नाका व्यवस्थित नहुँदै तस्करी

भेप तस्करी गर्न कोरोला नाकाको प्रयोग

माघ १, २०८१

ऋषिराम पौड्याल

Smuggling without managing the border

काठमाडौँ — कर्मचारी र सुरक्षाकर्मीको कमजोर उपस्थिति भएको मौका छोपेर मुस्ताङको कोरोला नाकाबाट तस्करी सुरु भएको छ । नाकाबाट भन्सार नतिरी आयात गरेका १९ हजार थान विद्युतीय चुरोट (भेप) बरामद भएपछि तस्करी हुन थालेको खुलासा भएको हो । कोरोला नाका व्यवस्थित नगरिएकाले यसको फाइदा तस्करहरूले उठाएको सरोकारवाला बताउँछन् । 

नाकाबाट झन्डै १५ किमि जोमसोमतर्फ सशस्त्र प्रहरी र भन्सार कर्मचारी बस्ने गरेका छन् । मुस्ताङ प्रहरीले भेपसहित चिनियाँ व्यापारिका सामान बेनीतर्फ लैजाने क्रममा बरामद गरेको थियो । गएको पुस १९ मा बरामद गरेको भेप प्रहरीले राजस्व अनुसन्धानलाई बुझाएको थियो । गाडीमा राखेर घरपझोङ गाउँपालिका–४ जोमासोङस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेक पोस्ट नजिकैबाट गाडीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जनाए । 

मुस्ताङ प्रहरीले गाडी चालकसहित जनालाई राजस्व अनुसन्धानमा बुझाएको छ । 

चालकमार्फत भेपको चोरीपैठारी गर्ने मालिकको खोजी भइरहेको स्रोतले बताएको छ । उक्त चोरी पैठारीका विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । 

भौतिक संरचनाको अभावमा चीनको सीमामा भन्सार कर्मचारी र प्रहरी बस्न सक्ने अवस्था नभएका कारण चोरी पैठारी सहज भएको हो । सीमामा पानी, सञ्चार, आवास भवन र खाद्य सामग्रीको समेत अभाव छ । यसको फाइदा उठाएर सीमित परिमाणमा व्यापारिक सामान एकै स्थानमा थुपारेर जोमसोमतर्फ ल्याउने गरेको राजस्व स्रोतले जानकारी दिएको छ । 

भौतिक संरचनाको अभावमा सीमामा कर्मचारी बसेर निगरानी बढाउन नसकिएको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जनाए । कम्तीमा सीमा नाका कार्यालय राखिने भवन र कार्यालयको व्यवस्था मिलाउने योजना बनाएर विभागले बजेट प्रस्ताव गरेको पुडासैनीले बताए । कोरोला भन्सारमा अधिकृतको दरबन्दी भए पनि नायव सुब्बास्तरको कर्मचारी मात्र रहेको उनको भनाइ छ । ‘तर कर्मचारी सीमाबाट टाढा भएकाले भन्सार जाँच र निगरानी प्रभावकारी हुन नसकेको हो,’ उनले भने । राजस्व अनुसन्धान विभाग र प्रहरीको संयुक्त प्रयासमा राजस्व छलेर नेपाल भित्र्याइएका भेप ठूलो मात्रामा बरामद गरिएको हो । विभाग स्रोतका अनुसार दुई साताभित्र करिब १ लाख २० हजार थान भेप बरामद गरेर अनुन्धान सुरु गरिएको छ । चीनबाट आयात हुने भेप मुख्यतया रसुवा र तातोपानीबाट आउने गरेकामा यस पटक कोरोला नाकाको पनि प्रयोग गरिएको छ । राजस्व तिरेर भेप आयात गर्न पाउने कानुनी व्यवस्था भए पनि चोरी पैठारी रोकिएको छैन । 

एउटै गोदामबाट ८६ हजार थान भेप बरामद 

भेपलाई भन्सार छलेर लुकाइछिपाइ नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा विभागले ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोलको एक गोदामबाट मात्र एक साताअघि ८६ हजार थान भेप बरामद गरेको थियो । राजस्व अनुसन्धान विभाग र अन्तर्गतका कार्यालय तथा प्रहरीको विशेष निगरानीबाट मुस्ताङबाट १९ हजार थान भएको ९५ कार्टुन भेप बरामद गरिएको थियो । पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरिएको विभागले जनाएको छ । विभागले बरामद भएको भेपको लिंकेज पत्ता लगाउन अनुसन्धान भइरहेको राजस्व स्रोतले बताएको छ । 

राजस्वले मुस्ताङबाट ल्याएको गाडीमा भेटिएको भेपको अनुसन्धान गर्ने क्रममा प्राप्त सूचनाका आधारमा इमाडोलको गोदाममा छापा मारिएको थियो । छापा मारेपछि विभागले इमाडोलबाट ८६ हजार थान भेप बरामद गरेको हो । राजस्वले हाल बरामद गरेको भेपको बजार मूल्य मात्रै २५ करोड रुपैयाँभन्दा बढी भएको स्रोतको दाबी छ । 

बरामद भएको भेप विभिन्न फ्लेभरको छ । एउटा भेपको बजार मूल्य १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म पर्ने विभागले जनाएको छ । एउटा भेपमा बढीमा ३० हजार सर्को तान्न मिल्ने धूवाँ हुन्छ । भेपको ठूलो बजार भारत हो । त्यसैले भारत लैजाने क्रममा दक्षिणी नाकको आसपासबाट भेप बरामद हुने गरेको छ । नेपालका रेस्टुराँलगायत स्थानमा पनि भेप बिक्री हुने गरेको छ । 

ऋषिराम पौड्याल

Link copied successfully