उपभोक्तालाई मैले प्रयोग गरेको तेल मन्दविष त होइन भन्ने डर छ : तिमल्सिना

माघ १०, २०८१

कान्तिपुर संवाददाता

Consumers are afraid that the oil I use is not Mandavish: Timalsina

काठमाडौँ — मेरो भान्सामा आएको तेल कतै मन्दविष त होइन भन्ने डर उपभोक्तामा रहेको र होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, फास्टफुडलगायत ठाउँमा पटक–पटक एउटै तेलमा पकाएर दिनु सामान्य भइसक्यो उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताएका छन् । कान्तिपुर दैनिकले सोमबार आयोजना गरेको 'कस्तो छ खाने तेलको गुणस्तर ?’ विषयक अन्तरक्रियामा उनले व्यक्त गरेका विचार :

नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपयोग गर्ने अधिकार दिएको छ । तर त्यसलाई कार्यान्वयन गर्न कुनै निकायको भूमिका प्रभावकारी देखिएको छैन ।

मेरो भान्सामा आएको तेल कतै मन्दविष त होइन भन्ने डर उपभोक्तामा छ । होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, फास्टफुडलगायत ठाउँमा पटक–पटक एउटै तेलमा पकाएर दिनु सामान्य भइसक्यो । किनभने मुटुको बिरामी बढेको बढ्यै छन् । यसमा तेल एउटा कारण हुन सक्छ ।

जबसम्म हाम्रा उत्पादक जिम्मेवार बनाउने र नागरिकमा सचेतना बढाउने काममा राज्यको भूमिका कमजोर हुँदा खाद्यको गुणस्तरमा गम्भीर प्रश्न उठेको छ । यसमा सबैलाई नभनौं, अधिकांशको गुणस्तरमा गम्भीर प्रश्न उठेको छ । वस्तुको गुणस्तर मूल्यले कायम गर्ने हो । उसले आफ्नो गुणस्तर स्थिर कायम गर्न सकेको छ, मिसावट गरेको छैन भने राम्रो । तर सबैतिर यसरी ‘फेयर’ काम भएको छ जस्तो लाग्दैन । हामी पूर्ण रूपमा तेस्रो मुलुकमा भर छौं । हामीले विभिन्न तेल आयात गरेका छौं । कस्तो तेल आयात गरेका छौं ? यो गम्भीर विषय हो ।

कुनै ठाउँमा मान्यता पाएको उत्पादनलाई हामीले सजिलै प्रमाणपत्र दिएका छौं र नेपालमा ल्याउन अनुमति दिइरहेका छौं । यो प्रक्रियामा सुधार गर्नुपर्ने अवस्था छ । यसमा विभागको मात्र नभई अब संघीय, प्रदेश र स्थानीय तहको भूमिकासमेत जोडिन्छ किनभने स्थानीय तहमा स्थानीय उद्योग सञ्चालनमा छन् । ती कतिपय उद्योग कानुनी प्रक्रियामा पनि आएका छैनन् ।

कुनै व्यक्तिले व्यक्तिगत रूपमा तेलको गुणस्तर ल्याबमा लगेर जाँच गर्न सक्दैन । यहाँ व्यक्तिलाई कहाँदेखि ल्याइस् ? के गरिस् ? राजस्वदेखि लिएर खाद्यको नमुना परीक्षण गर्ने प्रक्रिया नै कानुनले सीमा तोकिदिएको छ । मैले एउटा तेल लिएर जाँदै गर्दा त्यसको रिपोर्ट प्राप्त गर्न नसक्ने अवस्था छ ।

हाम्रोमा मूल्यमा वृद्धि भयो भनेर धेरै बहस भए । गुणस्तरको विषय नितान्त प्राविधिक विषय हो । यो आम नागरिकको भविष्यसँग जोडिएको विषय भएकाले हामीले गुणस्तरमा नियमन गर्नुपर्छ । हामीले तेल कति मात्रामा खानेभन्दा पनि हामीले खाइरहेको तेल कस्तो गुणस्तरको छ ? कुन ब्रान्डको भन्दा कुन तेल ठीक/बेठीक, कुनमा मिसावट छैन आदि विषयलाई ख्याल गर्नुपर्ने भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समय–समयमा बजारका अत्यावश्यकका सामग्रीमा मिसावटका विषयमा जानकारी दिनुपर्छ । वस्तु ठीक छ भने ठीक र सुधार गर्नुपर्छ भने त्यो विभिन्न सामाजिक सञ्जालमार्फत सुचित गराउनुपर्छ । गुणस्तरमा ठीक छैन भने राज्यले बहिष्कारसमेत गर्नुपर्छ । उपभोक्ता संरक्षण ऐन छ तर त्यसको प्रभावकारी कार्यान्वयन भएजस्तो लाग्दैन । 

कान्तिपुर संवाददाता

Link copied successfully