म्याद नाघ्न लागेका सामान पहाड र गाउँतिर पठाउने प्रवृत्ति छ : रिजाल

माघ १०, २०८१

कान्तिपुर संवाददाता

There is a tendency to send expired goods to the mountains and villages: Rizal

काठमाडौँ — अहिले खाने तेलमा मिसावटभन्दा पनि उचित व्यवस्थापन (ढुवानी र भण्डारण) र वितरणको समस्या देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालले बताएका छन् । कान्तिपुर दैनिकले सोमबार आयोजना गरेको 'कस्तो छ खाने तेलको गुणस्तर ?’ विषयक अन्तरक्रियामा उनले व्यक्त गरेका विचार :

तेल विष होइन, शरीरलाई चाहिने अत्यावश्यक पोषण तत्त्व हो । तेल नभई हाम्रो शरीर स्वस्थ हुन सक्दैन । पोषणका लागि घिउ–तेल चाहिन्छ, खानुपर्छ ।

तेल कति खाने, यो भने महत्त्वपूर्ण छ । विज्ञानले जुनसुकै वस्तु डोज मिलाएर खान भन्छ । मिलाएर खान जाने शरीरलाई फाइदा पुग्छ, ओभरडोज भए हानि गर्छ । हामीले खाने दूध पनि धेरै खाए विष हुन्छ । एक पटक फ्राई गर्न प्रयोग भइसकेको तेल पटक–पटक प्रयोग गर्दा ट्रान्सफ्याट् बन्ने जोखिम हुन्छ । अनुगमनमा त्यो पनि देखिएको छ । तेल पटक–पटक प्रयोग गरिएको छ । उत्पादनकर्ताले राम्रो तेल उत्पादन गरे पनि प्रयोगका क्रममा पटक–पटक प्रयोग गरेर खान अयोग्य बनाइन्छ ।

बजारमा खाने तेल खानयोग्य भए–नभएको दुई तरिकाबाट विवेचना गर्न सकिन्छ । एउटा, उद्योगीले तेलमा मिसावट गर्ने व्यवस्था । जस्तै महँगोमा सस्तो तेल मिसावट गर्ने गुनासो छ । अर्को, तेल त्यत्तिकै राख्दा पनि केही बिग्रन्छ । स्थिर कुनै पनि खाद्य वस्तु छैन । निश्चित समयपछि बिग्रन्छ ।

तेलको वितरण र भण्डारण प्रक्रिया नमिल्दा गुणस्तरमा पनि ह्रास आउन सक्छ । उद्योगीले ठग्ने नियत राखेर मिसावट गरेको हुन्छ । अर्कोतिर, तेलको प्याकेजिङ र भण्डारण नमिले गुणस्तर राम्रो हुँदैन । वितरण र भण्डारण प्रणाली राम्रो हुन जरुरी छ । वातावरणका कारण पनि गुणस्तरमा ह्रास आउने हुन्छ ।

विगतमा तेलमा धेरै मिसावट हुन्थ्यो । १५/२० वर्षअघिको तथ्यांक हेर्दा एउटा तेलमा अर्को तेल मिसावट गरेको धेरै पाएका छौं । अहिले पनि त्यो छैन भन्न सकिन्न । केही मिसावटका घटना छन् । तर विगतको तुलनामा कम छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा तेलका ४५ नमुना संकलन गरेका थियौं । ६ वटामा कैफियत देखिएको छ ।

अहिले मिसावटभन्दा पनि उचित व्यवस्थापन (ढुवानी र भण्डारण) र वितरणको समस्या देखिएको छ । पीभीको विषय पनि आउँछ । काठमाडौं महानगरपालिकाले चाउचाउमा गरेको अनुगमन (तेल) मा एभी भ्यालु बढी आयो । वास्तवमा एभी र पीभी भ्यालुमा देखिएको समस्या ह्यान्डलिङ राम्रो भएन । प्याकेजिङ नराम्रो भएको हुन सक्छ ।

राम्रो तेल घाममा राख्दा १५ दिनपछि गन्हाउँछ । खान नहुने हुन्छ । सूर्यले तेललाई अक्सिडेसन गरिदिन्छ । केमिकल अनस्टेबल हुन्छन् । बजारमा अनुगमन गर्दा सनफ्लावर, सोयाबिनमा समस्या देखिन्छ । किनभने त्यसको राम्रोसँग ह्यान्डिल गरिएको हुँदैन, अक्सिडाइज हुन्छ । तेल अक्सिडाइज भएलगत्तै पेरोक्साइड भ्यालु बढ्छ । एसिड भ्यालु बढ्छ ।

यही विषयलाई हेरेर सरकारले रिफाइन गरेको तेलको मापदण्ड तोकेको छ । मापदण्डअनुसार पेरोक्साइड भ्यालु १० भन्दा बढी हुनु हुँदैन । एसिड भ्यालु ०.५ भन्दा बढी हुनु भएन । सरकारले तोकेको मापदण्डभन्दा बढी हुनेबित्तिकै त्यो तेल खानु हुन्न ।

पछिल्लो समय राज्यप्रति नागरिकको अविश्वास बढ्दो छ । त्यसलाई चिरफार गर्न राज्यको भूमिका हुनुपर्छ । तर पनि हामीले क्षमता र स्रोतले भ्याएसम्म काम गरेका छौं । खाद्य सुरक्षाको काम गरेर सर्वसाधारणलाई खुसी बनाउने जिम्मेवारी पाएका छौं । आफ्नो दायित्व पूरा गर्न प्रयत्न गरिरहेका छौं ।

म्याद नाघेको सामान जनता सचेत भएको ठाउँमा देखिँदैन । तर गाउँ, पहाड र विकट क्षेत्रमा यस्ता सामानको बिगबिगी छ । म्याद नाघ्ने अवस्थामा गाउँ–पहाडमा पठाउने पद्धति नै छ । यसमा उद्योगीहरु सचेत हुनुपर्छ । राज्यको निकाय मात्रै लागेर बजार स्वच्छ हुन सक्दैन । नागरिक पनि जागरुक हुनुपर्छ । 

कान्तिपुर

Link copied successfully