तरुल खेती गरेर लाखौँ आम्दानी 

पुस २९, २०८१

माधव अर्याल

Millions of income from yam cultivation

पाल्पा — निस्दी गाउँपालिका–६ अर्चले रन्गुवाका लालबहादुर बयम्बुले वार्षिक कम्तीमा ४ सय केजी रातो तरुल विक्री गर्छन् । उनले दुई वर्षअघि ८ सय केजी तरुल विक्री गरेका थिए । अघिल्लो वर्ष र यस वर्ष ४ सय हाराहारीमा तरुल विक्री गरेका छन् । पिँडालु, अदुवासँगै यो तरुल लगाउने गरिन्छ ।

‘तरुल लगाएर खासै नाफा त छैन तर धेरै मिहिनेत गर्नु पनि पर्दैन,’ उनले भने, ‘नगदे बाली हो तर पनि यसको खेती गर्न अहिले कम हुँदै गएको छ ।’ उनले प्रतिकिलो ६० रुपैयाँमा विक्री गरेका हुन् । 

रन्गुवाकै हुमबहादुर बयम्बुले पनि ५ सय किलो तरुल विक्री गरेका छन् । उनले बारीमा व्यावसायिक रूपमा लगाएको तरुलले नगद आम्दानी दिन्छ । ‘माघे सङ्क्रान्ति मनाउने खर्च नै जुट्छ,’ उनले भने, ‘पुसको अन्तिम सातातिर खनिन्छ । विक्री गर्न पनि खासै समस्या छैन । पहिला विक्री नभएर समस्या हुन्थ्यो भने अहिले फोनकै भरमा विक्री हुन्छ ।' लालबहादुर र हुमबहादुर मात्र होइन अर्चलेको रन्गुवाका ३४ घर परिवारको माघे सङ्क्रान्ति मनाउने मुख्य आम्दानी रातो तरुल नै हो । यसबाट नगद आम्दानी हुने भएकाले सबैले लगाउने गर्छन् । 

हुन त सरकारी निकायबाट उपेक्षित बनेको तरुल खेती गरेर पाल्पाको अर्चले मात्र होइन, गल्धा, झिरुवास, निस्दी, मित्याल, सहलकोट, फोक्सिङकोट, गोठादी, कोल डाँडा लगायतका गाउँबाट सयौँ  किसानले लाखौँ आम्दानी गर्दै आएका छन् । चार वर्षअघि निस्दी गाउँपालिका–६, अर्चलेका वडाध्यक्ष मेखबहादुर सुनारीले रातो तरुल प्रवर्द्धन गर्न २ लाख अनुदान दिएका थिए । यो बाहेक सरकारी तवरबाट अहिलेसम्म कुनै पनि गाउँमा तरुल प्रवर्द्धनका लागि अनुदान दिएका छैनन् । कृषि ज्ञान केन्द्र, स्थानीय तहले तरुलको तथ्याङ्कसमेत राखेका छैनन् । ‘रन्गुवा गाउँका सबै घरपरिवारले तरुल विक्री गरेको देखेर बजेट विनियोजन एक पटक गरेको हो,’ उनले भने, ‘त्यसपछि मागेका पनि छैनन् र मैले पनि विनियोजन गरेको छैन ।’

विशेष गरी माघे सङ्क्रान्तिमा कन्दमूलको रूपमा तरुल खाने प्रचलन छ । मगर समुदायमा अझ बङ्गुर को मासु, बारा (बटुक) र तरुल खाने प्रचलन रहेको निस्दी गाउँपालिका कार्यपालिका सदस्य मिमश्री बयम्बु मगरले बताइन् । माघे सङ्क्रान्तिका बेला बजारमासमेत तरुलको ठूलो माग रहन्छ । यो समयमा पोखरा, तानसेन, बुटवल, नारायणगढ, काठमाडौँसम्म पाल्पाको तरुल निकासी हुन्छ ।

Millions of income from yam cultivation

‘अन्य समयमा खासै विक्री गर्ने प्रचलन नै छैन,’ निस्दी गाउँपालिका–५, गल्धा पिपलभन्ज्याङ्का टोकबहादुर खण्डलुक मगरले भने, ‘यही बेलामा मगरको माघी मनाउने गरी विक्री गर्छन् ।’ गल्धाका धनबहादुर खण्डलुक, खड्बहादुर सुनारी मगरले पनि यस वर्ष ५ सय केजी भन्दा बढी तरुल विक्री गरेको उनले बताए । यस वर्ष किसानले प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्म भाउ पाएको उनले बताए ।

तानसेन नगरपालिका–७, काजी पौवाका हरिबहादुर दर्लामीले एउटै बोटबाट १५ केजीको तरुल खनेको बताए । विशेष गरी बजारमा माघे सङ्क्रान्तिमा भाउ आउने भएकाले विक्री गर्ने गरेको उनले बताए । ‘तरुल लगाउन जान्ने हो भने निकै राम्रो फल्छ,’ उनले भने, ‘भिरालो जमिनमा लगायो भने खन्न पनि सहज हुन्छ ।’ बजारको माग पूर्तिका लागि हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा ठूलो परिमाणमा तरुल निर्यात हुने गरेको पाइन्छ । तर कति निर्यात हुन्छ भन्ने कुनै तथ्याङ्क नै नभएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताए । व्यावसायिक रूपमा तरुल उत्पादन हुने पकेट क्षेत्र अहिलेसम्म तोकिएको छैन । किसानले घुसुवा बालीको रूपमा परम्परागत विधिबाट लगाइएको तरुल विक्री गर्दै आएका छन् । जिल्लाको निस्दी, पूर्व खोला, रम्भा, तिनाउ लगायत अन्य स्थानीय तहबाट विभिन्न जातका तरुल निर्यात हुने गर्छ । व्यापारीहरूका अनुसार ५० टन अर्थात् ५ हजार क्विन्टल बढी तरुल जिल्लाका विभिन्न भागबाट निर्यात हुने गरेको छ । निस्दी गाउँपालिकाबाट सबै भन्दा बढी निर्यात हुने गरेको छ । 

यहाँको तरुल महेन्द्र राजमार्गको अरुणखोला, दुम्कीबास, चोर मारासम्म लैजाने गर्छन् । निस्दीबाट कम्तीमा ३ हजार  क्विन्टल बढी तरुल यस वर्ष निर्यात भएको छ । यस्तै, पूर्व खोला, रम्भा, तिनाउ, माथागढीबाट कम्तीमा ३ हजार क्विन्टल निकासी भएको छ । निस्दीको झिरुवास, मित्याल, गल्धा, अर्चले, ज्यामीरेका विभिन्न गाउँबाट तरुल निकासी हुन्छ । माथागढीको गोठादी, रहवास, बहादुरपुरमा पनि तरुल खेती हुन्छ । तिनाउको कोल डाँडा क्षेत्र वन तरुलको पकेट क्षेत्र जस्तै हो । माथागढीको कसेनी क्षेत्रमा पनि वन तरुल पाइन्छ । रुप्से, झडेवाबाटसमेत निकासी हुन्छ । 

किसानबाट खरिद गरेर फोन सम्पर्कबाट व्यापारीहरुलाई पठाउने गरिन्छ । यस वर्ष विगतमाजस्तो तरुल उत्पादन राम्रो नभएको निस्दी–६ का व्यापारी दुर्गा बहादुर बयम्बुले बताए । कतिपयले छिटै खन्ने र भण्डारणमा समस्या हुँदा पनि राम्रो मूल्य पाउन नसकिने उनले बताए । विगतको तुलनामा निस्दीबाट यस वर्ष तरुलको उत्पादन कम भएको उनले बताए । निस्दी–४, मित्यालका व्यापारी दुर्गा सुनारीले बजारमा विगतमा भन्दा कम माग आएको बताए । उनले यस वर्ष माघे सङ्क्रान्ति लक्षित गरी ६ हजार केजी तरुल निकासी गरेको सुनाए ।

यस वर्ष किसानले ६० देखि ६५ रुपैयाँ प्रतिकेजी पाएका छन् । तर बजारमा भने उपभोक्ताले १ सय ५० भन्दा बढी तिर्नु परेको छ । किसानले पिँडालु, अदुवासँगै लगाएका तरुलबाट राम्रो आम्दानी गर्छन् । कतिपयले वन तरुल पनि खोजेर विक्री गर्छन् । वन तरुलको भाउ घर तरुलको भन्दा झन्डै दोब्बर नै हुन्छ । निस्दी–४, मित्यालका वडाध्यक्ष सन्तवीर सुनारीले पछिल्लो समयमा किसानले तरुल लगाउन छाडेका छन् । ‘पहिला पहिला मैले पनि माघे सङ्क्रान्तिका बेलामा ३०/४० हजारको विक्री गर्थे,’ उनले भने, ‘अहिले घरमा खान मात्र लगाएको छु ।’

व्यावसायिक रूप मै लगाउन सके तरुलबाट नगद आम्दानी गर्ने सकिने उनले बताए । तरुल भिरालो जमिन, बारीको कान्लामा पनि लगाउने सकिन्छ । तरुल खेतीको प्रवर्द्धनमा कुनै कार्यक्रम छैन । कुनै पनि स्थानीय तहले यसमा बजेट विनियोजन गरेका छैनन् । तरुलको राम्रो उत्पादन भए पनि यस सम्बन्धी कुनै कार्यक्रम नभएको निस्दी गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले बताइन् । ‘तरुल मात्र लगाउने किसान कम हुने भएर पनि हुनसक्छ,’ उनले भनिन्, ‘यसलाई व्यावसायिक बनाउन सकियो भने नगद आम्दानी गर्न सकिन्छ ।’ 

जिल्लाका विभिन्न स्थानमा घरायसी प्रयोजनको लागि तरुल उत्पादन हुने गर्छ । यसको व्यावसायिक रूप मै उत्पादन गर्ने कमै छन् । घरायसी प्रयोजनका लागि लगाइएको तरुल निर्यात हुने गरेको छ । रैथाने बाली भए पनि यसको संरक्षणका लागि कार्यक्रम नभएको उनले बताइन् । जिल्लामा तरुल कति क्षेत्रमा लगाइन्छ भन्नेसमेत तथ्याङ्क छैन ।

उत्पादन के कति हुन्छ भन्ने विषयमा कृषि ज्ञान केन्द्र, स्थानीय तह कसैलाई चासोसमेत नभएको पाइएको छ । तरुल माटो मुनी फल्ने कन्दमूल हो । तरुललाई तरकारीको रूपमा र उसिनेर खाने प्रचलन छ । पाल्पामा पाँचऔंले, खैरो, रातो र सेतो घर तरुल, वन तरुल, कहीँ कतै सिमल तरुल, हात्तीपाइले पाइने गर्छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully