‘बैंकहरू कर्जा असुलीको दबाबमा’

माघ ९, २०८१

कान्तिपुर संवाददाता

”Banks under pressure to recover loans”

काठमाडौँ — पछिल्ला महिनामा बैंकहरू कर्जा विस्तार र असुलीको दबाबमा रहेको बैंकरहरूले बताएका छन् । ब्याजदर निरन्तर घटिरहेको, कर्जा–निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) साँघुरिँदै गए पनि कर्जा विस्तार र ऋण असुलीमा अप्ठ्यारो भइरहेको उनीहरूको भनाइ छ ।

वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिन नेपाल बैंकर्स संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकरहरूले अहिले आफूहरूलाई नीतिगत सहजता चाहिएको बताए ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले कार्यपत्र प्रस्तुत गर्दै लामो समयदेखि वित्तीय प्रणालीमा अधिक तरलता रहेकाले अहिले स्प्रेड दर साँघुरिँदै गएको समयमा पनि कर्जा विस्तार गर्न गाह्रो भइरहेको बताए । 

हाल बैंकहरूले कायम गरेको पुँजी कोष अन्तर्राष्ट्रिय मापदण्डभन्दा करिब २/३ प्रतिशत बिन्दुले धेरै रहेकाले केही समयका लागि नियामक निकायले त्यो नीतिगत व्यवस्थामा लचिलो बन्नुपर्नेमा बैंकर्स संघका उपाध्यक्ष एवं ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले जोड दिए ।

‘अहिलेको जटिल अवस्थामा पुँजी कोषसम्बन्धी व्यवस्थामा राष्ट्र बैंक केही लचिलो भइदिनुपर्छ,’ उनी भन्छन्, ‘अहिले पनि अन्तर्राष्ट्रिय बैंकहरूको भन्दा हामीले २ देखि ३ प्रतिशत बढी पुँजी कोष अनुपात राखिरहेका छौं । यसकारण अप्ठ्यारो अवस्थामा राष्ट्र बैंकले केही सहज व्यवस्था गरिदिनुपर्छ ।’ 

दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जा केही बढे पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको रेग्मीको भनाइ छ । ‘बैंकहरूको खराब कर्जा ४ प्रतिशतभन्दा माथि भए पनि खुद खराब कर्जा ३ प्रतिशतभन्दा कम भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने । गएका पाँच महिनामा बैंकहरूबाट अपेक्षित रूपमा कर्जा विस्तार बढ्न नसकिरहेका बेला गत पुसमा वाणिज्य बैंकहरूबाट मात्र ९० अर्बभन्दा बढी कर्जा विस्तार भएको थियो । तर माघ पहिलो साताभित्र फेरि २० अर्ब रुपैयाँले कर्जा घटेकाले कर्जाको दिगो विस्तारमा आशंका उत्पन्न भएको उनको भनाइ छ । 

बैंकहरू आफैं अप्ठ्यारोसँग जुधिरहेका बेला बैंकिङविरुद्ध भइरहेका गतिविधिले झनै समस्या थपेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जनाए ।

‘पछिल्लो समय कर्जा असुलीका लागि जाने बैंकका कर्मचारीहरूमाथि केही समूहले हातपात गर्ने गरेका छन् । तर स्थानीय तहबाट अपेक्षित रूपमा सुरक्षा तथा सहयोग पाइएको छैन,’ कोइरालाले भने, ‘खराब कर्जा बढेको, अपेक्षित रूपमा कर्जा विस्तार र असुली हुन नसकिरहेको लगायत कारणले अर्थतन्त्रको अवस्था राम्रो नभएको प्रत्यक्ष संकेत बैंकहरूको वित्तीय अवस्थामा देखिएको छ ।’ 

अर्थतन्त्रको अवस्था, कर्जा माग बढ्न नसक्नु, कर्जा असुलीमा धेरै दबाबलगागत विभिन्न कारणले बैंकको वित्तीय अवस्था प्रभावित भएको उनले बताए ।

कान्तिपुर

Link copied successfully