कोरियाको अर्थतन्त्रमा आएको संकुचनले श्रमिकको माग खुम्चियो : विशेष दूत

माघ ८, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण कोरियाको विदेश मन्त्रालयका विशेष दूत ली जियोङ्क्युले कोरियाको अर्थतन्त्रमा संकुचन आएकोले श्रमिकको नयाँ माग खुम्चिएको जनाएका छन् ।

नेपाल भ्रमणमा आएका कोरियन विशेष दूत लियोङ्क्युले बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग शिष्टाचार भेट गर्दै अर्थतन्त्रमा संकुचन आउँदा रोजगारदाताबाट नयाँ श्रमिकको भर्नामा गिरावट आएको बताएका हुन् ।

‘कोरियाले १६ वटा स्रोत देशमध्ये सबैभन्दा बढी प्राथमिकता नेपाललाई दिएको छ । नेपाली श्रमिकको मिहिनेत, इमानदार र लगनशिलताको कारण रोजगारदाताको छनोटमा नेपाली नै प्राथमिकतामा पर्दै आइरहेका छन्,’ उनले श्रममन्त्री भण्डारीसमक्ष भने, ‘अहिले अर्थतन्त्रमा संकुचन आउँदा श्रमिकको माग खुम्चिएको छ । केही समयपछि रोजगारदाताले नयाँ श्रमिक माग गर्ने संख्यामा वृद्धि हुनेछ ।’

नेपालले रोजगार अनुमति प्रणाली (ईपीएस)को भाषा परीक्षा उत्तीर्ण भई रोस्टरमा बसेकालाई छिटो लैजान कोरिया सरकारलाई अनुरोध गर्दै आइरहेको छ । कोरियाले ईपीएसको रोस्टरमा भएकालाई कम संख्यामा भर्ना गरिरहेको छ । साथै, भाषा परीक्षामा उत्तीर्ण भएकाहरु कोरिया जाने अपेक्षामा वर्षौंदेखि पर्खिरहेका छन् ।

श्रममन्त्री भण्डारीले नेपाली श्रमिकलाई प्राथमिकतामा राखेकोमा कोरियन सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाली श्रमिकको लागि ईपीएसमा थप कोटाहरु बढ्ने अपेक्षा राखेको बताए । कोरियाले २०२४ को लागि उत्पादन क्षेत्रका लागि १९ सय थप कोटा छुट्याएको थियो । ‘ईपीएस प्रणाली एउटा सफल अभ्यास हो । यसलाई सफल बनाउन दुवै पक्षको मिहिनेत देखिन्छ,’ उनले भने,‘परीक्षा उत्तीर्ण गर्नेहरूको लागि लामो समयसम्म पर्खाइको अवधिले केही असहजता भने निम्त्याएको छ ।’

भण्डारीले नेपालबाट दक्ष श्रमिक (ई–७ भिसा)को रुपमा नेपालीलाई कोरिया पठाउन नेपाल सरकारले गृहकार्य गरिरहेको जनाएको छ । ‘नेपालले कोरियाको  सरकारको ई–७ भिसा योजनाअन्तर्गत दक्ष नेपाली कामदारलाई कोरिया पठाउन आवश्यक तयारी र व्यवस्था गरिरहेको छ,’ उनले भने, ‘यस सम्बन्धमा सम्बन्धित निकायहरूसँग परामर्श भइरहेको छ ।’

विशेष दूत जियोङ्क्युले ईपीएस र ई–७ अलग-अलग प्रणाली भएको बताए । ‘ईपीएस प्रणाली (ई–९)मा सीप नभएका श्रमिक जाने हो । ई–७ मा दक्ष श्रमिक जाने हो । यो अलग-अलग मन्त्रालयले हेर्छ,’ उनले भने, ‘यसमा हामी सकारात्मक छौं ।’

कान्तिपुर संवाददाता

Link copied successfully