सुक्खा बन्दरगाह भन्सार : छ महिनाको अवधिमा राजस्व संकलन घट्यो

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Dry Port Customs: Revenue collection declined during six months

वीरगञ्ज (पर्सा) — सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो । 

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व संकलन एक अर्ब ४५ करोड ४१ लाख ७९ हजार रुपैयाँले कमी आएको छ ।

कार्यालयले चालु आवको साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजस्व सङ्कलन गर्‍यो । त्यस्तै भदौ महिनामा चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा तीन अर्ब ७९ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । 

त्यस्तै मंसिर महिनामा तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कार्यालयले गत आवको छ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully