कमलबजार–साइखोला ३३ केभी लाइन विस्तारमा अवरोध

आफ्नो गाउँमा बिजुली नबलेसम्म लाइन लैजान नदिने स्थानीयको अडान

माघ १, २०८१

तुलाराम पाण्डे

Obstruction in Kamalbazar-Saikhola 33 KV line extension

कालीकोट — अछामको कमलबजारदेखि दैलेखको साइखोलासम्म ९ किलोमिटर दूरीको ३३ केभी प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गरेका छन् । आफ्नो खेतमा पोल गाडेर बिजुलीको लाइन तान्न आफूहरूलाई बिजुली उपलब्ध गराउनुपर्ने माग राख्दै पञ्चदेवल विनायक नगरपालिका–४ टोड्केसालका स्थानीयले अवरोध गरेका हुन् । 

आफ्नो घर खेत हुँदै लाइन लैजाँदा पनि बत्ती बाल्न नपाउने भएपछि काममा अवरोध गरिएको स्थानीय छत्रबहादुर विष्टले बताए । ‘खेतबाट पोल गाडेर बिजुली लाइन लैजाने तर हामी नै अँध्यारोमा बस्नुपर्ने यस्तो अन्याय सहन सकिँदैन,’ उनले भने, ‘हाम्रो गाउँलाई बत्ती नदिएसम्म लाइन तान्न दिँदैनौं ।’ पञ्चदेवल विनायक–३ बेल्खेत सयन गाउँका ५३ र वडा–४ टोड्केसालका ९३ गरी १ सय ४६ घरधुरी अँध्यारोमा छन् ।

कमलबजार प्रसारण लाइनबाट बिजुली उपलब्ध गराउने आश्वासन एक वर्षदेखि पूरा नगरेकाले बाध्य भएर आफ्नो खेतबारीबाट कालीकोट जुम्ला जाने विद्युत् लाइन रोकेको उनले बताए । बत्ती नहुँदा महेन्द्र मावि टोड्केसालले कम्प्युटर किनेर पनि चलाउन नपाएको विद्यार्थी नमराज बडुवालले गुनासो पोखे । तीन महिनाभित्र यी बस्तीमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता गर्दा पनि स्थानीयले नमानेको अछाम वितरण केन्द्र प्रमुख हिक्मत बीसीले जनाए । 

विद्युत् वितरण केन्द्र कालीकोट, अछाम र दैलेखका प्रमुखसहितले टोड्केसाल र सयन गाउँलाई विद्युत् दिने प्रतिबद्धता गरेका छन् । कोहलपुर–सुर्खेत–दैलेख हुँदै कालीकोट, जुम्ला र मुगुसम्म पुगेको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज नपुगेर विद्युतीकरण भएका कालीकोट, जुम्ला र मुगुका १९ हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन् । ‘बिजुली जडान भएको छ भन्ने मात्र छ । चाहिएका बेला बत्ती नै हुँदैन,’ खाडाचक्र–४ का ललित विश्वकर्माले भने, ‘बेलुकी बिजुली आवश्यक पर्ने बेलामा भोल्टेज नपुगेर अँध्यारो हुने गरेको छ ।’ 

बाँकेको कोहलपुरबाट सुर्खेत हुँदै दैलेखबाट आएको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज कम भएकाले जाडो सिजनमा बत्ती नपुग्ने समस्या समाधान गर्न गत असार १२ मा कालीकोट वितरण केन्द्रले कमलबजार–साइखोला ९ किलोमिटरमा ३३ केभी प्रसारण लाइन विस्तारका लागि पुस १२ मा काम सक्ने गरी १ करोड ८८ लाखको टेन्डर गरी काम थालेको हो । 

कमलबजारबाट साइखोलासम्मको ९ किमिमध्ये कर्णाली नदीपारिबाट करिब १ सय मिटर मात्र तार तान्न बाँकी रहेको अवस्थामा काममा अवरोध भएको कालीकोट वितरण केन्द्र प्रमुख हरेन्द्रराय यादवले सुनाए । ‘त्यहाँका स्थानीयको पनि माग त जाहेज नै हो । केही समय पर्खिनुभन्दा पनि मानेनन्,’ उनले भने । 

टोड्केसाल र बेल्खेतका बासिन्दालाई कालीकोट वितरण केन्द्रले बिजुली दिन नमिल्ने भएकाले अछामबाटै लाइन विस्तारको काम भइरहेको विश्वकर्माले जनाए । उक्त गाउँमा विद्युतीकरण गर्न आफ्नातर्फबाट २५ वटा पोल पनि दिएको उनले सुनाए ।

कर्णालीको सुर्खेतमा बढी विद्युत् खपत हुने भएकाले हालको प्रसारण लाइनबाट भोल्टेज नपुगेर कालीकोट वितरण केन्द्रले डडेलधुराबाट अत्तरिया हुँदै कमलबजार आएको ३३ केभी लाइनबाट कालीकोट, जुम्ला हुँदै मुगुसम्म लाइन जानेछ । डडेलधुरा–अत्तरिया हुँदै चमेलिया जलविद्युत्को १९ मेगावाट, बझाङ कलंगा खोलाको ६५ मेगावाट र अपी हाइड्रोको ५ मेगावाटलगायतका करिब १०० मेगावाट विद्युत् आयात हुने गरेको छ । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully