सिमेन्ट साउनमा प्रतिबोरा ४ सय, माघमा पुग्यो ८१५ रुपैयाँ

सरकारी सिमेन्ट उद्योगले नियमित उत्पादन नगर्दा निजी सिमेन्टले गरे ‘सिन्डिकेट’

माघ ४, २०८१

राजु चौधरी

400 per bag of cement in June, reached Rs 815 in January

काठमाडौँ — पछिल्लो समय भैतिक पूर्वाधार निर्माणका लागि अत्यावश्यक सिमेन्टको मूल्य बढेको बढ्यै छ । खास कारण नभए पनि ६ महिनामा मूल्य दोब्बर पुगेको तथ्यांकले देखाउँछ । साउनमा सिमेन्टको मूल्य प्रतिबोरा ४ सय रुपैयाँ थियो । त्यसको ६ महिनापछि भाउ दोब्बर पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जनाए । यति बेला एक बोरा सिमेन्टको मूल्य ८ सय १५ रुपैयाँसम्म छ । 

‘सिमेन्टको मूल्यमा मनपरी भएको छ, उद्योगीले मूल्य निर्धारण गर्छन् । उनीहरूले चुनढुंगा, लोडसेडिङ, ढुवानी खर्चलगायतलाई मूल्यवृद्धिको कारण देखाउने गरेका छन् । हिउँद सकिँदा–नसकिँदै बोराकै १ हजार रुपैयाँ पुर्‍याउने खेल भइराखेको छ,’ पौडेलले भने, ‘यसले आम सर्वसाधारणलाई समस्यामा पारेको छ ।’

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उत्पादकले मूल्य निर्धारण गर्न पाउँछन् । तर उपभोक्तालाई कार्टेलिङ गर्न पाइँदैन । उनीहरूले लोडसेडिङ, ढुवानी खर्चलगायतलाई कारण देखाएकाले उपभोक्ता संरक्षण ऐनबाट कारबाही हुन सकेको छैन । यसका लागि प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३ अनुसार मूल्य नियन्त्रण गर्न सकिन्छ ।

एउटा उद्योगीले मूल्य बढाए अर्कोबाट घटाएर मूल्य नियन्त्रण गर्न सकिन्छ । तर ऐनमा निर्देशित बोर्डको बैठक नै बसेको छैन । ऐनबाट कुनै काम भएको छैन । ‘कार्टेलिङलाई निरुत्साहित गर्न ऐन बन्यो । तर बोर्ड गठन भएन । त्यही कारण पनि समस्या देखियो,’ पौडैलले भने । 

सिमेन्टको मूल्य प्रतिबोरा ९ सय रुपैयाँ पुग्नै लागेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जनाए । ‘भौतिक पूर्वाधारका लागि अत्यावश्यक सिमेन्टको मूल्य बढेर ९ सय रुपैयाँसम्म पुग्दै छ । यो अति अस्वाभाविक हो,’ उनले भने, ‘सरकारी स्वामित्वका हेटौंडा र उदयपुर सिमेन्ट उद्योगले उत्पादन नियमित नगर्दा निजीको सिन्डिकेट देखिएको हो ।’ 

सरकारी सिमेन्ट उद्योगको अवस्था दयनीय हुँदा बजारमा मूल्य मनपरी देखिएको हो । दुई सिमेन्ट उद्योगको अवस्था नाजुक भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका इन्जिनियर खगेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा बनेको पाँच सदस्यीय विज्ञ टोलीले उदयपुर र हेटौंडा सिमेन्टमा रणनीतिक साझेदार भित्र्याएर व्यवस्थापन सुधार गर्न सुझाव दिइसकेको छ । दुवै उद्योगलाई प्रतिस्पर्धी बनाउन मर्जरमा लैजाने पनि सुझाइएको छ । 

लगभग बन्द अवस्थामा रहेको उदयपुर र हेटौंडा सिमेन्टको वर्तमान अवस्थाको अध्ययन गर्न प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले २०८० पुस १५ मा मन्त्रालयलाई पत्र पठाएको थियो । त्यसपछि मन्त्रालयले पुस १६ मा सचिवस्तरीय निर्णय गरी ५ सदस्यीय अध्ययन टोली गठन गरी प्रतिवेदन बनाएको थियो । निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाउन दुवै उद्योगलाई मर्जगरी नयाँ रूपमा सञ्चालन गर्न पनि सुझाइएको छ । तर अझै प्रगति छैन । सोही कारण पनि निजी सिमेन्ट उद्योगले कार्टेलिङ गरेको अध्यक्ष महर्जनको भनाइ छ । 

सिमेन्ट व्यवसायीले गैरकानुनी मूल्यवृद्धि तत्काल बन्द गर्नुपर्ने महर्जनले बताए । ‘नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड लाइन प्रयोग गरेबापतको महसुल उठाउन लागेको विषयलाई कारण देखाएर अस्वाभाविक रूपमा कृत्रिम मूल्य बढाउने काम भइरहेको छ । यो गैरकानुनी काम हो,’ महर्जनले भने, ‘मूल्य बढाउने सिमेन्ट उद्योगलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

सिमेन्टको मूल्य बढेपछि नेपाल निर्माण व्यवसायी महासंघले पनि आपत्ति जनाएको छ । महासंघले बुधबार पत्रकार सम्मेलन गरेरै यसको विरोध गरेको छ । ‘सिमेन्ट, डन्डीलगायत निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थको मूल्य नबढे पनि कार्टेलिङ तथा कालोबजारी गरी एक महिनामा सिमेन्टको मूल्य बोरामा २ सय रुपैयाँ बढेको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको मूल्यवृद्धि तत्काल खारेज हुनुपर्छ । कालोबजारीमा संलग्नलाई कानुनी उपचार खोज्नुपर्छ ।’ 

यता सिमेन्ट उद्योगीहरूले भने सधैं घाटामा बेच्न नसक्ने स्पष्टीकरण दिएका छन् । उनीहरूका अनुसार धादिङमा सञ्चालित ह्वासिन सिमेन्ट उद्योगले मूल्य घटाएर बेचेपछि अन्यले पनि मूल्य घटाएका थिए । 

‘सधैं घाटा खाएर बेच्ने कुरा हुँदैन । अहिले पनि नाफामा छैनौं, विगतको नोक्सानलाई रिकभर गरिएको मात्रै हो,’ नाम उल्लेख गर्न नचाहने सिमेन्ट उत्पादन संघका एक अधिकारीले भने, ‘नोक्सान कम गर्न मूल्य थोरै बढाएका मात्रै हौं । मूल्य सिमेन्टअनुसार फरक छ । अहिले सिमेन्ट प्रतिबोरा साढे ७ सयदेखि ८ सय १५ रुपैयाँसम्म बिक्री भएको छ ।’

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully