विमानस्थलछेउ खुल्यो चारतारे ‘बेस्ट वेस्टर्न प्लस’

१ अर्ब ५० करोड रुपैयाँ लगानी, विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य

माघ १२, २०८१

विवेक पोख्रेल

Four-star ”Best Western Plus” opened near the airport

काठमाडौँ — अमेरिकी ब्रान्डसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई छेउ पारेर काठमाडौंको पिंगलास्थानमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस’ सञ्चालनमा आएको छ । ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल पशुपतिनाथको मन्दिरनजिकै रहेको यो होटल विमानस्थल र धार्मिक एवं पर्यटकीय स्थल गौशालाबाट नजिक पर्छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले बुधबार होटल उद्घाटन गरे । अतिथिका रूपमा आउने मान्छेहरूले सँगै हाम्रा लागि समृद्धि र पुँजी लिएर आउने उनले बताए । ‘अतिथिहरू खर्च गर्न आउँछन्, त्यो हाम्रा लागि लगानी हो । हामीले उनीहरूलाई राम्रो आतिथ्य र सत्कार दिएर रोजगारी र लगानी बढाउन सकिन्छ,’ उनले भने । 

शैक्षिक क्षेत्रमा कहलिएको केएमसी ग्रुपका संस्थापकले अमेरिकी ब्रान्डसँग सहकार्य गरेर बेस्ट वेस्टर्न प्लस सञ्चालनमा ल्याएका हुन् । नेपालमा ‘बेस्ट वेस्टर्न प्लस’ को ब्रान्ड होटल यो नै पहिलो रहेको केएमसी ग्रुपका अध्यक्ष रामेश्वर अर्यालले जनाए । विश्वभरका पाहुनालाई नेपालको न्यानो स्वागत र संस्कृति देखाउन आफूहरू आतुर रहेको उनको भनाइ छ । 

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरबाट पैदल यात्रामै होटल रहेकाले बेस्ट वेस्टर्न प्लसले चाँडै बजारमा स्थापित हुने विश्वास छ,’ उनले भने, ‘होटलले युरोप, अमेरिका, अस्ट्रेलियालगायत मुलुकका पर्यटकसँगै पशुपतिका दर्शन गर्न आउने भारतीयलाई दर्शनार्थीलाई पनि आकर्षित गराउने उनले जनाए । 

होटलमा ४ सुइट, ७ प्रिमियम, १२ सुपर डिलक्स, ६१ डिलक्ससहित ८४ वटा रुम, दुई रेस्टुराँ, क्याफे, रुफटप रेस्टुराँ र बार, दुई बहुउद्देश्यीय हल, हेल्थ क्बल, स्पा, स्टिम, साउना र स्विमिङ पुल रहेको अर्यालले बताए । होटल सञ्चालनमा आउन १ अर्ब ५० करोड रुपैयाँ लागेको उनको भनाइ छ । पब्लिक लिमिटेड कम्पनीअन्तर्गत रहेको होटललाई चाँडै नै आईपीओमा लैजानेसमेत योजना रहेको अर्यालले बताए । होटलमा अहिले १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully