बैंकहरूको नाफा घट्यो, खराब कर्जा बढ्यो

वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ४.३६ प्रतिशतले ऋणात्मक, ११ बैंकको नाफा बढ्यो, ९ वटाको घट्यो

माघ ८, २०८१

यज्ञ बञ्जाडे

Profits of banks decreased, bad loans increased

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ४.३६ प्रतिशतले ऋणात्मक भएको छ । अर्थतन्त्रमा आर्थिक गतिविधि चलायमान हुन नसक्दाको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थामा परेको हो ।

गएका ६ महिनाका ब्याज आयमा कमी, खराब कर्जा बढ्दै गएको र खराब कर्जाबापतको नोक्सनी व्यवस्था बढेकाले बैंकहरूको नाफा प्रभावित भएको बैंकहरूले जनाएका छन् । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० वाणिज्य बैंकको खुद नाफा २७ अर्ब ४३ करोड ७० लाख रुपैयाँ छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८ अर्ब ६८ करोड ८३ लाख मुनाफा आर्जन गरेका थिए । सञ्चालनमा रहेका २० मध्ये ९ वाणिज्य बैंकको नाफामा घटेको छ भने ११ बैंकले बढाएका छन् । अर्थतन्त्र चलायमान बन्न नसक्दा निर्माण व्यवसायीको भुक्तानीमा समस्या भएको, साना तथा मझौला व्यवसायीहरूको व्यवसाय प्रभावित भएकोलगायत कारण बैंकिङ क्षेत्रमा असुलीमा समस्या छ ।  

खराब कर्जा बढेको, अपेक्षित रूपमा कर्जा विस्तार र असुली हुन नसकिरहेको लगायत कारणले अर्थतन्त्रको अवस्था राम्रो नभएको प्रत्यक्ष संकेत बैंकहरूको वित्तीय अवस्थामा देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जनाए । ‘अर्थतन्त्रको अवस्था, कर्जा माग बढ्न नसक्नु, कर्जा असुलीमा धेरै दबाबलगागत विभिन्न कारणले बैंकको वित्तीय अवस्था प्रभावित भएको छ,’ उनले भने, ‘अहिले मुख्यगरी बैंकहरूलाई कर्जा असुलीको दबाब छ ।’ 

गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको खराब कर्जा उल्लेख्य रूपमा बढेको छ । जसअनुसार गत पुससम्म बैंकहरूको औसत खराब कर्जा ४.३३ प्रतिशत छ । गत आर्थिक वर्षको पहिलो पुससम्म बैंकहरूको खराब कर्जा ३.२७ प्रतिशत थियो । 

खराब कर्जा बढ्नुको कारण धेरै भए पनि मुख्य रूपमा अर्थतन्त्रमा देखिएको शिथिलता प्रमुख भएको जानकारको भनाइ छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जा भाका नाघे पनि गत मंसिरसम्म खराब कर्जामा राख्नु नपर्ने र ऋणी पनि कालोसूचीमा रहनु नपर्ने सुविधा दिएको थियो । यो सुविधाको म्याद मंसिर मसान्तपछि सकिएको छ । मंसिरयता निर्माण व्यवसायीलाई प्रवाह गरेको भाखा नाघेको कर्जालाई पनि बैंक तथा वित्तीय संस्थाले खराब कर्जाबापतको व्यवस्था गर्नुपरेको छ । यसकारण बैंकहरूको खराब कर्जा बढेको बैंकहरूले बताएका छन् । यद्यपि पछिल्लो समय राष्ट्र बैंकले कर्जा पुनःतालिकीकरण र पुनर्संरचनामा पनि कडाइ गरेको छ त्यसको असर पनि बैंकहरूको खराब कर्जा बढेको उनीहरूको भनाइ छ । 

आर्थिक अवस्थाका कारणले खराब कर्जाबापतको नोक्सानी व्यवस्था बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले स्विकारे । गत पुससम्ममा चार वटा बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा बढी पुगेको छ । १८ वटाको ४ प्रतिशतभन्दा माथि छ । धेरै बैंकको खराब कर्जा बढेको छ, दुईवटाको मात्र घटेको छ । यसले बैंकहरूलाई कर्जाको गुणस्तरमा सुधार गर्नुपर्ने चुनौती दिएको पौडेलले जनाए । 

जबसम्म बैंकहरूसँग निक्षेप फिर्ता दिन सक्ने क्षमता रहन्छ, त्यति बेलासम्म खराब कर्जा बढ्दैमा डराइहाल्नुपर्ने हुँदैन । अहिलेसम्म सबै वाणिज्य बैंकहरूको नगद सम्पत्ति राष्ट्र बैंकको निर्देशित सीमाभन्दा बढी नै छ । ‘अहिले धेरै बैंकहरूको वितरणयोग्य नाफा घटेको छ भने केहीको ऋणात्मक नै छ । खराब कर्जाबापत नोक्सानी व्यवस्था गर्नुपरेकाले वितरणयोग्य नाफा घटेको हो । खराब कर्जा असुली भएलगतै आजको नोक्सानीबापतको व्यवस्था वितरणयोग्य मुनाफामा आइहाल्छ,’ पौडेलले भने । 

अझै पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशनबमोजिम नोक्सानी व्यवस्था नगरेर नाफा देखाएका रहेछन् भने निरीक्षण र सुपरिवेक्षणका क्रममा सूक्ष्म रूपमा हेरिने पौडेलले बताए । पछिल्लो समय कर्जा लगानीमा विस्तार हुँदै गएकाले अर्थतन्त्रमा क्रमिक रूपमा सुधार आउन थालेको देखिन्छ । यसले खराब कर्जामा पनि सुधार आउन सक्ने अपेक्षा बैंकरहरूको छ । पुससम्म ३ अर्ब २४ करोड ४३ लाख खुद नाफा आर्जन गरेर नबिल बैंकले सबैभन्दा बढी 

नाफा कमाउने बैंक बनेको छ । ३ अर्ब ५ करोड ३५ लाख नाफा कमाएको पुग्दा ग्लोबल आईएमई बैंक दोस्रो बढी नाफा कमाउने बैंक बनेको छ ।

यज्ञ बञ्जाडे बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully