पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

माघ १०, २०८१

रासस

37 billion revenue collection from petroleum products

वीरगन्ज (पर्सा) — चालु आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको छ महिनामा ४२ अर्ब २४ करोड रुपैयाँ बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व दाखिला भएको छ । 

चालु आवको छ महिनामा आठ अर्ब नौ करोड रुपैयाँ बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट एक अर्ब एक करोड रुपैयाँ तथा ३६ करोड २० लाख रुपैयाँ बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ । 

आव २०८०/८१ को छ महिनामा ८८ अर्ब ७८ करोड रुपैयाँ बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

रासस

Link copied successfully