‘खाने तेलमा मिसावटभन्दा बढी व्यवस्थापनमा समस्या’

मिसावट, फितलो नियमन, आपूर्ति प्रणालीमा समस्या, जनचेतनाको अभाव, अज्ञानतालगायत कारण पनि तेलको गुणस्तरमा प्रश्न 

माघ ८, २०८१

कान्तिपुर संवाददाता

”Problem in management more than adulteration in edible oil”

काठमाडौँ — उपभोक्ताले दैनिक उपभोग गर्ने खाने तेलमा मिसावटभन्दा पनि उचित व्यवस्थापन र वितरण प्रक्रिया नमिल्दा गुणस्तरमा प्रश्न उठेको छ । उद्योगले उत्पादन गरेको अधिकांश तेल उच्च गुणस्तरको भए पनि डिलर, वितरक हुँदै खुद्रा पसलसम्म आइपुग्दा भण्डारण प्रक्रिया नमिल्ने, मिसावट हुनेलगायत कारण खान अयोग्य हुने गरेको सरोकारवाला एवं विज्ञको भनाइ छ । 

कान्तिपुर दैनिकले सोमबार आयोजना गरेको ‘कस्तो छ खाने तेलको गुणस्तर ?’ विषयक अन्तर्क्रियामा विज्ञ एवं सरोकारवालाले फितलो नियमन, आपूर्ति प्रणालीमा समस्या, जनचेतनाको अभाव, अज्ञानतालगायत कारण पनि तेलको गुणस्तरमा प्रश्न उठेको बताए ।  

‘तेल आफैंमा विष होइन, शरीरलाई चाहिने पोषणतत्त्व हो । तर कति मात्रामा खाने भन्ने महत्त्वपूर्ण विषय हो, धेरै खाए विष हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार शरीरलाई दैनिक चाहिने क्यालोरीमध्ये २० देखि ३५ प्रतिशत घिउतेलबाट आपूर्ति हुन्छ,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालले भने, ‘सबै वस्तुको आयु हुन्छ । प्याकेजिङ र वितरण प्रणाली राम्रो नहुँदा तेलको गुणस्तर आयु स्वतः घट्छ । वातावरणको कारणले पनि आयु घट्छ, एसिड भ्यालु बढ्छ ।’ 

१५/२० वर्षअघि महँगो तेलमा सस्तो तेल मिसाएर बेच्न प्रचलन थियो । सोयाबिन तेलमा कलर राखेर तोरीको तेल जस्तै बनाइन्थ्यो । ‘र, महँगो मूल्यमा बिक्री गरिन्थ्यो,’ रिजालले भने, ‘अहिले पनि त्यो भन्न सकिँदैन । तर मिसावट घटेको छ ।’ 

बजारमा केही जटिलता देखिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जनाए । खुद्रा पसलमा मुसा मार्ने औषधिदेखि तेलसम्म बिक्री हुने गरेको उनले सुनाए । ‘गुणस्तरमा उपभोक्ता सचेतनाको पनि कमी छ । आपूर्तिको चुस्त बनाउने, भण्डारणको पाटोमा राम्रो बनाउने र नियमन गर्ने वाणिज्यको काम हो,’ उनले भने, ‘हामीले तेलको नमुना संकलन गरेर परीक्षण गरेका छौं । सरकारीसँगै निजी क्षेत्रसँग पनि प्रयोगशाला छ । त्यहाँ परीक्षण गर्न सकिन्छ । परीक्षण गर्दा उद्योगी आफैं पनि सचेत हुन्छन् ।’

नामै नसुनेका ब्रान्डका तेल गाउँगाउँमा बिक्री भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । गुणस्तरको हकमा सरकार निर्मम हुन जरुरी भएको उनको भनाइ छ । ‘होटल होस् या रेस्टुरा एउटै तेलमा पटक/पटक खाने कुरा तारेर बिक्री गरिन्छ,’ उनले भने, ‘सर्वसाधारणमा दिनहुँ रोग बढ्दो छ, त्यो पनि खानपानसँग जोडिन्छ । बजारमा पाइने तेल ठीक छ भन्ने अवस्था रहेन ।’

‘तेलको गुणस्तर ठीक छ भन्ने कुनै आधार छैन । धेरैजसो ब्रान्डमा केही न केही केमिकल मिश्रित हुन्छ । तर सरकारी नियमन फितलो छ । नमुना परीक्षण गरे पनि २/३ दिनसम्म रिपोर्ट आउँदैन,’ उनले भने, ‘बजारमा विषाक्त वस्तुको नियन्त्रण भएको छैन । उद्योगीको दायित्व अन्तिम उपभोक्तासम्म हुन्छ । बिक्रेता पनि सचेतना गर्न जरुरी छ ।’

राजमार्गका धेरैजसो होटल व्यवसायीले पटक/पटक प्रयोगमा आएको तेल खपत गर्ने गरेको मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले दाबी गरे । यसले रक्तनली र मुटुलाई धेरै हानि गर्ने उनको भनाइ छ । ‘तेल आवश्यक छ । हामीले खाने मात्राको कुरा मात्रै हो । आधारभूत मापदण्ड लागू गरेर खाने तेल प्रयोग गर्दा स्वास्थ्यका लागि राम्रो हो,’ उनले भने, ‘फ्राई गरिएको खाना सकेसम्म कम गरौं ।’ 

खाने तेल क्यालोरीसँग जोडिएको पोषणविद् सुप्रिया भट्टराईले बताइन् । ‘तेलमा अत्यावश्यक फ्याट भएकाले इनर्जी दिन्छ, त्यही भएर फ्याट पनि चाहिन्छ,’ उनले भनिन्, ‘रह्यो कुन तेल खाने ? कुन तेल खानेभन्दा कति मात्रा र कसरी खाने महत्त्वपूर्ण हो ।’ 

यता नेपाल वनस्पति घिउतेल उत्पादक संघका अध्यक्ष विकास दुगडले भने संघमा आबद्ध उद्योगीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार तेल उत्पादन गर्दै आएको दाबी गरे । ‘तेल उत्पादन गरेपछि उद्योगी स्वयंले पनि परीक्षण गर्छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि परीक्षण गर्छ । उत्पादित तेलको ब्याच लिएर खाद्यमा परीक्षण हुन्छ । परीक्षण फेल भए बजारमा पठाउँदैनौं,’ अध्यक्ष दुगडले भने, ‘उद्योगीहरूले अर्बौंको लगानी गरेका छन्, रोजगारी दिएका छन् । कुनै पनि उद्योगीले न्यून गुणस्तरको तेल निकाल्न चाहँदैनन् ।’

कान्तिपुर संवाददाता

Link copied successfully