डेटा एक्सचेन्ज प्लाटफर्म बनाउने जिम्मेवारी थप
काठमाडौँ — सार्वजनिक सेवा प्रवाह र सरकारी काम कारबाहीमा विद्युतीय प्रणालीको प्रयोगलाई प्रवर्द्धन गर्न भन्दै सरकारले दुई वर्षअघि स्थापना गरेको विद्युतीय सुशासन आयोग अब ‘ई–गभर्नेन्स बोर्ड’ मा परिणत भएको छ । बोर्डलाई डेटा एक्सचेन्ज प्लाटफर्म बनाउन सरकारले जिम्मेवारी थपिदिएको छ ।
यो प्लाटफर्म नहुँदा सरकारका सूचना प्रणाली एक–आपसमा अन्तरआबद्ध नभएको र निकायपिच्छे विवरण बुझाउनुपर्ने झन्झट रहेको भन्दै सरकारले डेटा एक्सचेन्ज प्लाटफर्म स्थापना गरेर त्यसलाई नागरिक एपसँग आबद्ध गर्न बोर्डलाई जिम्मेवारी दिएको छ ।
सरकारले विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९ मा पहिलो संशोधन गर्दै आयोगको नाम र संरचना परिवर्तन गरेको हो । माघ ७ मा राजपत्रमा प्रकाशित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचनाअनुसार गठन तथा सञ्चालन आदेशको दफा २ मा संशोधन गर्दै आयोगको सट्टा अब बोर्ड हुने व्यवस्था गरिएको छ ।
मूल आदेशको दफा ३ मा रहेको आयोगको गठन, बैठक तथा काम, कर्तव्य र अधिकारको व्यवस्था झिकिएको छ । यसको ठाउँमा ‘सरकारी निकायमा सञ्चालन हुने विद्युतीय प्रणालीलाई सुरक्षित बनाई विद्युतीय सुशासन कायम गर्न बोर्ड गठन हुने’ व्यवस्था राखिएको छ ।
साबिकको संरचनामा प्रधानमन्त्री अध्यक्ष र सञ्चारमन्त्री उपाध्यक्ष हुने व्यवस्था हुँदा प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक सञ्चालन र समय व्यवस्थापनमा समस्या हुने गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव फणीन्द्र गौतमले जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनअनुसार आयोगलाई बोर्डमा रूपान्तरण गरिएको उनले बताए । ‘सबै सरकारी संयत्रको अपरेसनल लेभलको काम ब्युरोक्रेसीले गर्ने भएकाले ई–गभर्नेन्स बोर्डको नेतृत्व मुख्य सचिवले गर्नु उपयुक्त हुने प्रधानमन्त्रीज्यूको भनाइ थियो,’ गौतमले भने ।
बोर्डको काम, कर्तव्य र अधिकारमा पनि विद्यमान केही व्यवस्था हटाएर केही थप गरिएको छ । बोर्डले संघ, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्था, निजी क्षेत्र तथा शैक्षिक क्षेत्रबीच अन्तरआबद्धताको लागि डेटा एक्सचेन्ज प्लाटफर्म स्थापना गर्ने र नागरिक एपसँग आबद्ध गरी लागू गराउने जिम्मेवारी पाएको छ ।
सरकारी सूचना प्रणालीहरूमा देखिएको मुख्य समस्या नै तिनको अन्तरआबद्धता नहुनु रहेको सचिव गौतम बताउँछन् । ‘हाल हाम्रा सूचना प्रणालीहरू छुट्टाछुट्टै रूपमा सञ्चालनमा छन्, जसका कारण तिनको प्रभावकारिता सीमित छ,’ उनले भने, ‘कुनै डेटा चाहिए हरेक निकायले नयाँ डेटा खोज्नुपर्ने अवस्था छ । नागरिकलाई पनि निकायपिच्छे आफ्ना डेटा बुझाउनुपर्ने झन्झट छ ।’
डेटा एक्सचेन्ज प्लाटफर्ममार्फत सरकारी निकायका प्रणालीलाई आपसमा जोड्ने इन्टरफेस निर्माण गरेर अन्तरक्रियात्मक बनाउने लक्ष्य राखिएको उनले बताए । यो प्लाटफर्मले ग्रासरुट स्तरबाट सञ्चालित प्रणालीलाई केन्द्रीय रूपमा जोड्न मद्दत गर्ने र सूचनाको आदान–प्रदानलाई सहज बनाउने अपेक्षा छ ।
मूल आदेशको दफा ७ को २ (ज) मा संशोधन गर्दै सकारकारी वा अन्य विद्युतीय प्रणालीको सुरक्षा, विद्युतीय प्रणालीको परीक्षण, सूचना प्रविधि सुरक्षा सूचकांकसमेतका विषयमा अध्ययन गरी नेपाल सरकारलाई सुझाव दिने जिम्मेवारी बोर्डलाई छ । बोर्डमा नेपाल सरकारका मुख्य सचिव अध्यक्ष र बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सदस्य सचिव रहने उल्लेख छ ।
साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका शासकीय मामिला हेर्ने सचिव, अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवसँगै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सदस्य रहनेछन् ।
बोर्डका सीईओको नियुक्तिका विषयमा पनि सरकारले परिमार्जन गरेको छ । सीईओ नियुक्तिका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिवको संयोजकत्वमा सञ्चार मन्त्रालयका सचिव र बोर्डले तोकेको ई–गभर्नेन्ससम्बन्धी विज्ञ सदस्य रहेको समिति गठन गरिने उल्लेख छ । सीईओ हुन सूचना प्रविधिसम्बन्धी विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी कुनै विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको, सूचना प्रविधि क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव भएको, ६० वर्ष उमेर पूरा नभएको लगायत सर्त छन् ।
सीईओका लागि राष्ट्रियस्तरको पत्रिका र बोर्डको वेबसाइटमा सूचना राखी दरखास्त आह्वान गरिने, दरखास्त दिएका मध्ये योग्य व्यक्तिलाई विभिन्न आधारमा मूल्यांकन गरी सबैभन्दा बढी अंक ल्याउने तीन जनालाई नियुक्तिका लागि समितिले सरकारसमक्ष सिफारिस गर्ने पहिलो संशोधनमा उल्लेख छ ।
