बाढीले सुन्तला बगैंचा बगाउँदा गुम्यो आम्दानी

माघ ७, २०८१

ज्योती श्रेष्ठ

Income was lost when the orange orchard was swept away by the flood

काभ्रे — सुन्तला फलेर गाउँ नै सुनौलो देखिने बेथानचोक गाउँपालिका–४ का धर्मशाला, पाख्रिन गाउँ, हाडडोल र सञ्जेल गाउँ यसपालि उजाड देखिएका छन् । गत असोज दोस्रो साताको पहिरोले यहाँ डाँडापाखा चिराचिरा परेका छन् । धर्मशालाको डाँडादेखि आएको पहिरोले सयौं रोपनीका सुन्तलाका बोट बगाएर हाडडोल खोलासम्म पुर्‍याएको छ ।

पकेट क्षेत्रको रुपमा विकास गर्न सुन्तला सुधार कार्यक्रम सञ्चालन गरी किसानहरुले काँटछाँट, गोडमेल, मलजल, विषादी राखेर केही सुधार गरेका थिए । बोटमा फल राम्रै लागेकाले आम्दानी बढ्ने आशमा रहेका किसान यसपालि निराश छन् । वर्षौंसम्म आम्दानी दिने सुन्तलाका बोटनै पहिरोले बगाएपछि किसान चिन्तित बनेका हुन् । 

बेथानचोक–४ सञ्जेल गाउँका ४३ वर्षीय शंकर सञ्जेलले ६ रोपनीमा १ सय ५० बोट सुन्तला लगाएका थिए । विगत वर्षमा सुन्तलाबाट ५० देखि ६० हजार रुपैयाँ मात्रै आम्दानी गर्दै आएका उनले यस वर्ष राम्रो फल लागेकाले १ लाखसम्म हुने सोचेका थिए । बाढीपहिरोले रुख बगाएपटि उल्टै उनलाई चिन्ता थपेको छ ।

उनको बगैंचाका १५० बोट मध्ये १ सय बोट पहिरोले बगाएको छ । ‘अब सुन्तला नै रोपौं भने जताततै पहिरो छ, पहिरोको डरले यहाँ बस्नै छाडिसके, बासको ठेगान नभएका बेला बिरुवा कहाँ कसरी लगाउने भएको छ,’ उनले भने । बेथानचोक–४ हाडडोलकी ६८ वर्षीया कान्छी कोइरालाले २५ रोपनीमा ३ सय बोट सुन्तला लगाएकी थिन् । जसमध्ये ४ रोपनीका ४०/५० बोट सुन्तलाका बगायो छ ।

‘राम्रो फलेको थियो । तालिम लिएपछि बगैंचा सुधार गरेकी थिए, ६ लाख जति लिन सकिन्छ भन्ने सोचेका थियौं, पहिरोले रुखनै बगाएर खोलामा पुर्‍याएको छ,’ उनले भनिन्, ‘बचेका बोट जोगाउन पनि निकै गाह्रो छ, डाँडा चिराचिरा परेका छन्, ज्यान जोगाउन नै गाह्रो छ ।’

गाउँमा बस्न जोखिम भएकाले उनले व्यापारीलाई ३ लाख ५० हजार रुपैयाँमा सुन्तला बैना दिएर अहिले पनौती खोपासीमा बस्दै आएकी छिन् । ‘कृषिबाहेक अरु आम्दानीको स्रोत छैन,’ उनले भनिन्, ‘केही राम्रो होला कि भनेर दुःख गर्‍यो, फल लिने बेलामा यस्तो विपति आइलाग्यो, एउटै रुखले १०/१२ वर्षसम्म आम्दानी दिन्थ्यो, रुखनै बगाएर लगेको छ, बारीको नाम निसाना छैन, साँधसिमाना कसरी छुट्याउने ? गाउँमा अब कसरी कृषि गर्ने भन्ने चिन्ता छ ।’

Income was lost when the orange orchard was swept away by the floodअसोज दोस्रो साताको बाढीपहिरोले सुन्तला बगैंचामा पुर्‍याएको क्षति भएको स्थान देखाउँदै बेथानचोक-४ हाडडोलकी ६८ वर्षीया कान्छी कोइरला । तस्बिर : ज्योती श्रेष्ठ/कान्तिपुर

बेथानचोक–४ का वडाध्यक्ष कृष्णबहादुर लामाले पाख्रिन गाउँमा ४ दशकयता सुन्तला खेती गर्दै आएका छन् । सुरुमा ८/९ बोटबाट सुन्तला लगाउन सुरु गर्दै २७ रोपनीमा १२२ बोट लगाएका थिए । कुनै वर्ष राम्रो फल्ने त कुनै वर्ष नफल्ने, रोगकिरालगायतका समस्याले बेथानचोक ४ का किसानले हैरानी खेप्दै आएका थिए ।

आफू जनप्रतिनिधि भएपछि सुन्तलामा सुधार गर्न उनी कस्सिएका थिए । गाउँपालिकाको वडा ४ लाई सुन्तलाको पकेट क्षेत्र बनाउनको लागि सुन्तला सुधार कार्यक्रम सञ्चालन गरी गाउँका किसानलाई तालिम प्रदान गरेका थिए । फलेको सुन्तला टिप्न नपाउँदै पहिरोले सुन्तलाको बोट नै बगायो । पहिरोले उनको बगैंचामा पनि क्षति गराएको छ । २८ वटा सुन्तलाका रुख पहिरोले बगाएको उनले बताए ।

पहिरोबाट जोगिएका रुखमा पोटिला र रसिला सुन्तलाका दाना रहेको उनले बताए । पहिरोले क्षति पुर्‍याएपछि सुन्तला किसानलाई कसरी राहत दिन सकिन्छ भन्ने विषयमा पालिका र कृषि विकास कार्यालयसँग छलफल गरिरहेको उनले बताए । बेथानचोक–४, ५ र ६ मा सुन्तला लगाउने गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । पालिकाभर ६.०८ हेक्टर क्षेत्रफलमा सुन्तला खेतीबाट वार्षिक २१६.४४ मेट्रिक टन उत्पादन गर्दै आएको शाखा प्राविधिक मधुसुदन दाहालले बताए । उनका अनुसार असोजको बाढीपहिरोबाट पालिकाभर १ सय १४ रोपनी क्षेत्रफलमा सुन्तलाका बोटमा क्षति भएको जानकारी आएको छ ।

बेथानचोक जस्तै नमोबुद्धका सुन्तला किसानका पीडा पनि उस्तै छ । नमोबुद्ध नगरपालिका–९ स्थित डाँडागाउँवेशीका किसान प्रेम लामाले ५ रोपनीमा १ सय ३५ बोट सुन्तला लगाएका छन् । सुन्तलाबाट उनले राम्रो आम्दानी पनि गर्दै आएका थिए । वार्षिक रुपमा ८ देखि १० लाखसम्म सुन्तलाबाट आम्दानी गर्ने गरेको उनले बताए ।

असोजको दोस्रो साताको पहिरोले उनको सुन्तला बगैंचामा पनि क्षति पुर्‍याएको छ । उनका अनुसार पहिरोले १७ वटा सुन्तलाका रुख बगायो । यस वर्ष १ लाख ८५ हजारमा बचेका सुन्तला बगैंचाबाटै बिक्री गरेको उनले बताए । उनका अनुसार पोहोर फागुनसम्म बिक्री गरेको र यस वर्ष त पुसमै सुन्तला निख्रियो ।

Income was lost when the orange orchard was swept away by the flood

प्रेम लामाले सम्बृद्धि प्रेम बाटिका बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेका छन् । फार्म लगाएको नर्सरीका हजारौं बोट पहिरोले बगाएको उनले बताए । ‘धेरै कफीका बोटमा क्षति भएको छ,’ उनले भने, ‘५ सय बोट कफी लगाएको थियो, पहिरोले बगाएर, अहिले जम्मा ४७ बोट मात्रै बाँकी छ, बुद्धचित्तको विरुवा र बोट पनि बगाएको छ, लाखौंको क्षति भएको छ ।’ नमोबुद्ध–१, २, ८,९, १० र ११ मा विशेष गरेर सुन्तला लगाउने गरिएको नमोबुद्ध नगरपालिकाको कृषि शाखाले जनाएको छ । शाखाका अनुसार पालिकाभर करिब १३ हेक्टर क्षेत्रफलमा सुन्तला लगाएकोमा बाढीपहिरोले करिब ६ हेक्टर क्षेत्रफलमा क्षति भएको अनुमान गरिएको छ । हालसम्म कति क्षति भयो भन्ने यकिन विवरण भने आउन बाँकी नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

०००

सुन्तला उत्पादनका लागि काभ्रेको पनौती नगरपालिका, धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका लगायतका पालिकालाई विशेष पकेट क्षेत्रको मानिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको कुल क्षेत्रफलमध्ये करिब १३ सय हेक्टर क्षेत्रफलमा सुन्तला लगाइने गरिएको कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुल प्रसाद दवाडीले बताए ।

उनका अनुसार जसबाट वार्षिक रुपमा करिब ७ हजार मेट्रिक टन सुन्तला उत्पादन हुदै आएको छ । तुलनात्मक रुपमा यस आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सुन्तला राम्रो फलेको किसानबाट प्रतिक्रिया पाएको उनले बताए ।

Income was lost when the orange orchard was swept away by the flood

‘विभिन्न पालिकामा सञ्चालन गरिएको सुन्तला सुधार कार्यक्रमले सुन्तला राम्रो फलेको जानकारी पाएका थियौं,’ उनले भने, ‘तर, असोजको बाढीपहिरोले धेरै स्थानमा सुन्तलाको बगैंचामा क्षति पुर्‍याएको छ, सुन्तलाको पकेट क्षेत्र मानिने नमोबुद्ध, बेथानचोक, सुनथान, कुशादेवीलगायतका क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ, बाढी र पहिरोले सुन्तलाको बगैंचा नै बगाएको छ ।’

उनका अनुसार सुन्तलामा देखिएको सुधारको आधारमा यस वर्ष ७ हजार ५ सय मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको थियो । तर, विपद्ले पुर्‍याएको क्षतिका कारण जिल्लाभर करिब ७ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully