सोलुखुम्बु क्षेत्रमा हुने सबै उडान रोक्ने वायुसेवा सञ्चालक संघको चेतावनी

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Airline operators association warning to stop all flights to Solukhumbu area

काठमाडौँ — सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यावसायिक हेलिकोप्टर उडानलाई रोक लगाउने निर्णय भएपछि वायुसेवा संचालक संघले त्यस क्षेत्रमा हुने अन्य फिस्ड विङ्ग उडान समेत रोक्ने चेतावनी दिएको छ । संघले यदि त्यस क्षेत्रमा निजी उडानलाई लगाइएको प्रतिबन्ध खुला नगरे यही माघ १० गतेदेखि लुक्ला लगायत सोलुखुम्बु क्षेत्रमा हुँदै आएका नियमित फिस्ड विङ्ग उडान रोक्ने जनाएको छ ।

संघका अध्यक्ष मनोज कार्कीले बुधबार विज्ञप्तिमार्फत आगामी बुधबारसम्म गाउँपालिकाले लगाएको अवरोध नहटाएमा विहीबारदेखि त्यस क्षेत्रमा हुने सबै व्यावसायिक उडान रोक्ने चेतावनी दिएका छन् । पासाङ ल्हामु गाउँपालिकाले पुस १७ गतेदेखि खुम्बु क्षेत्रमा पर्यटकका लागि हुने व्यावसायिक हेलिकोप्टर चार्टर उडानलाई रोकेको थियो ।

गाउँपालिकाको उक्त निर्णयपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले पनि नेपालमा रहेका ११ वटा हेलिकोप्टर कम्पनीलाई पुस १७ देखि संरक्षित क्षेत्रमा व्यावसायिक उडान नगर्न निर्देशन दिएको थियो । तर निकुञ्ज कार्यालयले भने आफ्नो निर्णय फिर्ता लिइसकेको छ ।

हेलिकोप्टर उडानले सगरमाथा राष्ट्रिय निकुञ्जमा हुने अत्यधिक ध्वनि प्रदूषणका कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको बासस्थानमा असर परेको जनाउँदै व्यावसायिक हेलिकोप्टर उडानलाई रोक लगाउनु उपयुक्त हुने भन्दै गाउँपालिकाले भने हेलिकप्टरलाई लगाइएको प्रतिबन्ध खुला गरेको छैन । वायुसेवा सञ्चालक संघले भने संविधानले प्रदान गरेको मौलिक अधिकारलाई नियन्त्रण गर्ने अधिकार गाउँपालिकालाई नरहेको जनाउँदै उक्त निर्णय कानुनविपरीत रहेको समेत दाबी गरेको छ। 

गाउँपालिकाले भने आपतकालीन उद्धारबाहेक अरु पर्यटकजन्य हेलिकोप्टर उडान संचालन नगराउन वायुसेवा कम्पनीहरुका नाममा पुन: सूचना जारी गरेको छ । हाल खुम्बु क्षेत्रका अधिकांश हेलिप्याडमा स्थानीय क्लबले झण्डा गाडेर अवरोध गरेपछि संघले त्यहाँ चार्टर हेलिकोप्टर उडान पनि रोकको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully