गण्डक नहरको १३ नम्बर ब्लकसम्मै पुग्यो पानी 

माघ २, २०८१

शंकर आचार्य

The water reached block number 13 of the Gandak Canal

पर्सा — गहुँबालीका लागि गण्डक नहरमा प्राप्त पानी यस वर्ष नहरको १३ नम्बर ब्लकसम्म पुगेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत एवं इन्जिनियर सुरेशप्रसाद साहका अनुसार रौतहटको बकुल क्षेत्रसम्म पानी पुगेको र गहुँबालीमा सिँचाइ गर्ने उपयुक्त समय यही नै भएकाले किसानले धमाधम सिँचाइ गरिरहेका छन् ।

‘धान बाली जत्ति धेरै पानी गहुँबालीलाई चाहिँदैन,’ उनले भने, ‘नहरमा हाल भारतीय पक्षले ५ सय क्युसेक पानी दिएको र त्यो १३ नम्बर ब्लकसम्मका लागि पर्याप्त रहेको छ ।’ 

भारतसँगको गण्डक सम्झौता अनुसार भारतीय पक्षले ८ सय ५० क्युसेक पानी दिनुपर्ने भए पनि हाल दिएको पानी पर्याप्त रहेकाले थप पानीको माग गर्नु नपरेको उनले बताए ।  गहुँबालीमा एक पटक मात्र सिँचाइ गर्दा पनि पर्याप्त हुने उनले बताए । 

नवलपरासीको नेपाल भारत सीमा भैसालोटनस्थित ब्यारेजबाट दोन, त्रिवेणी र तिरहुत गरी ३ वटा नहर निस्किएका छन् । दोन नहर भारतमै ९२ किमी यात्रा गरेर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ । नेपालमा प्रवेश गरेपछि यो नहर पूर्वी नहरको नामले चिनिन्छ ।  

यस वर्ष नहरमा भारतीय पक्षले धानबाली सिजनमा असार १४ गते नै पानी दिएको थियो । बर्सेनि धानबालीका लागि असार १५ र  गहुँबालीका लागि पुस १० देखि नहरमा पानी दिनु पर्छ । गहुँबालीका लागि पनि भारतले निर्धारित समयमै पानी दिएको थियो । 

पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपाल तर्फ ८१ किलोमिटर रहेको छ ।  सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भए पनि रौतहटको मध्य भागसम्म पानी भने प्रायः पुग्दैन । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully