुपर्छ,’ उनले भने ।
उपप्रधानमन्त्री पौडेलले राजश्व संकलनमा सहयोगी भुमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गर्दै राजश्व चुहावट, अनियमितताका प्रवृत्तिहरूलाई निरुत्साहीत गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरूलाई निर्देशित गर्न आग्रह गरे ।
