शिथिल अर्थतन्त्रको असर बिमा बीचमै छाड्ने बढे

पछिल्ला वर्षमा बिमा बीचमै छाड्ने प्रवृत्ति बढेपछि प्राधिकरणले समर्पण गर्न सकिने अवधि दुई वर्षबाट बढाएर तीन वर्ष पुर्‍यायो 

पुस २९, २०८१

यज्ञ बञ्जाडे

The effects of the sluggish economy have increased insurance dropouts

काठमाडौँ — अर्थतन्त्रमा देखिएको ह्रासको प्रत्यक्ष असर बिमा क्षेत्रमा पनि पर्न थालेको छ । बिमितले के कारणले बीचमै बिमालेख छाडे, यकिन कारण नभए पनि आर्थिक अवस्था र बैंकबाट ऋण लिने क्षमतामा कमी आएका कारण बिमालेख अघि बढाउन नसकेर धेरैजसोले बीचैमा छोड्ने गरेको जानकार बताउँछन् । 

आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार ३ सय ३१ बिमितले बीचैमा बिमा छाडेका थिए । त्यसबापत उनीहरूले कम्पनीहरूबाट ९ अर्ब ८८ करोड रुपैयाँ झिकेका थिए । यो सुरुमा बिमा गर्दा तोकिएको परिपक्वको अवधिभन्दा अगावै बिमालेख छाडेर बिमा कम्पनीहरूबाट रकम झिकेको रकम हो ।

आर्थिक वर्ष २०७८/७९ मा पनि ८१ हजार ८ सय ६० जनाले बिमालेख बीचमै छाडेर १२ अर्ब १८ करोड रुपैयाँ झिकेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा पनि बीचमा बिमा छाड्ने प्रवृत्तिले निरन्तरता पाएको देखिन्छ । जसअनुसार उक्त आर्थिक वर्ष ९६ हजार ९ सय ३८ बिमितले बिमालेख त्याग गरेर १३ अर्ब ३४ करोड रुपैयाँ झिकेको प्राधिकरणको तथ्यांक छ । 

आर्थिक वर्ष २०८०/८१ मा एक लाख ९ हजार ४ सय ६० बिमितले बिमालेख छोडेर कम्पनीबाट १३ अर्ब २९ करोड झिकेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा बिमा त्याग्ने संख्या बढेको पनि त्यसबापत बाहिरिएको रकम केही कम देखिन्छ । चालु आर्थिक वर्षको पाँच महिनामा ४५ हजार ६० बिमितले बिमालेख बीचैमा छाड्दा कम्पनीहरूबाट ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ । उल्लिखित तथ्यांकले पछिल्ला वर्षमा बीचैमा बिमालेख त्याग्ने प्रवृत्ति निरन्तर बढ्दै गएको पुष्टि हुन्छ । 

केही वर्षयता नेपालको अर्थतन्त्रमा आएको ह्रासका कारणले बीचैमा बिमा छाड्ने प्रवृत्ति देखिएको जीवन बिमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बताए ।

‘अर्थतन्त्रमा ह्रास आएका बेला बिमितको प्रतिव्यक्ति आयमा पनि कमी देखिएकाले सरेन्डर गर्नेको संख्या पनि धेरै थियो, पछिल्ला महिनामा अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेदेखि बिमा त्याग्ने संख्यामा पनि कमी आउन थालेको देखिन्छ,’ उनले भने, ‘अर्थतन्त्रको सुधार र बिमालेख निरन्तरताबीच नकारात्मक (अर्थतन्त्रमा ह्रास आउँदा बिमा बीचैमा त्याग्ने संख्या बढ्ने र अर्थतन्त्रमा सुधार आउँदा घट्ने) सम्बन्ध देखिएको छ ।’

यसबाहेक सहकारी क्षेत्रमा आएको समस्या पनि बिमालेख निरन्तर हुन नसक्नुको अर्को मुख्य कारण देखिएको अध्यक्ष पौडेलले जनाए । ‘सहकारीले धेरै तल्लो तहका नागरिकको बचत फिर्ता गर्न सकेका छैनन् । यसले उनीहरूको नगद प्रवाहको चक्र (क्यास फ्लो) नै भत्किएको छ । यसको असर बिमालेखमा पनि परेको हो ।’ यद्यपि बिमितले के कारणले बिमालेख बीचैमा त्याग्न थाले भन्ने सम्बन्धमा अध्ययन गर्न थालिएको उनको भनाइ छ । 

आर्थिक गतिविधिमा आएको शिथिलतासँगै बिमाप्रतिको विश्वास, कम्पनी तथा अभिकर्ताहरूको व्यवहार, कोरोना बिमाको रकम नपाउनु, बिमा साक्षरतामा कमीलगायत धेरै कारण हुन सक्छन् । यस्ता प्रवृत्तिले समग्र बिमा क्षेत्रकै विकास र विस्तारमा अवरोध हुन सक्ने जोखिम रहेको जानकार बताउँछन् ।

पछिल्ला वर्षहरूमा बिमा बीचमै छाड्ने प्रवृत्ति बढेको नेपाल बिमा प्राधिकरणका अध्यक्ष मदन दाहाल स्विकार्छन् । ‘मुख्य कारण बैंकबाट ऋण लिन सक्ने क्षमतामा कमी आएर बिमितले बिमालाई निरन्तरता दिन नसकेका हुन् कि भन्ने देखिएको छ,’ उनले भने, ‘यद्यपि यो मात्र कारण हुन सक्दैन । कतिपय अवस्थामा अभिकर्ता (एजेन्ट) ले संस्था परिवर्तन गरेकाले पनि केहीले बिमालाई निरन्तरता दिन नसकेको देखिन्छ । तर यो कारणको गहनता कति छ भन्ने यकिन हुन सकेको छैन ।’ 

बीचैमा बिमा त्याग्ने प्रवृत्तिका कारण पत्ता लगाउन बिमा प्राधिकरणले अध्ययन गरिरहेको अध्यक्ष दाहालले जानकारी दिए । ‘अध्ययन टोलीमा प्राधिकरण, जीवन बिमक संघ, विज्ञलगायतको प्रतिनिधित्व छ,’ उनी भन्छन्, ‘अध्ययनले वास्तविक कारण पत्ता लगाउला ।’ अर्थतन्त्रमा आएको ह्रासका कारणले पनि बिमा प्रभावित भएको हुन सक्ने पनि उनको भनाइ छ । 

‘अभिकर्ताले बिमा गराउँदा बिमालेखमा भएको भन्दा धेरै लाभ/सुविधा भएको बताउँछन् । तर दाबीका बेला कम्पनीले गर्ने व्यवहार त्यसभन्दा फरक र धेरै झन्झटिलो हुन्छ,’ एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, ‘यसबाहेक अहिले पनि कोरोना बिमाको ठूलो रकम भुक्तानी दिएका छैनन् । गत असोजमा आएको बाढीले पुर्‍याएको क्षतिको दाबीमध्ये पनि हालसम्म धेरै कम मात्र भुक्तानी भएको छ ।’ 

पछिल्ला वर्षमा बीचमै बिमा छाड्ने प्रवृत्ति बढ्दै गएपछि प्राधिकरणले समर्पण गर्न सकिने अवधि दुई वर्षबाट बढाएर तीन वर्ष पुर्‍याएको छ । तर पनि यसमा सुधार नदेखिएको कम्पनी बताउँछन् । पछिल्ला वर्षमा नयाँ बिमा कम्पनी खुल्ने र अभिकर्ता नयाँ कम्पनीमा जाँदा ग्राहक पनि सँगै लैजाने चलनले पनि बीचैमा छोड्ने प्रवृत्ति बढेको बताइएको छ । हाल प्राधिकरणले बिमा अभिकर्ताहरू एकभन्दा बढी बिमा कम्पनीमा आबद्ध हुन नपाउने व्यवस्था गरेको छ ।

हरेक वर्ष बीचैमा बिमालेख त्याग्ने क्रम बढ्दै गएकामा नियामक निकाय बिमा प्राधिकरण र जीवन बिमा कम्पनी पनि चिन्तित छन् । के कारणले बिमालेख त्याग्ने बढे भन्ने कारण पत्ता लगाउन प्राधिकरण गत साता अध्ययन टोली पनि गठन गरेको छ । यद्यपि शुक्रबारसम्म उक्त टोलीले काम सुरु गरिसकेको छैन । टोलीमा बिमा प्राधिकरणका उच्च अधिकारी, जीवन बिमक संघका प्रतिनिधिलगायतको सहभागिता छ । टोलीको सुझावका आधारमा बीचैमा छोड्ने प्रवृत्ति रोक्न आवश्यक कदम चालिने प्राधिकरण स्रोतले बताएको छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully