ठूला कम्पनीमा कर्मचारीको सट्टा भटाभट एआई भर्ती गरिँदै

१७ करोड नयाँ रोजगारी सिर्जना हुँदा एआईले १० करोड रोजगारी विस्थापित गर्ने

माघ ४, २०८१

सजना बराल

Big companies are hiring rote AI instead of employees

काठमाडौँ — फेसबुक, इन्स्टाग्राम, म्यासेन्जरजस्ता चर्चित एपहरूको प्यारेन्ट कम्पनी ‘मेटा’ ले सन् २०२५ मा आफ्ना कुल कर्मचारीको ५ प्रतिशत अर्थात् झन्डै ४ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले एआई प्रविधिमा थप लगानी गर्ने र कार्यालयका नियमित कामलाई प्रतिस्थापन गर्दै लैजाने योजना सार्वजनिक गरेको हो ।

गत साता मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले जो रोगनसँगको चर्चित पडकास्टमा मध्यम तहका इन्जिनियर र प्राविधिकहरूलाई बिस्तारै एआईले प्रतिस्थापन गर्ने बताएका थिए । उनले यही वर्ष मेटाबाट झन्डै ५ प्रतिशत कर्मचारीलाई बिदा गर्ने तयारी गरिसकेको ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ । जकरबर्गले कार्यालमा सबैभन्दा ‘कमजोर प्रदर्शन’ गर्नेहरूलाई भकाभक निकाल्ने तयारी गरेको ब्लुमकर्गको दाबी छ । 

अर्को ठूलो प्रविधि कम्पनी, सेल्सफोर्सले पनि सन् २०२५ मा एकजना पनि नयाँ सफ्टवेयर इन्जिनियर भर्ती नगर्ने घोषणा गरेको छ । एआईमा भर पर्ने कम्पनीको रणनीति रहेको बुझिन्छ । एजेन्टफोर्सजस्ता एआई प्रविधिको प्रयोगबाट सेल्स, मार्केटिङ, ग्राहक सेवासम्बन्धी जनशक्तिलाई प्रतिस्थापन गर्दै लाने सेल्सफोर्सको योजना छ । 

गोल्डम्यान स्याक्सको एक अध्ययन प्रतिवेदनअनुसार सन् २०३० सम्ममा झन्डै ३० करोड मानव श्रमशक्तीलाई एआईले विस्थापन गर्दै छ । गएका दुई वर्षमा नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षमता व्यापक वृद्धि भइसकेको र अब यो प्रविधि कन्टेन्ट जेनेरेट गर्ने वा साना-तिना काम सघाउनमा सीमित नरहने भएकाले मेटा र सेल्सफोर्सजस्ता ठूला कम्पनीहरू पनि मानिसको सट्टा एआई कर्मचारीतर्फ ढल्किन थालेका हुन् । जेनेरेटिभ मोडेल र स्वचालित सफ्टवेयरजस्ता एआई माध्यमले अब कार्यालयहरूको 'वर्क कल्चर' लाई रुपान्तरण गर्ने आँकलन भइरहेका छन् । 

 Big companies are hiring rote AI instead of employees

केही क्षेत्रहरूमा तत्काल र केही क्षेत्रमा क्रमश: रोजगारी गुम्ने क्रम शुरु भएको अध्ययनहरूले देखाएका छन् । हालै प्रकासित विभिन्न तथ्यांकहरूले पनि एआईप्रति आधिकारिक रूपमै निर्भरता बढिरहेको चित्रण गरेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्टअनुसार न्यु योर्क वाल स्ट्रिटका ठूला बैंकहरूमा एआईको प्रयोगका कारण करिब २ लाख रोजगारी कटौती हुनसक्ने अनुमान गरिएको छ । जेपी मोर्गन चेज एन्ड को, गोल्डम्यान स्याक्सजस्ता वित्तीय कम्पनीहरूले दक्षता र उत्पादकत्व बढाउन एआईको प्रयोग उल्लेख्य बढाउँदै लगेका छन् ।

विश्व आर्थिक मञ्चले केही समयअघि सार्वजनिक गरेको कामकाजको भविष्यसम्बन्धी प्रतिवेदनमा कार्यालयमा दैनिक हुने सामान्य प्रशासनिक कामहरू अब एआईको उपलब्धताले बिस्तारै स्वचालित विकल्पतिर जाने उल्लेख थियो । यस्तै, न्युजविकमा प्रकाशित एक रिपोर्टले पनि ग्राहक सेवासम्बन्धी कामहरू, तथ्यांक जम्मा गर्ने र विश्लेषण गर्ने, मार्केटिङ, बैंकका नोट गन्नेजस्ता काम, कार्यालयमा सहयोगीले गर्ने समय व्यवस्थापनजस्ता काम, सेल्ससँगै मिडिया र कन्टेन्ट सिर्जनाका कतिपय कामहरूमा बिस्तारै एआई हाबी हुने उल्लेख गरेको छ । कतिपय कामहरू एआईले पूर्ण प्रतिस्ठापन नगरी हाले पनि एआईको भूमिका आंशिक रूपमा बढ्दै जाने प्रतिवेदनहरूमा उल्लेख छ । 

१७ करोड नयाँ रोजगारी सिर्जना हुने, १० करोड विस्थापित हुने

ठूला प्रविधि कम्पनीहरूले  आक्रामक रूपमा विभिन्न कामलाई अटोमेसन र एआईमा आधारित बनाउँदै जाने घोषणा गरेका छन् । सेल्सफोर्सले अलि फरक किसिमको र सकारात्मक दृश्य पनि प्रक्षेपण गरेको छ । आईडीसी र सेल्सफोर्सद्वारा गरिएको अध्ययनले सन् २०२८ सम्ममा विश्वभर झन्डै डेढ करोड नयाँ रोजगारी सिर्जना हुने देखाएको छ । प्रारम्भिक चरणमा केही रोजगारी गुम्नसक्ने भए पनि दीर्घकालीन रूपमा आर्थिक वृद्धि र नयाँ रोजगारीका अवसरहरू खुल्दै जाने सो अध्ययनको निश्कर्ष छ । 

आईबीएमले त वर्ष २०२४ मै करिब ७ हजार ८ सय पदहरू (कार्यालयमा आधारित काममध्ये ३० प्रतिशत) एआईद्वारा स्वचालित गर्ने योजना बनाइसकेको थियो । एआईपीआरएम अध्ययनले ३७ प्रतिशत कम्पनीहरूले क्रमश: केही पदहरू एआईद्वारा प्रतिस्थापन गर्दै लगेको जनाएको छ । त्यस्तै, ४४ प्रतिशत कम्पनी‍ले आगामी वर्षहरूमा कर्मचारीको सट्टा एआई भर्ती गर्ने योजना बनाएको उल्लेख गरेको छ । माइक्रोसफ्ट, गुगल, अमेजनजस्ता ठूला प्रविधि कम्पनीहरूले पनि विस्तारै पुराना शैलीका कर्मचारी भर्तीलाई पूर्ण वा आंशिक रूपमा एआईमा आधारित बनाउँदै लाने योजना सुनाउँदै आएका छन् । 

Big companies are hiring rote AI instead of employees

स्रोत : विश्व आर्थिक मञ्ज

आगामी केही वर्षमा फिलिपिन्सका झन्डै ५० लाख कर्मचारीहरू एआई क्षेत्रको उभारका कारण विस्थापित वा प्रभावित हुने अध्ययनहरूले देखाएका छन् । अमेरिकाका झन्डै ८० प्रतिशत कामदारको कार्यक्षेत्रमा एआईले सानो वा ठूलो रूपमा असर गर्ने ब्लुमबर्गको अध्ययन छ । माइक्रोसफ्टको एक सर्वेक्षणले सूचना प्रविधि क्षेत्रमा उल्लेख्य रूपमा आश्रित भारतको ठूलो युवा जनशक्तिमध्ये झन्डै ७४ प्रतिशतलाई एआईका कारण आफ्नो रोजगारी गुम्ने चिन्ता रहेको देखाएको थियो । विश्व आर्थिक मञ्चकै प्रतिवेदनले पनि सन् २०३० सम्ममा एआईका कारण लगभग १७ करोड नयाँ रोजगारीका अवसर सिर्जना हुने र झन्डै १० करोड अहिलेका रोजगारलाई एआईले पूर्णतया प्रतिस्थापन गर्ने प्रक्षेपण गरेको छ । 

अध्ययनहरूले एआईको पछिल्लो छलाङले चीन, भारत, जर्मनी, जापान, दक्षिण कोरियासँगै अमेरिकाको झन्डै अढाइ करोड रोजगारमा असर पार्ने र त्यसको ठूलो संख्यालाई विस्थापनसमेत गर्ने देखाएका छन् । अमेरिकामा एक्लै झन्डै ४ करोड रोजगारीलाई एआईको बढ्दो प्रयोगले यही वर्ष आंशिक वा पूर्णरूपमा असर गर्ने दाबी गरिएको छ । ठूला प्रविधि र वित्तीय कम्पनीहरूले जनशक्तिको विकास र बिस्तारसम्बन्धी आफ्ना रणनीतिमै पुनर्विचार गरिरहेकाले यी अध्ययनको अनुमानमा विश्वास गर्ने प्रशस्त ठाउँ देखिन्छ ।

(एजेन्सीको सहयोगमा)

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully