वीरगन्ज (पर्सा) — वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा एक खर्ब चार अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व संकलनमा सुधारोन्मुख रहेको बताए ।
'सवारीसाधनको आयात र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि उत्साहजनक देखिएको छ,' उनले भने, 'साउनयताकै पुस महिनामा उच्च राजस्व संकलन भएको छ ।' वीरगन्ज भन्सारले चालु आवको साउन महिनामा १२ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन गर्यो ।
त्यसैगरी, भदौमा १३ अर्ब ४२ करोड, असोज महिनामा १३ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसै गरी, कात्तिकमा ११ अर्ब १० करोड, मंसिरमा भने १४ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
पुसमा चालु आवकै सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले चालु आवको छ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व संकलन गरेको हो ।
भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ ।
त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व संकलन गरेको हो ।
