सडक सञ्जालमा जोडिँदै हिमाल पारीको लप्ची

माघ ११, २०८१

केदार शिवाकोटी

Lapchi across the mountains connecting to the road network

पवटी, दोलखा — चीनसँग सीमा जोडएको हिमालपारीको गाउँ लप्ची सडक सञ्जालमा जोडिने भएको छ । सरकारले उत्तर–दक्षिण लोकमार्गको स्रोत सुनिश्चत गरेसँगै लप्ची सडक सञ्जालमा जाडिन लागेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले लोकमार्गका लागि बहुवर्षीय ठेक्का लगाउन २० करोड रुपैयाँ स्रोत सुनिश्चत गरेको छ ।

स्रोत सुनिश्चित भएसँगै चीन, नेपाल र भारत जोडने त्रिदेशिय सडक बन्ने पक्का भएको हो । मोहत्तरीसँग सीमा जोडिएको भारतको भित्तामोडदेखि लामावगर हुँदै चीनसीमा लप्चीसम्म २ सय ४८ किलोमिटर दुरी रहेको छ । जसमध्ये भित्तामोडदेखि लामावगरसम्म २ सय ३६ किलोमिटर सडक सञ्जाल बनिसकेको छ ।

त्यसमध्ये हाल भित्तामोडदेखि दोलखाको सिंगटीसम्म कालोपत्र सडक छ । यस्तै सिंगटीबाट लामावगरसम्म ग्रावेल सडक यातायात संचालन भैरहेको छ । चीनसँग सीमा जोडिएको लप्चीसम्म १२ किलोमिटर सडकमध्ये हाल ७ किलोमिटर ट्र्याक खुलिसकेको छ । थप ५ किलोमिटर ट्र्याक खुलाईएपछि चीन, नेपाल र भारत जोडने छोटो दुरीको सडक संचालनमा आउने डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठले बताए ।

‘सडक विभागले उत्तर–दक्षिण लोकमार्गका लागि २० करोड स्रोत सुनिश्चित गरेको पत्र पठाएको छ,’ उनले भने, ‘स्रोत सुनिश्चित भएकाले बहुबर्षिय ठेक्का लगाउने तयारी थालेका छौं, लप्ची जोडने उत्तरतर्फको ५ किलोमिटर सडक प्राथमिकतामा राखेका छौं ।’ यो लोकमार्ग निमार्णपछि चीनको न्यालम काउन्ट्रीसँग र भारतको बिहारसँग सिधा सडक संजाल विस्तार हुने छ । कुनै समयको व्यापारिक मार्ग रहेको फलाक र लप्चीबाट चिनियाँ व्यापारिबाट हुने कारोबारका लागि लमावगरमा भन्सार कार्यालय राखिएको थियो । हाल उक्त कार्यालय लामावगरमा भएपनि कर्मचारी भने छैनन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अर्न्तगत सडक विभागका महानिर्देशक रामहरी पोखरेलले त्रिदेशिय सडक भएकाले स्रोत सुनिश्चित गरिएको बताए । ‘यो निकै महत्वपूर्ण लोकमार्ग हो, यस्ले भारत र चीनलाई सडक संजालले नजिकबाट जोडछ्,’ उनले भने, ‘ट्र्याक खुलाउन धेरै बाँकी नरहेकाले अर्को बर्षसम्म सीमासम्म सडक जोडिने छ ।’

स्रोत सुनिश्चित भएको बजेटले सीमातर्फको सडक ट्र्याक खुलाईने उनले बताए । यो लोकमार्गले मधेस प्रदेशको राजधानी जनकुपरलाई चीनसँगको सडक संजालमा जोडनेछ् । मधेस प्रदेशका लागि व्यापारिक लगायत अन्य परियोजनका लागि उत्तर–दक्षिण लोकमार्ग विकल्प खुल्ला हुने छ ।

चरिकोट–मुडे सडकमा स्रोत जुटाउँदै विभाग

समयमा कालोपत्रे नगरेपछि निमार्ण कम्पनीलाई कालो सूचीमा राखे ठेक्का तोडिएको लामासाँघु–जिरी सडक अन्तर्गत मुडे– चरिकोट खण्डको पुर्नस्थापनाका लागि डिभिजन सडक कार्यालयले स्रोत सुनिश्तिा गरिदिन सडक विभागलाई आग्रह गरेको छ ।दोलखाको लाईफलाईन मानिए उक्त सडक पुरा नहुँदा पर्यटन लगायका गतिविधी प्रभावित बनेका कारण सडक पुर्नस्थाापनाका लागि आग्रह गरिएको प्रमुख श्रेष्ठले बताए ।

गएको असोज १२/१३ गतेको बाढीले विपि राजमार्ग क्षति गर्दा यो राजमार्ग प्रयोगमा आएको थियो । ‘विपि राजमार्गको वैकल्पिक सडकका रुपमा प्रयोगमा आएको सडक हो, तर ठेक्का तोडिएपछि पुर्नस्थापना हुन सकेको छैन,’उनले भने, महत्वपूर्ण सडक भएकाले स्रोत सुनिश्चिता गरिदन भनेका छौं ।’

बाढीका कारण पुष्पलाल राजमार्ग अर्न्तगत मालुखोला किर्नेटार र उत्तरतर्फको चरिकोट सिंगटी सडक खण्डको झमार्सी सडक पुनर्निमाणका लागि विभागलाई पत्र पठाएको उनले बताए । ‘बाढीका कारण कर्निेटारमा ९ सय मिटर सडक बगाएको छ, त्यसको डिपिआर बनिरहेको छ,’उनले भने, ‘झमार्सीमा पनि विज्ञ टोली आएर अध्ययन गरिसकेकाछन्, स्रोत सुनिश्चिता गरिदिन भनेका छौं ।’

मालु किर्नेटार सडक विपि राजमार्गको वैकल्पिक सडकसमेत रहेको उनले बताए । चरिकोट–मुडे सडक पुर्नस्थापनाका लागि स्रोतको खोजि भैरहेको विभागका महानिर्देशक पोखरेलले बताए । विपि राजमार्गको मालुखोला–किर्नेटार र झमार्सीका लागि पनि स्रोत सुनिश्तिा गरिने उनले बताए । ‘बाढीले क्षति गरेका सडक पुनर्निमाण गर्न विभाग स्रोत सुनिश्चता गर्न लागि परेको छ, उनले भने, ‘विपदबाट क्षति भएका सडक निमार्ण पहिलो प्राथमिकतामा राखेका छौं ।’ गएको असोजको बाढीका कारण विकल्प बनेका राजमार्गलाई विषेश प्राथमिकता राखेर बजेट सुनिश्चता गरिने उनले बताए ।

केदार शिवाकोटी

Link copied successfully