काठमाडौँ — यस आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । आफ्नो निर्देशनविपरीत काम गर्ने प्रभु, हिमालयन र एनआईसी एसिया बैंकलाई कारबाही गरेको हो ।
जसअनुसार राष्ट्र बैंकले प्रभु बैंकलाई नियमविपरित सञ्चालक समिति नियुक्त गरेर वार्षिक साधारणसभाबाट पारित गरेको, बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भए तापनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफूअनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको व्यवस्था पालना नगरको राष्ट्र बैंकले भनेको छ । यसकारण उक्त सञ्चालकलाई पदबाट हटाउन उक्त बैंकको संचालक समितिलाई निर्देशन दिएको छ ।
स्थलगत निरीक्षणका क्रममा यस बैंकबाट जारी निर्देशनहरूको पालनामा कमजोरीहरू देखिएको तथा निरीक्षण प्रतिवेदनमा औल्याइएका कैफियतहरू समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनुपात गणना सम्बन्धमा जारी निर्देशन पालना नभएको भन्दै बैकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।
यस्तै, कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।
यसैगरी, एनआईसी एसिया बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका संचालक, निजका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेको राष्ट्र बैंकले भेटाएको छ । यसरी दिइएको बढी ब्याज रकम फिर्ता गर्न निर्देशन दिएको छ भने बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा संचालक रामचन्द्र संघाइलाई नेपाल राष्ट्र बैंकले नसिहत दिएको छ ।
‘नेपाल राष्ट्र बैंकबाट एन आई सी एशिया बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको पाइएको छ,’ राष्ट्र बैंकको कारबाहीमा भनेको छ । जसअनुसार निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य/निर्णय नगर्ने तथा नगराउने, निर्देशन पूर्ण रुपमा परिपालना गर्न/गराउन एवं सुधारको कार्ययोजना बनाई लागु गर्ने, ब्याजदर सम्बन्धी निर्देशन उल्लंघन नगर्ने पनि राष्ट्र बैंकले बैंकलाई भनेको छ ।
राष्ट्र बैंकले जारी गरेको पुँजी पर्याप्तता ढाँचा २०१५ अनुरुप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकीन गरी सोको प्रतिवेदन यस बैंकलाई नियमित रुपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागु गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
यस्तै, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी व्यवस्था आफ्नो निर्देशनअनुरूप हुने गरी गर्न तथा राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनको पूर्ण रूपमा पालना गर्न/गराउन तथा सुधारको कार्ययोजना बनाई लागू गर्न पनि राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई निर्देशन दिएको छ ।
