काठमाडौँ — भान्सामा नभई नहुने खाद्यवस्तु हो, तेल । मानव स्वास्थ्यका लागि पनि यो अत्यावश्यक छ । सर्वसाधारणले भान्सामा तोरी, भटमास, सूर्यमुखीलगायत तेल प्रयोग गर्छन् । सर्वसाधारणले दिनहुँ उपभोग गर्ने तेलको गुणस्तरमा भने सधैं प्रश्न उठ्ने गरेको छ- हामीले कस्तो तेल खाँदै छौं ? खाने तेलमा मिसावटभन्दा पनि उचित व्यवस्थापन र वितरण प्रक्रिया नमिल्दा गुणस्तरमा प्रश्न उठेको विज्ञहरूको राय छ ।
उद्योगले उत्पादन गरेको अधिकांश तेल उच्च गुणस्तरको भए पनि डिलर, वितरक हुादै खुद्रा पसलसम्म आइपुग्दा भण्डारण प्रक्रिया नमिल्ने, मिसावट हुनेलगायत कारण खान अयोग्य हुने गरेको उत्पादकहरूको दाबी छ । तेलको गुणस्तर सम्बन्धमा सचेतना फैलाउने उद्देश्यले कान्तिपुर दैनिकले गत सोमबार आयोजना गरेको ‘राउन्ड टेबल’ मा सरोकारवालाले राखेको विचारको सम्पादित अंश :
परम्परागत खानपिनमा फर्किऔं
डा. अनिल भट्टराई, मुटु रोग विशेषज्ञ
खाने तेलको गुणस्तर र मुटुको स्वास्थ्यसँग कस्तो सम्बन्ध छ भन्ने विषयमा धेरै अनुसन्धान भएका छन् । नेपालमा भने धेरै अनुसन्धान हुँदैनन्, त्यही भएर त्यति थाहा हुँदैन ।
फ्याट तीन किसिमका हुन्छन्— स्याचुरेटेड, अनस्याचुरेडेट र ट्रान्सफ्याट । त्यसमा स्वास्थ्यका लागि नराम्रो भनेको स्याचुरेटेड र ट्रान्सफ्याट हुन् । स्याचुरेटेड फ्याट विशेषगरी जनावरको फ्याटमा पर्छ । जस्तै, दूधबाट बन्ने उत्पादन । ट्रान्सफ्याटमा तारेको र भुटेको खानेकुरा पर्छन् । यसले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हाम्रो मुटुलाई असर गरिरहेको हुन्छ ।
किनभने तिनीहरूले हाम्रो शरीरमा एलडीएल कोलेस्ट्रोल बढाउँछन् । यो रक्तनली र मुटुका लागि हानिकारक मानिन्छ । नराम्रो कोलेस्ट्रोल बढेपछि त्यसले राम्रोखाले कोलेस्ट्रोल अर्थात् एचडीएल (हाइडेन्सिटी लिपिड) लाई घटाउँछ । अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुन्छ– मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड । त्यसमा विशेषगरी वनस्पतिबाट बनेको ओलिभ, एभोकाडो र नट्सबाट बनेका तेल स्वास्थ्यका लागि लाभदायक मानिन्छन् ।
जनावरबाट बनेका फ्याटमा हामी धेरै भर पर्यौं । यसमा हाम्रो अनस्याचुरेटेड फ्याट खाने बानी बस्यो । हामीले एन्टिअक्सिडेन्ट, भेजिटेबल फ्रुट्स, मासु कम खाने भएकाले सन्तुलन छ । तर अहिले अनस्याचुरेटेड खाने ट्रेन्ड छँदै छ । त्यसमा ट्रान्सफ्याट पनि जोडियो । त्यसले गर्दा खाने तरिका पछिल्लो समय अझ अस्वस्थकर बनेको हो ।
इटालीमा पिज्जालाई जंक फुड मानिँदैन । तर हाम्रोमा पिज्जा जंक फुड हो । किनभने हामीले त्यसलाई कसरी बनाइरहेका छौं, महत्त्वपूर्ण छ । उनीहरूले हरेक खानामा ओलिभ तेल राखेर खान्छन् । त्यो चलन हाम्रोमा छैन । बिस्तारै आउन थालेको छ ।
हरेक व्यक्ति आफ्नो स्वास्थ्यका लागि आफैं जिम्मेवार हो । त्यसपछि मात्र अरू जिम्मेवार हुन्छन् । हाम्रो खानपिनमा कम्तीमा अनस्याचुरेटेड फ्याट भनेको के हो र यो कसरी अस्वस्थकर छ भनेर चर्चा हुन जरुरी छ । त्यसपछि बाँकी कुरामा गुणस्तर नियन्त्रण गर्नुपर्छ । खराब तेलका कारण मुटुमा समस्या हुन्छ ।
हामीले जति पनि मुटुको शल्यक्रिया गर्छौं, ती बिरामीको इतिहास हेर्दा धेरै मासु प्रयोग गर्ने, रातो मासु धेरै खाने, धेरै तारेको र भुटेको खाने गरेको पाउँछौं । मुटुको शल्यक्रिया गर्नेहरूमा कर्नर हार्ट डिजिज देखिन्छ । त्यसमा बढी मासु खाने अर्थात् स्याचुरेटेड फ्याट र ट्रान्सफ्याट खाने पर्छन् । दक्षिण भारतीय शाकाहारी छन् । उनीहरू ८० प्रतिशत शाकाहारी छन् । उनीहरूलाई कर्नर हार्ट डिजिज एकदमै धेरै छ । कारण सुगर र यही ट्रान्सफ्याट हो । उनीहरू फ्राई गरेको र भुटेको धेरै खान्छन् । यी कुरालाई सकेसम्म हटाएर पुरानो परम्परागत खानपिनमा फर्किऊँ ।
तेल शरीरका लागि आवश्यक कुरा हो । हाम्रो शरीरले सबैभन्दा धेरै कार्बोहाइड्रेट र क्यालोरी खपत गर्छ । शरीरले गर्ने नियमित कामका लागि तेल एकदमै आवश्यक हो । यसमा कोही मान्छे तर्सेर तेलै नखाने पनि हुन्छन् । कहिलेकाहीँ कस्तो बिरामी पर्नु हुन्छ भने नुन कम खानुहोला भन्दा नुन नै नखाने हुन्छन् । अनि जँचाउन आउँदा तीन महिना भयो डाक्टरसाप नुन नै खाएको छैन भन्नुहुन्छ । उहाँहरूमा फेरि सोडियम कम देखिन्छ । पहिला हामी मासुको झोल बनाएर खान्थ्यौं । बिस्तारै यसलाई तारेर खानेतिर हाम्रो चलन बढेको छ । मासुको बार्बिक्युबमा गएका छौं । यी विविध कारणले स्वास्थ्यमा समस्या निम्त्याएका छन् ।
वितरण र भण्डारण प्रक्रिया नमिल्दा गुणस्तरमा ह्रास आउन सक्छ
- सोमकान्त रिजाल, उपमहानिर्देशक
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
तेल विष होइन, शरीरलाई चाहिने अत्यावश्यक पोषण तत्त्व हो । तेल नभई हाम्रो शरीर स्वस्थ हुन सक्दैन । पोषणका लागि घिउ–तेल चाहिन्छ, खानुपर्छ ।
तेल कति खाने, यो भने महत्त्वपूर्ण छ । विज्ञानले जुनसुकै वस्तु डोज मिलाएर खान भन्छ । मिलाएर खान जाने शरीरलाई फाइदा पुग्छ, ओभरडोज भए हानि गर्छ । हामीले खाने दूध पनि धेरै खाए विष हुन्छ । एक पटक फ्राई गर्न प्रयोग भइसकेको तेल पटक–पटक प्रयोग गर्दा ट्रान्सफ्याट् बन्ने जोखिम हुन्छ । अनुगमनमा त्यो पनि देखिएको छ । तेल पटक–पटक प्रयोग गरिएको छ । उत्पादनकर्ताले राम्रो तेल उत्पादन गरे पनि प्रयोगका क्रममा पटक–पटक प्रयोग गरेर खान अयोग्य बनाइन्छ ।
बजारमा खाने तेल खानयोग्य भए–नभएको दुई तरिकाबाट विवेचना गर्न सकिन्छ । एउटा, उद्योगीले तेलमा मिसावट गर्ने व्यवस्था । जस्तै महँगोमा सस्तो तेल मिसावट गर्ने गुनासो छ । अर्को, तेल त्यत्तिकै राख्दा पनि केही बिग्रन्छ । स्थिर कुनै पनि खाद्य वस्तु छैन । निश्चित समयपछि बिग्रन्छ ।
तेलको वितरण र भण्डारण प्रक्रिया नमिल्दा गुणस्तरमा पनि ह्रास आउन सक्छ । उद्योगीले ठग्ने नियत राखेर मिसावट गरेको हुन्छ । अर्कोतिर, तेलको प्याकेजिङ र भण्डारण नमिले गुणस्तर राम्रो हुँदैन । वितरण र भण्डारण प्रणाली राम्रो हुन जरुरी छ । वातावरणका कारण पनि गुणस्तरमा ह्रास आउने हुन्छ ।
विगतमा तेलमा धेरै मिसावट हुन्थ्यो । १५/२० वर्षअघिको तथ्यांक हेर्दा एउटा तेलमा अर्को तेल मिसावट गरेको धेरै पाएका छौं । अहिले पनि त्यो छैन भन्न सकिन्न । केही मिसावटका घटना छन् । तर विगतको तुलनामा कम छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा तेलका ४५ नमुना संकलन गरेका थियौं । ६ वटामा कैफियत देखिएको छ ।
अहिले मिसावटभन्दा पनि उचित व्यवस्थापन (ढुवानी र भण्डारण) र वितरणको समस्या देखिएको छ । पीभीको विषय पनि आउँछ । काठमाडौं महानगरपालिकाले चाउचाउमा गरेको अनुगमन (तेल) मा एभी भ्यालु बढी आयो । वास्तवमा एभी र पीभी भ्यालुमा देखिएको समस्या ह्यान्डलिङ राम्रो भएन । प्याकेजिङ नराम्रो भएको हुन सक्छ ।
राम्रो तेल घाममा राख्दा १५ दिनपछि गन्हाउँछ । खान नहुने हुन्छ । सूर्यले तेललाई अक्सिडेसन गरिदिन्छ । केमिकल अनस्टेबल हुन्छन् । बजारमा अनुगमन गर्दा सनफ्लावर, सोयाबिनमा समस्या देखिन्छ । किनभने त्यसको राम्रोसँग
ह्यान्डिल गरिएको हुँदैन, अक्सिडाइज हुन्छ । तेल अक्सिडाइज भएलगत्तै पेरोक्साइड भ्यालु बढ्छ । एसिड भ्यालु बढ्छ । यही विषयलाई हेरेर सरकारले रिफाइन गरेको तेलको मापदण्ड तोकेको छ । मापदण्डअनुसार पेरोक्साइड भ्यालु १० भन्दा बढी हुनु हुँदैन । एसिड भ्यालु ०.५ भन्दा बढी हुनु भएन । सरकारले तोकेको मापदण्डभन्दा बढी हुनेबित्तिकै त्यो तेल खानु हुन्न ।
पछिल्लो समय राज्यप्रति नागरिकको अविश्वास बढ्दो छ । त्यसलाई चिरफार गर्न राज्यको भूमिका हुनुपर्छ । तर पनि हामीले क्षमता र स्रोतले भ्याएसम्म काम गरेका छौं । खाद्य सुरक्षाको काम गरेर सर्वसाधारणलाई खुसी बनाउने जिम्मेवारी पाएका छौं । आफ्नो दायित्व पूरा गर्न प्रयत्न गरिरहेका छौं ।
म्याद नाघेको सामान जनता सचेत भएको ठाउँमा देखिँदैन । तर गाउँ, पहाड र विकट क्षेत्रमा यस्ता सामानको बिगबिगी छ । म्याद नाघ्ने अवस्थामा गाउँ–पहाडमा पठाउने पद्धति नै छ । यसमा उद्योगीहरू सचेत हुनुपर्छ । राज्यको निकाय मात्रै लागेर बजार स्वच्छ हुन सक्दैन । नागरिक पनि जागरुक हुनुपर्छ ।
शंका लागे निःशुल्क परीक्षण गरिदिन्छौं
- राजन पौडेल
महानिर्देशक, वाणिज्य आपूर्ति तथा
उपभोक्ता संरक्षण विभाग
तेलको आपूर्ति कसरी नियमित गर्ने भन्नेमा हामी सचेततापूर्वक लागेका छौं । दसैं–तिहारमा धेरैजसो तेलको अभाव हुन्छ, त्यस बेला आपूर्तिलाई सहज बनाउने काम चुनौतीपूर्ण छ । तेलको गुणस्तरबारे नमुना संकलन गरेर खाद्य प्रविधिमा पठाउने गरेका छौं । कुनै पनि तेलको नमुना संकलन गर्नुपरे वाणिज्यले परीक्षण गराउँछ । सर्वसाधारणले कुनै तेलमा शंका गरे विभागले परीक्षणका लागि सहयोग गर्छ । तेलको गुणस्तरका विषयमा पनि हाम्रो चासो छ । मूल्यका विषयलाई पनि हामी हेर्छौं । तेल उत्पादक संघसँग हरेक महिना मूल्य मागेका हुन्छौं । विगतमा तेलको मूल्य प्रतिकार्टुन २६ सय रुपैयाँ पुगेको थियो । घटेर १८ सय रुपैयाँमा आयो । अहिले फेरि बढेर २३ सय रुपैयाँ पुगेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २१ ले कुनै पनि उत्पादकले खुद्रा मूल्य राख्न पाउँछन् । अधिकतम मूल्य तोक्दा लाग्ने कच्चा पदार्थ, प्रशासनिक खर्च, राजस्व र थोरै मुनाफा राख्न पाइन्छ । यस आधारमा विभागले आपूर्ति कसरी सहज गर्ने र मूल्य निर्धारण कसरी गर्ने भन्ने विषयमा खोजिरहेको छ ।
हामीले वितरण प्रक्रियामा मात्रै तेल गुणस्तरहीन भयो भन्न मिल्दैन । सबै पाटोमा केही न केही कमजोरी हुन सक्छ । पछिल्ला दिनमा तेलको गुणस्तर मापन गर्ने ल्याब जडान भएका छन् । सरकारीबाहेक निजीसँग ८ वटा ल्याब छन् । परीक्षणका लागि खाद्यमै जानुपर्छ भन्ने पनि भएन । सरकारबाट मान्यता प्राप्त अन्य ल्याब पनि खुलेका छन् । त्यहाँ पनि परीक्षण गर्न सकिन्छ । नियामक निकायले गुणस्तर परीक्षण गरेलगत्तै व्यवसायी सचेत हुन्छन् । उपभोक्ता पनि केही सचेत भएकै छन् । सचेत भएकै कारण उनीहरूले गुणस्तरमा प्रश्न, चासो गरेका छन् । तर विभागले गरेको काममा अझै असन्तुष्टि छ ।
संघीयतामा गएको मुलुकमा सबै तहमा संघबाट अनुगमन सम्भव हुँदैन । हामी तीन तहको सरकारमा छौं । यस अर्थमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई उपमेयर वा उपाध्यक्षको संयोजकत्वमा अनुगमन गर्ने अधिकार सुम्पिएको छ । त्यस आधारमा उहाँहरूले पनि अनुगमन गर्न सक्नु हुन्छ । तर उपाध्यक्षले त्यहाँ भएका साना किराना पसललाई कारबाही गर्न सक्ने अवस्था रहन्न । राजनीतिक हिसाबले पनि । त्यही भएर विभागले हरेक स्थानीय तहका प्रशासकीय अधिकृतलाई बजार अनुगमनको अधिकार प्रत्यायोजन गरिएको छ ।
स्वास्थ्यसँग जोडिएको विषय भएकाले प्रयोगमा सचेत बनौं
- माधव तिमल्सिना
अध्यक्ष, उपभोक्ता अधिकार अनुसन्धान मञ्च
नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपयोग गर्ने अधिकार दिएको छ । तर त्यसलाई कार्यान्वयन गर्न कुनै निकायको भूमिका प्रभावकारी देखिएको छैन ।
मेरो भान्सामा आएको तेल कतै मन्द विष त होइन भन्ने डर उपभोक्तामा छ ? होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, फास्टफुडलगायत ठाउँमा पटक–पटक एउटै तेलमा पकाएर दिनु सामान्य भइसक्यो । किनभने मुटुको बिरामी बढेको बढ्यै छन् । यसमा तेल एउटा कारण हुन सक्छ ।
जबसम्म हाम्रा उत्पादक जिम्मेवार बनाउने र नागरिकमा सचेतना बढाउने काममा राज्यको भूमिका कमजोर हुँदा खाद्यको गुणस्तरमा गम्भीर प्रश्न उठेको छ । यसमा सबैलाई नभनौं, अधिकांशको गुणस्तरमा गम्भीर प्रश्न उठेको छ । वस्तुको गुणस्तर मूल्यले कायम गर्ने हो । उसले आफ्नो गुणस्तर स्थिर कायम गर्न सकेको छ, मिसावट गरेको छैन भने राम्रो । तर सबैतिर यसरी ‘फेयर’ काम भएको छ जस्तो लाग्दैन । हामी पूर्ण रूपमा तेस्रो मुलुकमा भर छौं । हामीले विभिन्न तेल आयात गरेका छौं । कस्तो तेल आयात गरेका छौं ? यो गम्भीर विषय हो ।
कुनै ठाउँमा मान्यता पाएको उत्पादनलाई हामीले सजिलै प्रमाणपत्र दिएका छौं र नेपालमा ल्याउन अनुमति दिइरहेका छौं । यो प्रक्रियामा सुधार गर्नुपर्ने अवस्था छ । यसमा विभागको मात्र नभई अब संघीय, प्रदेश र स्थानीय तहको भूमिकासमेत जोडिन्छ किनभने स्थानीय तहमा स्थानीय उद्योग सञ्चालनमा छन् । ती कतिपय उद्योग कानुनी प्रक्रियामा पनि आएका छैनन् ।
कुनै व्यक्तिले व्यक्तिगत रूपमा तेलको गुणस्तर ल्याबमा लगेर जाँच गर्न सक्दैन । यहाँ व्यक्तिलाई कहाँदेखि ल्याइस् ? के गरिस् ? राजस्वदेखि लिएर खाद्यको नमुना परीक्षण गर्ने प्रक्रिया नै कानुनले सीमा तोकिदिएको छ । मैले एउटा तेल लिएर जाँदै गर्दा त्यसको रिपोर्ट प्राप्त गर्न नसक्ने अवस्था छ ।
हाम्रोमा मूल्यमा वृद्धि भयो भनेर धेरै बहस भए । गुणस्तरको विषय नितान्त प्राविधिक विषय हो । यो आम नागरिकको भविष्यसँग जोडिएको विषय भएकाले हामीले गुणस्तरमा नियमन गर्नुपर्छ । हामीले तेल कति मात्रामा खानेभन्दा पनि हामीले खाइरहेको तेल कस्तो गुणस्तरको छ ? कुन ब्रान्डको भन्दा कुन तेल ठीक/बेठीक, कुनमा मिसावट छैन आदि विषयलाई ख्याल गर्नुपर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समय–समयमा बजारका अत्यावश्यकका सामग्रीमा मिसावटका विषयमा जानकारी दिनुपर्छ । वस्तु ठीक छ भने ठीक र सुधार गर्नुपर्छ भने त्यो विभिन्न सामाजिक सञ्जालमार्फत सुचित गराउनुपर्छ । गुणस्तरमा ठीक छैन भने राज्यले बहिष्कारसमेत गर्नुपर्छ । उपभोक्ता संरक्षण ऐन छ तर त्यसको प्रभावकारी कार्यान्वयन भएजस्तो लाग्दैन ।
कति मात्रामा प्रयोग गर्ने हो, ध्यान दिनुपर्छ
- सुप्रिया भट्टराई, पोषणविद्
खानामा म्याक्रो र माइक्रोन्युट्रियन्स हुन्छ । हाम्रो शरीरलाई म्याक्रो धेरै चाहिन्छ, जसमा कार्बोहाइड्रेट, प्रोटिन र फ्याट पर्छ । यससँगै क्यालोरीको कुरा पनि आउँछ । हरेक क्षण हामीले काम गर्दा शरीरको क्यालोरी सकिइरहेको हुन्छ । धेरैजसो क्यालोरी दिने माइक्रोन्युट्रियन्सले हो । तेल क्यालोरी दिने तत्त्वमा पर्छ । कार्बोहाइड्रेट चामलले दिन्छ ।
हामीले प्रयोग गर्ने तेलबारे धेरै अध्ययन–अनुसन्धान भएका छन् । अब कुन तेल खाने र कुन नखाने भन्ने प्रश्न यसमा महत्त्वपूर्ण छ । अहिले मकहाँ ‘म तेल खान्नँ, घिउ मात्र खान्छु’ भन्ने पनि आउनु हुन्छ । घिउमा पनि स्याचुरेटेड फ्याट हुन्छ । यसमा २० प्रतिशत ‘मुफा’ हुन्छ । त्यही भएर मात्रा एकदम महत्त्वपूर्ण हुन जान्छ । मैले कुन तेल प्रयोग गरौं भनेर सोध्नेहरू धेरै हुनुहुन्छ । यहाँ गुणस्तर पनि सँगसँगै जोडिन्छ । हामी भनिरहेका हुन्छौं– यो तेल खानू, त्यो नखानू । तर कुन खाने आफ्नो छनोटको विषय हो तर कति मात्रामा खाने भन्ने कुरा महत्त्वपूर्ण हो । राम्रो तेल खानुभयो तर धेरै खानुभयो भने पनि त्यसले राम्रो गर्दैन ।
हाम्रो नेपाली खाना पकाउने तरिकामा झान्ने प्रवृत्ति बढी छ । यसमा ओलिभको तेल राम्रो मानिन्छ । मैले एउटा अध्ययन हेरेकी थिएँ । त्यो अध्ययनमा एक महिनामा ५ सय एमएल तेल प्रयोग गर्नुपर्छ भनेर लेखिएको छ । यो
कसरी सम्भव होला हाम्रोमा ? त्यसैले तपाईंहरूले कुन खानेकुरा केमा पकाइरहनुभएको छ भनेर ख्याल गर्नुहोला ।
भोज गर्दै हुनुहुन्छ भने रिफाइन तेल प्रयोग गर्नुहोला । सलाद खाने हो भने ओलिभ तेल प्रयोग गर्नुहोस् । नरिवलको तेल प्रयोग गर्नेहरू पनि हुनुहुन्छ । डिप फ्राई हरेक दिन खानुभयो भने तपाईंको मुटुलाई हानि गर्छ ।
मैले आफैंले प्रयोग गरिरहेको तरिका भनेको ‘रोटेसन अफ आयल’ हो । म तीन–तीन महिनामा प्रयोग गरिरहेको तेल परिवर्तन गर्छु । सानैदेखि तोरीको तेल प्रयोग गर्ने भएकाले सधैं तोरीको तेल हुन्छ । तोरीको तेलमा एउटा एसिड हुन्छ, अमेरिका र युरोपमा त्यही प्रयोग गर्न दिइँदैन । हामी यहाँ पहिलेदेखि तोरीको तेल प्रयोग गरिरहेका हुन्छौं । तोरीको तेलको फाइदा भनेको यसलाई फ्राई र झान्न मिल्छ । मैले तीन महिना तोरीको प्रयोग गरें भने अर्को महिना रिफाइन तेल प्रयोग गर्छु । म अब मोटाएँ, स्वस्थ भएन भने ओलिभको तेल प्रयोग गर्छु ।
ट्रान्सफ्याट स्वास्थ्यका लागि ठीक होइन । अब के गर्ने ? सकेसम्म तेलमा पूरै फ्राई भएको खानेकुरा नखानु नै बेस । बाहिर खाजा खाँदा तेलमा तारेको र भुटेको खानेकुरा नखानुहोस् । बाहिर पटक–पटक प्रयोग गरिएको तेलमा पकाइएको खाना खाने र घरमा स्वस्थ खानेकुरा व्यवस्थापन गरेर हुँदैन ।
गुणस्तरमा सम्झौता गरेका छैनौं
- विकास दुगड
अध्यक्ष, नेपाल वनस्पति घिउतेल उत्पादक संघ
हामीले उत्पादन गरेको खाने तेल अन्तर्राष्ट्रियस्तरको छ । हामीले कच्चा पदार्थ ल्याउँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निरीक्षण गर्छ । भन्सारमा पनि परीक्षण हुन्छ । आयात भएपछि उद्योगीले रिफाइन गर्छन् । बजारमा पठाउनुअघि तेल खाद्य प्रविधिमा परीक्षण गराउँछौं । त्यसैले हाम्रो उत्पादन अन्तर्राष्ट्रिय बजारमा उत्पादन हुने तेलसरह छ ।
तेल उत्पादनका क्रममा सम्झौता गरेका छैनौं । तेल उत्पादन गर्ने उपकरण नयाँ प्रविधियुक्त राखेका छौं । गुणस्तरमा पनि कहिल्यै सम्झौता गरेका छैनौं, गर्दैनौं पनि । उद्योगबाट तेल उत्पादन भएपछि तेलको पेरोक्साइड भ्यालु १ प्रतिशतभन्दा कमै हुन्छ । यसमा सबैभन्दा महत्त्वपूर्ण भण्डारण हो । घाममा स्टोर गर्नु भएन । सुक्खा ठाउँमा भण्डारण गर्नुपर्छ । हामीले हरेक प्याकिङमा त्यो उल्लेख गरेका छौं ।
सही तरिकाले भण्डारण गरे ९ महिनासम्म पेरोक्साइड भ्यालु बढ्दैन । उत्पादन खाद्य प्रविधिबाट परीक्षण गरेर मात्रै पठाउँछौं । हाम्रो मेसिन पनि अन्तर्राष्ट्रियस्तरकै छ । हामीले बजारमा कसरी पठाउँछौं र कसरी भण्डारण हुन्छ, त्यसले मुख्य भूमिका खेल्छ । त्यसकारण हरेक प्याकेटमा जानकारीमूलक सूचना राखेका हुन्छौं । त्यो हेर्दा संघमा आबद्ध सबै साथीहरूले गुणस्तरीय तेल नै उत्पादन गर्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारबाट क्रुड तेल (कच्चा तेल) आयात गर्दा परीक्षण गरेर मात्र भन्सारबाट निस्कन्छ ।
कच्चा पदार्थमा पनि समस्या भएन । हामीले रिफाइन गरेर बजारमा पठाउँदा पनि परीक्षण गरेरै बजारमा निस्कन्छ । गुणस्तर नभए बजारमा पठाउँदैनौं । सबै तेल उद्योगको आफ्नो ल्याब पनि छ । उत्पादन भएपछि उद्योगमा पनि परीक्षण गरिन्छ । गुणस्तर नभए बजारमा जाँदैन ।
उद्योगीहरूले मिहिनेत गरेर एउटा ब्रान्ड बनाएका छन्, उनीहरूले न्यून प्रकारका तेल बजारमा पठाएर आफ्नो ब्रान्ड खराब गर्न चाहन्नन् । बजारमा पठाउँदा राम्रो तेल नै पठाउँछन् । बजारमा हुने सानो गल्तीको दोष उद्योगीलाई आउँछ । केही ठाउँमा भण्डारणको समस्या हुन सक्छ । हरेक क्षेत्रमा उद्योगी जान सक्दैनन् ।
तेल उद्योगमा अर्बौं रुपैयाँ लगानी छ । रोजगारी दिएका छौं । हामी पनि न्यून गुणस्तरको तेल उत्पादन गरेर बिक्री गर्न चाहन्नौं । कुनै दिन कसैले परीक्षण गरिहाल्छन् । गलत उत्पादन भए ब्रान्डलाई असर गर्छ । उत्पादन भएको मितिले ९ महिनासम्म तेल ढुक्क भएर प्रयोग गर्न सकिन्छ ।
